कांग्रेस महामन्त्रीद्वयको ठम्याइँ: नहुनुपर्ने भयो; तर ठीकै भयो

सञ्जय रानाभाट २०७९ पुष १२ गते १०:१७

सञ्जय रानाभाट, पोखरा ।
नेपाल लिटरेचर फेस्टिभल मंगलबार अन्तिम दिन । कांग्रेस महामन्त्रीद्वय पोखरा जारी महोत्सवमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी भए । यति बेलासम्म सत्ताको नेतृत्व गरेको कांग्रेस प्रतिपक्षमा पुगिसकेको थियो ।

आइतबार नेकपा माओवादीले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेसँगै प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ताबाहिर पुग्यो । सत्ताबाट एकैचोटी प्रतिपक्षमा पुग्दा महामन्त्रीद्वय भने पोखरा नेपाल लिटरेचर फेस्टिभलमा सहभागी भए ।

उनीहरुले पार्टी अध्यक्ष शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि पोखे । महामन्त्रीद्वयले असन्तुष्टिमात्र पोखेनन्, कांग्रेस प्रतिपक्षमा पुगेकोमा ठीक भएको बताए । ‘हिजोको राजनीतिक घटना जे नहुनुपर्ने थियो, त्यो भयो, अहिले जे भएको छ, ठीक भयो,’ महामन्त्री शर्मा भने ।

Advertisement

वल्ड कपमा सबैभन्दा बढी गोल एम्बापेले गरे । गोल्डेन बुट पनि जिते तर, कपचाहिँ अर्जेन्टिनाले लग्यो । अहिले कांग्रेस एम्बाप्पे बनेको छ ।
विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्री

अर्का महामन्त्री थापाले पनि कांग्रेसलाई पार्टीगत र रणनीतिक हिसाबले हेर्दा हित भएको तर्क गरे । ‘हाम्रा मतदाताको जस्तो विशिष्ट व्यवहार छ, त्यो व्यवहारमा यसले एउटा राजनीतिक दलले अर्को दललाई भोट हाल्ने कुरा दीर्घकालमा यसले हित गर्दै गर्दैन ।

Advertisement

यस कारणले निर्वाचन अगाडिदेखि नै छुट्टाछुट्टै चुनावमा जानुपर्छ भन्ने लागेको थियो,’ महामन्त्री थापाले भने । बहसमा मोडरेटर वसन्त बस्नेतले महामन्त्रीद्वयलाई पोखरा हारेर आउनुभएको कि जितेर भन्ने प्रश्न गरेका थिए ।

थापाले आफू पोखरा पार्टी सभापतिको कार्यशैलीमा हारेर आएको बताए । थापाले जवाफमा भने, ‘योभन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हारेजस्तो भन्ने छ । त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ । मलाई फिट हुनेचाहिँ त्यो सेसन हो ।

मेरो आफ्नो व्यक्तिगत कुराचाहिँ लुडोको नाग पासमा भर्‍याङ चढेर अतिकति माथि पुगेको । अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भर्‍याङ चढौला भनेर सोचेको नागबाट एकैचोटी झरेर तल आएको जस्तो भएको छ,’ थापाले भने ।

अर्का महामन्त्री शर्मालाई बस्नेतको प्रश्न तेस्र्याए, ‘तपाईंको ऐनामा अहिलेको परिस्थिति कस्तो देखिन्छ । तपाईं पनि जितेर आउनुभयो कि हारेर ?’ शर्माले विश्वकप फुटबलसँग जोडेर उत्तर फर्काए । उनले भने, ‘गत हप्ता भएको वल्ड कपमा सबैभन्दा बढी गोल एम्बापेले गरे ।

गोल्डेन बुट पनि जिते तर, कपचाहिँ अर्जेन्टिनाले लग्यो । यस कारण अहिले कांग्रेस एम्बाप्पे बनेको छ ।’ शर्माले कांग्रेस निर्वाचनमा पहिलो पार्टी भए पनि अब प्रतिपक्षको भूमिकामा पुगेको बताए । बस्नेत प्रतिप्रश्न गरे, ‘त्यसो भए ५ वर्षपछि एम्बापेको अवस्था के हुन्छ त ?’
‘अहिलेको डिफेन्डिङ च्याम्पियन भन्छ नि अहिलेको च्याम्पियनलाई बनाउँछौं ।

हामी यति बेला च्याम्पियन हुन्छौैं, डन्ट वरी,’ महामन्त्री शर्माले भने । उनले कांग्रेस भत्किसकेको र अब निर्माण हुने क्रममा रहेको तर्क गरे । ‘जब केही भत्किन्छ । तब निर्माणको काम पनि सुरु हुन्छ । यो चाहिँ नेपाली कांग्रेसका लागि टर्निङ पोइन्छ हो ।

जे नहुनुपर्ने थियो । त्यो भयो, जे भएको छ । ठीकै भएको छ । अहिले भएको कुरालाई अहिले नै बुझिँदैन । अल्लि पछि बुझिन्छ । जो जस्तो प्रकारको सरकार बन्दै छ । यसलाई शुभकामना दिँदै गर्दा बढो संयमतापूर्वक हामी अबको यात्रा तय गर्छौैं ।’

महामन्त्री थापाले राजनीतिक घटनाले नेपाली कांग्रेसका कार्यकर्ता भएर हेर्दा, कांग्रेस एकैचोटि उचाइबाट तल खसेको टिप्पणी गरे । ‘नेपाली कांग्रेसको कार्यकर्ताका हिसाबले हिजोको घटनाचाहिँ लुडोमा ९९ तिर पुगेपछि एउटा नाग हुन्छ नि पुग्ने पुग्ने बेलामा । खेल्दै खेल्दै गएको त्यहाँ पुुग्ने बेलामा एकैचोटि तल झरेको जस्तो भएको छ ।’

थापाले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि नजाए । महामन्त्रीहरुसँग समेत छलफल नगरी कांग्रेसले निर्णय गरेको उनले सुनाए । ‘व्यक्तिगत रुपमा म नढाँटी भन्छु । बिहानैदेखि सभापतिको फोन कुरिरहेको थिएँ, उहाँले कल गर्नुभएन,’ थापाले भने, ‘गठबन्धनको बैठकमा पार्टीमा कुरा गर्छु भन्नुभएको रैछ । तर, हामीसँगै कुरा भएन ।’

थापाले पनि विश्वकप फुटबलको प्रसंग जोड्दै आउँदो ५ वर्षमा मेसी नहुने विश्वकप फुटबल एम्बापेले जित्ने अनुमान सुनाए । थापाले घुमाउरो तरिकाले आउँदो पाँच वर्ष १५ औं महाधिवेशनबाट परिवर्तनसँगै पुन कांग्रेस सत्तामा पुग्ने संकेत गरे । थापाले आफू निर्वाचन अगाडिको गठबन्धनको सुरुवातदेखि नै विरोधी भएकाले बाध्य भएर पार्टीले गरेको निर्णय मानेको सुनाए ।

‘अहिले कांग्रेस ठूलो पार्टी बन्यो । हिजो पनि ठूलो पार्टी सरकारबाहिर बस्यो । जुन ठूलो पार्टी बन्छ, त्यो दण्डित हुन्छ । यस कारण हामी छोडेर भागेर हुँदैन । निर्वाचन अगाडिको गठबन्धन नगरौं भन्ने थियो,’ उनले भने । चुनावअघिको तालमेल वा गठबन्धनका लागि एउटा उन्नत जातको संस्कृति नेपालमा नभएको थापाको भनाइ छ ।

‘निर्वाचन अगाडिबाटै गठबन्धन गर्ने संस्कार हाम्रो नेपालमा छैन । ठूलो दल भए पनि सरकारमा जाने सुनिश्चितता हुँदैन । यसैले निर्वाचनअगाडि गठबन्धन गर्नु हुँदैन,’ उनले भने । थापाले कांग्रेस र माओवादीले दुवैले गठबन्धनबाट चुनाव जितेपछि बार्गेनिङ छाडेर इमान्दार नहुँदा यस्तो अवस्था आएको प्रतिक्रिया दिए ।

‘निर्वाचनअघि पाँच वर्षसम्म भनेर घोषणा गरेपछि यसको धर्म निर्वाह गर्नुपर्छ । हिजो जे भयो । आज त्यो टिप्पणी गर्न चाहन्नँ । नेपाली कांग्रेसले पनि यो चुनावपछि अरू दलसँगै संवाद नै गर्नुहुँदैनथ्यो । माओवादीले पनि गर्न मिल्दैनथ्यौ ।

किनकि हामीले यो निर्वाचनमा एक अर्कोका मतदाताको भोट नै एक अर्कोलाई ट्रान्सफर गरेको । यस कारण समग्रमा हाम्रो निर्वाचन प्रणालीप्रति समीक्षा गर्नुपर्ने बेला आयो ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया