पोखरा–पोखरा उडान

सञ्जय रानाभाट २०७९ पुष ८ गते १०:२१

सञ्जय रानाभाट, पोखरा ।
नागरिक उडड्यान प्राधिकरणले पुस १७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्रधिकरणको सहयोगमा यति र वुद्ध एयरलाइन्सका विमानले गरेका डेमो उडान सफल भएका छन् ।

दुवै कम्पनीका विमान पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थल पुगे । पुरानो विमानस्थलबाट उडेको ५ मिनेटमै पोखरा १४ स्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवरतण गरेको विमानमा सवार पत्रकार अनिष भट्टराई बताउँछन् ।

२ बजे तय भएको उडान २५ मिनेट ढिला भयो । ‘डेमो उडान भनेपछि हामी १ बजेट नै पुरानो विमानस्थल पुगेका थियौं । हामी पुग्दा यती एयरलायन्सको विमान उड्ने तयारी गरेको थियो । म बुद्ध एयरलायन्समा चढेको थिएँ,’ उनले भने, ‘वुद्ध एयरले टेक अफ गरेको ५ मिनेटमै सफलताका साथ ल्यान्ड गर्‍यो,’ भट्टराईले भने ।

Advertisement

बुद्ध एयरले टेक अफ भएको ५ मिनेटमा पश्चिम तर्फबाट सफल अवतरण भयो । दुवै विमानमा पोखरेली पत्रकार, पर्यटन व्यवसायी र सरोकारवाला सवार थिए । विमानस्थलका प्रमुख बिक्रम गौतमले दुवै जहाजमा गरी १ सय ७० यात्रु रहेको बताए ।

‘हामीले दिल्ली, दोहा उडाउन चाहेका छौं । यसका लागि रुटको समस्या छ । भारतको अनुमति कुरिरहेका छौं,’ विक्रम गौतम प्रमुख पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

Advertisement

‘डकुमेन्टेसन, यन्त्र उपकरण र मानव संसाधनका सम्पूर्ण कामको हामी अन्तिम चरणमा छौं । मेन कुरा हाम्रो सेफ्टी, सेक्युरिटी र फ्यासिलिटी हो । यसमध्ये मुख्य समस्या चराको देखिएको छ,’ प्रमुख गौतमले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल आसपास अझै पनि चराचुरुंगीको आवतजावत् घटेको छैन । डेमो उडानका क्रममा विमानस्थल आसपासमा उडिरहेका चरा देखिए । विमानस्थलबाट २ किलोमिटरमा रहेको ल्यान्डफिल साइट नहट्दा जहाजमा पन्छी ठोक्किने खतरा छ ।

अझै चराचुरुंगी आउजाउ गरिरहने र उनीहरुले बासस्थान सार्न समय लाग्ने विज्ञहरू बताउँछन् । चराले फूल पार्नेदेखि बच्चा हुर्काउने चक्र सक्न समय लाग्छ । चराचुरुंगीलाई अन्यत्र गएर घुलमिल हुनसेमत समय लाग्छ ।

तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अब पोखरामा फोहोर व्यवस्थापनको समस्या नरहेको दाबी गरे । उनले पोखरा १४ मा व्यवस्थापन हुँदै आएको फाहोर अहिले ६ ठाउँमा अल्पकालीन व्यवस्थापन गरिएको सुनाए ।

‘अहिल पोखराको फोहोरमैला ६ ठाउँमा व्यवस्थापन गरिसक्यौं । त्योमध्ये एउटा ठाउँमा अलि लामो समयसम्म व्यवस्थापन गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘जनावरी १ मा ठूलो जहाज अवतरण गर्छ । फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने कुरा हामी शुक्रबारबाहिर ल्याउँछौं ।’

अन्तर्राष्ट्रिय बजारका लागि नयाँ एयरपोर्ट राम्रो प्रोडक्ट भएको गौतम सुनाउँछन् । ‘इन्टरनेसनल कम्युनिटीले यहाँको बिजनेस के हो ? कसरी अगाडि बढ्न सकिन्छ । यहाँको लोड र कार्गोको कुरा अध्ययान गरेर बिजनेस अगाडि बढाउँछ,’ उनले भने, ‘हामीले यहाँ यात्रुको लोड छ भनेर अन्तर्राष्ट्रिय मार्केटमा देखाउनुपर्‍यो ।

यसका लागि नेपालमा आएका पर्यटकको ४० प्रतिशत पर्यटक पोखरा आउँछन् । त्यो ४० प्रतिशतलाई डाइरेक्ट पोखरा ल्याएर बिजनेस दिनसक्नु पर्छ । यसका लागि सबैको सहयोग आवश्यक पर्छ ।’

जजिरा, कतार, थाइ स्माइल, हिमालयन, फ्लाइ दुबई एयरलायन्सले चासो देखाएको गौतमले सुनाए । बुद्ध एयरलाइन्सले भारतसम्म उडन भर्ने यसअघि नै जानकारी गराइसकेको छ ।

पुस १७ गते पहिलो दिन स्टाइल टाइपको उडान, अल्ट्रालाइट र हेलिकोप्टर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको भनाइ छ । गौतमले भने, ‘पोखराबाट हुने सम्पूर्ण उडान पनि यही विमानस्थलबाट हुन्छ ।’ भारतका धेरै ठाउँमा रुटको समस्या छ । ‘हामीले दिल्ली, दोहा उडाउन चाहेका छौं । यसका लागि रुटको समस्या छ । भारतको अनुमति कुरिरहेका छौं,’ उनले भने ।

बुद्ध एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले पुस १७ गते पोखरा बनारसको उडान गर्न पत्र पठाइसकेको बताए । त्यसका लागि भारतको अनुमति दिने पत्र कुरिरहेको उनको भनाइ छ । ‘हामी पहिलो दिन नै डेमो फ्लाइट गर्ने प्लानमा छौं । यसका लागि भारतको अनुमति पत्र कुरिरहेका छौं,’ उनले भने, ‘पोखरा बनारसलाई रुटको समस्या छैन । देहरादुनमा रुटको समस्या छ ।’

जोशीले बुद्ध एयरले अब पोखराबाट दैनिक काठमाडौं १५ वटा फ्लाइट गर्ने सुनाए । उनले पुरानो एरपोर्ट र नयाँ एयरपोर्टमा भाडादरमा फरक नपर्ने उल्लेख गरे । पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनमा आएपछि थपिने पर्यटकका लागि पोखरामा पूर्वाधार र सुविधा रहेको उल्लेख गरे ।

उनले भने, ‘पोखरामा दैनिक २० हजार पर्यटक राख्न सक्ने होटल छन् । सरोकारवाला निकायले समन्वय गरेर जति सक्दो अन्तर्राष्ट्रिय फ्लाइट गराएर पर्यटकको फ्लो बढाउन सहयोग गर्नुपर्छ । यो विमानस्थल हामी सबैको गौरबको कुरा हो ।’

विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टिबाट मात्रै उडान र अवतरण गर्ने छन् ।

यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको हो । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा विमानस्थल बनेको हो । गत चैत १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनबाट नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ ।

चीन सरकारका विदेश मन्त्री वाङ यीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर विमानस्थल हस्तान्तरण गरेका थिए । भर्चुअल माध्यमबाटै चीनका विदेश मन्त्री यीले चाबी हस्तान्तरण गरे पनि पोखरामा तामझामका साथ कार्यक्रम भएको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया