घरपझोङमा लैंगिक हिंसाविरुद्ध अभियान

सुन्दरकुमार थकाली २०७९ मंसिर १५ गते ११:५१

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा बुधबारदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ । यो दिवस मंसिर ९ गतेदेखि सुरु हुनुपर्नेमा विभिन्न कारणवश ५ दिनपछि शुभारम्भ गरिएको हो ।

सबैखाले लैंगिक हिंसा अन्त्यका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले बर्सेनि यो दिवस मनाउँदै आएको छ । दिवसको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक जमुना थकालीले यसको सुरुआत गरिन् । उपाध्यक्ष थकालीले समाज रुपान्तरणका लागि महिला पुरुष दुबैको समान पहुँच आवश्यक भएको औल्याइन् ।

‘हाम्रो समाजमा सबैभन्दा बढी पीडित महिला छन्, महिलाको पहुँच स्थापित गर्न शैक्षिक जागरण आवश्यकता छ,’ उपाध्यक्ष थकालीले भनिन्, ‘महिलाको पहुँच स्थापित गर्न महिलाको आर्थिक समृद्धि ध्यान दिइनु पर्छ, त्यसो भएमात्र महिला पुरुषसरह समान पहुँचमा पुग्न सक्छन् ।’ उपाध्यक्ष थकालीले वर्तमान संविधानले महिलाको पहुँच स्थापित गर्न विभिन्न निकायमा आरक्षण र समावेशीता कायम गरेको बताइन् ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत गौरीनाथ आचार्यले समाजमा महिला र पुरुषको पहुँच समान हुनुपर्ने बताए । लैंगिक हिंसा समाजको जटिल बिषय भएकाले यसको न्यूनीकरण गर्न समाज नै अग्रसर हुनुपर्ने उनको भनाइ छ । ‘पुरुषबाट महिला र महिलाबाट पुरुष पनि प्रदाडित हुन्छन्, सबैले आफूले जानेको सिकेर कार्य गर्नुपर्ने हुन्छ, काममा विभेद र हिंसाले समाजको प्रगतिमा बाधा हुन्छ,’ आचार्यले भने ।

कार्यक्रममा लैंगिक हिंसासम्बन्धी १६ दिने कार्यक्रम र दिवसको औचित्यमाथि घरपझोङकी महिला तथा बालबालिका शाखा प्रमुख सरिता थकालीले प्रस्तुतीकरण गरेकी थिइन् । जिल्ला अदालत मुस्ताङका स्रेस्तेदार एवं उपसचिव मुकुन्द आचार्यले लैंगि हिंसा र कानुनी दण्ड सजायबारे प्रस्तुतीकरण गरे ।

Advertisement

उनले लैंगिक हिंसा विरुद्ध विद्यमान कानुनले महिला र पुरुषलाई सहजता बनाई दिएसँगै सम्वन्ध बिच्छेदका घटना बढ्दै गएको बताए । आचार्यले हिंसा विभिन्न प्रकृतिका हुने र एकले अर्काको जीवनमा दख्खल दिने कार्यलाई नै लैंगिक हिंसा भभिने बताए ।

घरपझोङले मंसिर २४ गतेसम्म लैंगिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने महिला तथा बालालिका शाखा प्रमुख सरिता थकालीले जानकारी दिईन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया