संसदमा जीवनको दोस्रो इनिङ्स

सञ्जय रानाभाट २०७९ मंसिर २९ गते १०:५९

सञ्जय रानभाट, पोखरा ।
‘मेरो करिअरलाई राजनीतिक क्षेत्रमै अगाडि बढाउँछु । अब अहिले भइरहेकोभन्दा माथि आँट गर्छु । देश र जनताका लागि केही गर्छु भनेर हिँडेको व्यक्ति हुँ,’ कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएपछि जीवन परियारले भनेका थिए ।

सहमहामन्त्री निर्वाचित भएलगत्तै उनी पोखरा आएका थिए । उनले थपेका थिए, ‘आफ्नो पहुँच बढाएर देश र जनताका लागि केही गर्छु । त्योभन्दा माथिल्लो पदमा पुगेर काम गर्ने हो ।’

साँच्चीकै परियार आज त्योभन्दा माथि पुगेका छन् । पार्टीको शक्तिशाली पदमा पुगेर चर्चा बुटुलेका जीवनले संसद यात्रा तय गरेका छन् । अर्थात् परियारलाई प्रतिनिधिसभा सदस्य बनाउन कांग्रेस केन्द्रीय समिति बैठकले निर्वाचनमा जितको सिट संख्याका आधारमा नाम आयोगमा पठाएको छ । उनीसहित कांग्रेसले ३२ जनाको नाम टुंगो लगाएको हो । जीवनको यो दोस्रो संसद यात्रा अर्थात सेकेन्ड इनिङ्स हो ।

Advertisement

२०७० मा जीवन संविधान सभा सदस्य भएका थिए । २०७४ मा प्रदेश संसदको यात्रा तय हुन सकेन । पार्टी राजनीतिमा सक्रिय भइरहे । कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टीको सहमहामन्त्री निर्वाचित भए । कास्कीको रुपा गाउँपालिका १ स्यास्त्रीमा जन्मिएका परियारले विद्यार्थी आन्दोलनबाटै राजनीति यात्रा सुरुवात गरेका थिए ।

२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा देशभर कांग्रेसबाट प्रत्यक्ष उम्मेदवार हुने एकमात्र दलित थिए, जीवन परियार । कास्की १ ‘१’बाट गण्डकी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका परियार ०७४ को निर्वाचनमा वाम गठबन्धनका माओवादी उम्मेदवार दीपक कोइरालासँग पराजित भए ।

Advertisement

शिक्षण पेसा छोडर राजनीतिमा होमिएका जीवन शिक्षक हुनुअघि पृथ्वीनाराण क्याम्पसमा नेविसंघ इकाईमा थिए । पछि भने नेपाल दलित संघ कास्कीको संस्थापक सचिवसमेत भए । काठमाडौं गएपछि दलितसम्बन्धी काम गर्ने ल्यान्डकाओ एजेन्सीसँग जोडिए । कामसँगै उनले राजनीतिक यात्राअगाडि बढाए ।

काठमाडौं गएर उनले पढाइलाई निरन्तर दिए । विस्तारै आर्थिक अवस्था राम्रो हुँदै गएपछि राजनीतिमा झन् सक्रिय भए । दलितका क्षेत्रमा जीवनले निरन्तर आवाज उठाउँदै आए ।
जीवन कांग्रेसको १२ औं र १३ औं महाधिवेशनबाट केन्दीय सदस्य चुनिएका थिए । उनले पार्टीको केन्द्रीय सदस्यमा नै ११ वर्ष बिताइसकेका छन् । केन्द्रीय सदस्य भएलगत्तै दोस्रो संविधानसभामा समानुपातिक कोटामा सभासद भएका थिए ।

महाधिवेशनअघि पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा लाग्दै आएका जीवन अहिलेको गगन—शेखर कोइराला प्यानलमा देखिन्छन् । दलित समुदायको हक, अधिकारका लागि निरन्तर आवाज उठाउँदै जीवनले वडा वडामा दुई महिला वडा सदस्य हुने ठाउँमा १ दलित महिला हुनुपर्ने भन्दै संविधान सभामा संशोधन प्रस्ताव हालेका थिए ।

अहिले वडा वडामा १ जना दलित महिला सदस्य हुने व्यवस्था लागू भइसकेको छ । जीवन सहमहामन्त्री हुनुले कास्कीले कांग्रेसमा एक केन्द्रीय नेता पनि पाएको छ । गिरिजाप्रसाद कोइराला सभापति हुँदा तारानाथ रानाभाट महामन्त्री भएयता कास्कीबाट कांग्रेसको केन्द्रीय राजनीतिमा अरु पुग्न सकेका थिएनन् ।

माओवादी उम्मेदवारसँग ७४ मा हारेका परियार राजनीतिमा इन्ट्रीको खास कारण पनि माओवादी नै हो । जति बेला उनी पृथ्वीनारायण क्याम्पसमा पढेर गाउँको विद्यालयमा शिक्षक बन्न गएका थिए, त्यति बेला माओवादीको तारो बने । माओवादीको त्रासपछि उनले राजनीतिक यात्रा सुरु गरेका थिए ।

जुन शक्तिसँग उनले २०७४ मा प्रत्यक्ष मुकाबिला गरे यसपालि भने उसैलाई जिताउन पनि लागे । पहिला हराउन सकेनन्, यसपालि जिताउन सकेनन् । यद्यपि उनको संसद यात्रा भने पक्का नै बन्यो ।


२०७९ प्रतिनिधि सभा सदस्य निर्वाचित (समानुपातिक)
२०७८ नेपाली कांग्रेसको १४ औं सहमहामन्त्री
२०७४ प्रदेससभा सभा सदस्य उमेदवार (कास्की १ (१) पराजित)
२०७२ नेपाली कांग्रेस केन्द्रीय सदस्य
२०७० संविधानसभा सदस्य
२०६७ कांग्रेस महासमिति सदस्य/केन्द्रीय सदस्य
२०६४ केन्द्रीय महासचिव, नेपाल दलित संघ
२०६२ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि
२०६० केन्द्रीय सचिव, नेपाल दलित संघ
२०५८ केन्द्रीय प्रचार सचिव, नेपाल दलित संघ
२०५५ सचिव–नेपाल दलित संघ कास्की
२०४६ विद्यार्थी संघमा आवद्धता

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया