स्याङ्जा २ मा पुनः मतदान नहुने, मतगणना सुरु गर्न निर्देशन

समाधान संवाददाता २०७९ मंसिर १४ गते १४:२७

पोखरा ।
स्याङ्जा २ मा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुनः मतदान नगरि गणना सुचारू गर्न निर्देशन दिएको हो । आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

स्याङ्जा २ चापाकोट नगरपालिकाका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए ।

ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मुकदर्शक बनेको उनीहरूको आरोप छ । मतदान गर्ने ठाउँमा भिडभाडसहित एकलौटी मत खसालेको भिडिओ पनि सार्वजनिक भएको थियो ।

Advertisement

अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसेपनि यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन समेत गरेका थिए । यहाँ मरेका र विदेशिएका मानिसका नाममा भोट हालेको एमालेलगायतका दलको आरोप छ ।

Advertisement

तपाईको प्रतिक्रिया