चुनावमा कसले कति गरे खर्च ?

सञ्जय रानाभाट २०७९ पुष ६ गते १०:१९

सञ्जय रानाभाट, पोखरा ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन दिइसकेको छ । उम्मेदवारले निर्वाचन भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेसँगै यसपटक निर्वाचन खर्च बुझाउन कतिपय उम्मेदवारहरु समयमै पुगेका छन् ।

कास्कीबाट उम्मेदवार बनेका ९१ मध्ये ५८ जनाले खर्च विवरण बुझाइसकेको निर्वाचन आयोग गण्डकी कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले बताए । उनले पछिल्लो समय निर्वाचन खर्च बुझाउन आउने उम्मेदवारको संख्या बढेको सुनाए ।

Advertisement

मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नतिजा शनिबार निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई निर्वाचन परिणाम पेस गरेसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रतिनिधि सभातर्फ ४६ र प्रदेश सभातर्फ ४५ उम्मेदवार रहेको कास्कीमा ९ सांसद निर्वाचित भएका छन् ।

आयोगले निर्वाचन क्षेत्रपिच्छे फरकफरक खर्च सीमा पनि निर्धारण गरेको थियो । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानेर कानुन बमोजिम निर्वाचनका लागि खर्चको सीमा कायम गरेको थियो ।

Advertisement

खर्चको सीमा निर्धारण गर्दा २०७९ भदौ ३१ गते निर्वाचन क्षेत्रमा कायम भएको मतदाताको संख्यालाई ६० प्रतिशत, मतदान केन्द्र संख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ ।

प्रतिनिधि सभातर्फ कास्की १ बाट मनबहादुर गुरुङ, २ मा विद्या भट्टराई र ३ बाट दामोदर बैरागी निर्वाचित भए । प्रतिनिधि सभातर्फ ३ वटै क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार निर्वाचित भएका हुन् । गण्डकी प्रदेशसभातर्फ कास्कीका ६ निर्वाचित क्षेत्रमध्ये कांग्रेसका २ बाहेक ४ वटा क्षेत्र नेकपा एमालेका उम्मेदवारले चुनाव जिते । कास्की १ (१) खगराज अधिकारी, १ (२) वेदबहादुर गुरुङ श्याम, २ (१) भीमबहादुर कार्की, २ (१) विन्दु थापा, ३ (१) गणेशमान गुरुङ र ३ (२) प्रकाश बराल निर्वाचित भएका हुन् ।

प्रतिनिधि सभातर्फ आयोगले २५ लाखदेखि ३३ लाख रुपैयाँको सीमा तोकेको थियो । यसमध्ये कास्की ३ बाट निर्वाचित दामोदर बैरागीलेले सबैभन्दा बढी खर्च गरेका छन् । बैरागीले २८ लाख २ हजार ७ सय १३ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । कास्की १ बाट निर्वाचित मनबहादुर गुरुङले २१ लाख ४८ हजार ६ सय २६ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् । यस्तै, कास्की २ की विद्या भट्टराईले १९ लाख ७९ हजार ८ सय ५६ चुनाव खर्च गरेकी छन् ।

प्रतिनिधि सभातर्फ ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा थियो । कास्की १ मा २९ लाख र कास्की २ का उम्मेदवारले २७ लाख रुपैयाँ अधिकतम खर्च गर्न पाउने सीमा थियो ।

निर्वाचनमा भाग लिने उम्मेदवारले तोकिए बमोजिमको रकम मतदाता नामावली खरिद, गोष्ठी अन्तत्र्रिmया, प्रचार सामग्री, ढुवानी, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम सवारी साधन, (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालनका विषय क्षेत्रमा खर्च गरेको विवरण बुझाएका छन् ।

गण्डकी प्रदेश सभातर्फ १५ लाखदेखि २३ लाख रुपैयाँ अधिकतम सीमा तोकिएको थियो । कास्की १ को २, २ को १, २ र कास्की ३ को १ निर्वाचन क्षेत्रका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने आयोगको सीमा थियो । यसमध्ये कास्की १(१)बाट निर्वाचित भएका खगराज अधिकारीले सबैभन्दा बढी खर्च गरेका छन् । अधिकारीले १६ लाख ७१ हजार ५ सय ४६ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

प्रदेशसभातर्फ कास्की ३(२)बाट निर्वाचित भएका प्रकाश बरालले सबैभन्दा कम खर्च विवरण बुझाएका छन् । बरालले ८ लाख ५२ हजार ६ सय २४ रुपैयाँ खर्च विवरण बुझाएका हुन् । बरालले फेस्बुक बुस्टिङमा १२० डलर खर्च भएको उल्लेख गरेका छन् ।
गण्डकीमा कुन दलबाट कति ?

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी २७ सिट ल्याएर पहिलो दल बनेको हो । कांग्रेसपछि एमाले दोस्रो दल बनेको छ । एमाले २२ सिटसहित दोस्रो दल बनेको हो । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट पाएको छ ।

माओवादी केन्द्र ८ सिटसहित तेस्रो दल बनेको छ । माओवादीले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट ल्याएको हो । सरकार निर्माणमा माओवादी निर्णयक देखिएको छ । प्रदेशमा चौथो दल बन्दै उदाएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा)ले पनि समानुपातिकमा २ सिट पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा स्वतन्त्र निर्वाचित राजीव गुरुङउर्फ दीपक मनाङेलाई पार्टी प्रवेश गराएसँगै १ सिट बनाउन सफल भएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया