पिएन क्याम्पसमा सहिद पार्क

समाधान संवाददाता २०७९ पुष ७ गते १२:३१

पोखरा ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले पोखराको पृथ्वीनारायण क्याम्पसको सौन्दर्यकरण गर्न आवश्यक भएको बताएका छन् । अनेरास्ववियू (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिले हालै निर्माण गरेको सहिद स्मृति पार्क मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले क्याम्पसको केही क्षेत्र हाल झाडीले ढाकिएकाले त्यसमा विभिन्न प्रकारका फूलसहितको सौन्दर्यकरण आवश्यक भएको बताएका हुन् ।

राष्ट्रको परिवर्तनका लागि योगदान दिएका सहिदलाई यो पार्टी वा त्यो पार्टीभन्दा पनि सबैले सम्मान गर्नुपर्ने मन्त्री बरालको भनाइ छ । क्याम्पसमा गुणस्तरीय र प्राविधिक शिक्षाको व्यवस्था गर्नु आवश्यकता भएकोमा उनले जोड दिए । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले क्याम्पसमा सहिद पार्क निर्माण हुनु क्याम्पसको सम्पत्ति थपिनु भएको बताए ।

अनेरास्ववियु (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष काशीराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका केन्द्रीय सदस्य त्रिदेव गुरुङ, सचिव चिरञ्जीवी अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया