मुक्तिक्षेत्रको शान्ति सूरक्षामा वडाध्यक्ष गुरुङको चाँसो,निगरानी गर्न सीसी क्यामेरा

मुक्तिनाथ क्षेत्रको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन ,दुर्घटना र अपराधजन्य घटनाहरुको न्यूनिकरण गर्ने उद्देश्य

समाधान संवाददाता २०७९ मंसिर २६ गते १९:४४

जोमसोम– मुस्ताङको वारागुङ मूक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले वडाको सुरक्षाका लागि चाँसो दिएका छन् । उनले वडालाई संम्भावित अपराध मूक्त समाज बनाउन पहल थालेका छन् ।
वडाध्यक्षकै संकल्प अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गतका ४ वटा गाउँमा आईतबारदेखि धमाधम अत्याधुनिक सीसी क्यामेरा जडानकार्य सुरु गरिएको छ । वारागुङ वडा–१ को मुक्तिनाथ रानीपौवा, झारकोट, खिङ्गा र लुप्रा गाउँमा अत्याधुनिक सीसी क्यामेरा जडान गर्न सुरु गरिएको हो ।
गाउँपालिकाको चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित करिव ५० लाख बजेट मध्ये वडाध्यक्ष प्रमेश गुरुङले वडाको बृहत्तर हितका लागि नयाँ कामको सुरुआत गरेका हुन् । उनकै पहलमा वारागुङ मुक्तिक्षेत्र–१मा अत्याधुनिक सीसी क्यामेरा जडान गर्न ८ लाख बजेट छुट्याएको हो ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको रानीपौवा बजारक्षेत्र,झारकोट,खिङ्गा र लुप्रा गाउँका लागि १३ वटा अत्याधुनिक सीसी क्यामेरा जडान गर्ने वडाध्यक्ष गुरुङको योजना छ । सडक संञ्जालको सहजतासंगै बर्सेनि मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गईरहेकाले मुक्तिनाथ क्षेत्रको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन ,दुर्घटना र अपराधजन्य घटनाहरुको न्यूनिकरण गर्ने उद्देश्यले वडा स्तरको बजेटले अत्याधुनिक सीसी क्यामेराको व्यवस्थापन गरिएको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।‘विगतमा पनि छिटफुट अपराधजन्य घटना घटेका थिए,त्यसको अत्तोपत्तो लाग्न सकेन,’वडाध्यक्ष गुरुङले भने,‘ अब त्यस्ता घटना रोक्न र संम्भावित घटनाहरु छिटो छरितो पत्ता लगाउन सीसी क्यामेराबाट निगरानी गर्ने योजना बनाएका हौं ।’
वारागुङ मुक्तिक्षेत्रको रानीपौवा,झारकोट,खिङ्गा र लुप्रा गाउँमा अत्याधुनिक सीसी क्यामेरा जडान गर्न सन टेक्नोलोजी कम्पनीले ७ लाख ९२ हजारमा ठेक्का सम्झौता गरेको हो । यसका लागि कम्पनीका प्राविधिक शिवप्रसाद बस्ताकोटी, नारायण भट्ट र बिनोद चन्द्र रेग्मी फिल्म खटिएका छन् । उनीहरुले एकसाता भित्र वारागुङ–१ को ४ वटा गाउँमा सीसी क्यामेरा जडान गरिसक्ने बताएका छन् ।कम्पनीले नयाँ भर्सनको दावा कम्पनीमा बनेको फोर एमपीएस क्षमताको १३ थान सीसी क्यामेरा जडान गर्न लागेको कम्पनीका प्राविधिक नारायण भट्टले जानकारी दिए । उनका अनुसार मुक्तिनाथ रानीपौवामा ४ वटा,झारकोट, खिङ्गा र लुप्रा गाउँमा समान ३–३ वटा सीसी क्यामेरा जडान गरिने उनले बताए ।
नयाँ भर्सनको सीसी क्यामेराले निगरानी गर्न ४ वटा कम्प्यूटर सिस्टम र ४ वटा मनिटरको राखिने छ । दिन र रातको समयमा पनि एउँटै प्रकारले भिडियो कैंद गर्न सक्ने क्यामेराले औसत ४० देखि ५० मिटर परको भिडियो स्पष्ट कैंद गर्ने प्राविधिक भट्टको भनाई छ ।‘ यो क्यामेरा दावा कम्पनीको नयाँ भर्सन हो, यसले रातीको समयमा पनि दिउँसोको जस्तै भिडियो खिच्ने क्षमता राख्दछ ,’उनले भने,‘ अहिले हामीले ७० देखि ८० मिटरसम्मको भिडियो खिच्ने सेटिङ मिलाएका छौं ।’ उनले वडा कार्यालयको भवनमा सीसी क्यामेराको कन्ट्रोल रुम रहने र त्यसपछि ईलाका प्रहरी कार्यालयमा समेत राखिने जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया