१२ सय विद्याथीलाई सहयोग

समाधान संवाददाता २०७९ पुष ७ गते १२:४५

पोखरा ।
नौलो घुम्ती नेपालले कास्कीका ४२ सामुदायिक विद्यालयका १ हजार २ सय ५६ विद्यार्थीलाई शैक्षिक सहयोग गरेको छ ।

गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत कक्षा १२ सम्मका विद्याथीलाई स्टेसनरी, विद्यालय पोशाक खेलकुद सामाग्री लगायत सहयोग गरेको संस्थाका अध्यक्ष बद्रीविनोद प्रतीकले जानकारी दिए ।

कास्कीको अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामा परियोजना सञ्चालित छ । अध्यक्ष प्रतीकले ग्रामीण बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच बढाउन विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याबको लागि सहयोग गरेको बताए ।

Advertisement

बुधबार भएको जिल्ला स्तरीय परियोजना सल्लाहकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा उनले स्मार्ट क्लास रुम व्यवस्थापन, बालमैत्री शिक्षण सिकाई, लैगिंकमैत्री शौचालय निमाणमा समेत सघाएको जानकारी दिए ।

तीन पालिकाका ९ वडामा बाल संरक्षण समिति गठन गरेको उल्लेख गर्दै उनले १६ विद्यालयमा बाल क्लब गठन गरेको बताए । संस्थाका कार्यकारी निर्देशक अनेस गुरुङले नौलो घुम्ती नेपालले चलाएको स्मार्ट कक्षा कोठा परियोजना अन्तर्गत विद्यार्थीले प्रयोग गर्ने कम्प्युटरमा पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल शैक्षिक सामग्री (ई पाठ) राखिएको जानकारी दिए ।

Advertisement

‘बालबालिकालाई केन्द्रविन्दुमा राखेर सबै कार्यक्रम गरिएको छ,’ उनले भने, ‘विद्यार्थीका लागि शैक्षिक सहयोगको अलवा अभिभावकको आयआर्जन र जीविकोपार्जनका कार्यक्रमसमेत जोडिएको छ ।’ उनले परियोजनाका कार्य क्षेत्रका ६ सहकारी छनोट गरी घुम्ती कोषमार्फत सहुलियतमा व्यवसायिक ऋण प्रदान गरिएको जानकारी दिए ।

उनले परियोजना अन्तर्गत शिक्षाको अलवा स्थानीय समुदायको स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषिका गतिविधि, पशुपालन र जीविकोपार्जनमा सहयोग गरेको बताए । उनले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीको लागि समेत सहयोग गरेको जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले सामाजिक संघ, संस्थासँग समन्वय र सहकार्यमा ध्यान दिने बताए । उनले सरकारी निकाय तथा सामाजिक संघ, संस्था जनताको जीवनस्तर उकास्न लाग्न पर्ने चर्चा गरे । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै लगानी आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष विष्णुबहादुर केसी, जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाही, शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख नारायणप्रसाद सुवेदी, जिल्ला समन्वय अधिकारी नवराज बराल, माछापुच्छ्रे गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, स्वास्थ्य कार्यालय कास्की प्रमुख अर्जुनप्रसाद आचार्य, राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, गुड नेवर्स इन्टरनेसनल नेपाल कास्कीका संयोजक मनकुमार राई, परियोजनाका शिक्षा विकास अधिकृत महेश विश्वकर्मा लगायतले बालबालिकाको सवालमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया