शैक्षिक योजनाको मस्यौदा तयार

समाधान संवाददाता २०७९ मंसिर २८ गते १३:२६

पोखरा ।
शिक्षा नीतिल लागु गर्न कार्यनीति र रणनीति निर्माणका लागि गठन गरिएको रणनीतिक योजनाको मस्यौदा सोमबार पेश गरिएको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्रालयका मन्त्री मेखलाल श्रेष्ठलाई योजना तयारी कार्यदलका संयोजक तथा पूर्व महानिर्देशक (सहसचिव) बाबुराम पौडेलले मस्यौदा हस्तान्तरण गरेका हुन् ।

संयोजक पौडेलले शिक्षा रणनीतिक योजनाको काम गर्न पाउँदा खुसी व्यक्त गरे । मन्त्री मेखलाल श्रेष्ठले अति न्यून स्तरबाट केलाएर रणनीति योजना तयार गरेको हुँदा अबको शिक्षा क्षेत्रले नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे ।

कार्यदलले जिम्मेवारीपूर्वक काम गरेको र भावी दिनमा पनि निरन्तर लाग्न आग्रह गर्दै उनले योजनाको मस्यौदालाई सम्बन्धित निकायबाट कार्यन्यवयन गराएर छाड्ने प्रतिबद्धता जनाए ।

Advertisement

मन्त्रालयले ०७८ फाल्गुन १८ गतेको निर्णय अनुसार शिक्षा नीति कार्यन्यवयनका लागि शिक्षा क्षेत्रको रणनीतिक योजना तयारको लागि बाबुराम पौडेलको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलको सदस्यमा प्राडा ईन्द्रप्रसाद तिवारी, भिमाद नगरपालिकाका उपसचिव पदमराज आचार्य, पूर्व उपसचिव केशरीरकम न्यौपाने र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सदस्य सचिव तोयनाथ लम्साल थिए ।

Advertisement

प्रतिवेदनको तयारीमा मुख्यमन्त्रीको उपस्थितिमा छलफल भई प्राप्त सुझावलाई समेटी रणनीति तय गरिएको सदस्य सचिव लम्सालले जानकारी दिए । उनले शिक्षा क्षेत्रको रणनीति तयार गर्नका लागि शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याएर अवकाश भएका, गण्डकी प्रदेश भित्रका सरोकारवाला, शिक्षा नीतिमा काम गरी अवकास भएका सहसचिव तथा शिक्षा क्षेत्रमा काम गरेका शिक्षक लगायतको भेलाबाट आएका सुझाव संकलन गरी मस्यौदा तयार गरेको बताए ।

तपाईको प्रतिक्रिया