एसियन हाइड्रोको आइपिओ

समाधान संवाददाता २०७९ मंसिर २८ गते १३:००

काठमाडौं ।
एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १ सय अंकित दरमा ४ लाख २४ हजार कित्ता प्राथमिक सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख बराबरको कुल ३ लाख ४० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।

सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ४० प्रतिशत अर्थात १ लाख ३६ हजार कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका १० माई जोगमाई गाउँपालिका ३ र ४ तथा सूर्याेदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

आयोजना अति प्रभावित क्षेत्र बाहेक इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि बाँकी ६० प्रतिशतले हुने २ लाख चार हजार कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

Advertisement

निष्कासन गरिने शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस १२ सम्म र ढिलोमा पुस २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिने शेयरमा स्थानीयले प्राइम कमर्सियल, ग्लोबल आईएमइ, एनएमबि, सिभिल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् शेयर खरिदका आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् तथा ‘मेरो शेयर’मार्फत् शेयर खरिदको आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा नेपालीले विप्रेषण (रेमिट्यान्स)बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत् ‘मेरो सेयर’ प्रयोग गरी शेयर खरिद आवेदन दिन सकिने सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

एसियन हाइड्रोपावरलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी बिबी आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले इलामको माईजोगमाई गाउँपालिका र ईलाम नगरपालिकाको जोगमाई खोलामा ६ दशमलव २ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।

तपाईको प्रतिक्रिया