कारागारमा चामल, चर्पी र उपचारको समस्या

मुख्यमन्त्री भन्छन्—म जेल बस्दा बाल्टीमा आची गर्नुपथ्र्याे

सञ्जय रानाभाट २०७९ पुष १३ गते १०:२१

सञ्जय रानाभाट, पोखरा ।
‘एउटा तीतो सत्य के रैछ भने सायद हामी राजनीतिमा लागेका पछिल्लो पुस्ता प्रायः जेल नबसेको कोही छैन । तर, हामी जेलबाट निस्केपछि राज्य सञ्चालन गर्दा जेल भित्रको कुरा भुल्दा रैछौं । ०४२ सालमा म नवलपरासी जिल्लाको जेलमा पर्दा ट्वाइलेट थिएन ।

बाल्टीमा आची गर्ने, बिहान ढोका खुलेपछि फाल्नुपथ्यो । कस्तो सकस होला ! त्यतिमात्र हैन, सुत्ने क्यापसिटी ५० जनाको थियो । तर, १ सय ५० जना सुत्थ्यौं । यो अवस्थाको जेल मैले पनि भोगेको छु ।’

मंगलबार कास्की कारागार पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो विगत सम्झिए । पोखरेलले आफ्नो विगतमात्र सम्झिएनन्, उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि कास्की कारागारका लागि उल्लेखनीय काम गर्न नसकेको स्वीकारे ।

Advertisement

‘०३६ सालमा ८ महिना यो जेलमा बिताएको छु । त्यो व्यक्ति पोखरा आएर नेता पनि बन्यो । प्रमुख प्रतिपक्ष दलको नेता पनि बन्यो र मुख्यमन्त्री पनि बन्यो । कार्यालयका नजिकै समय मिलेन, अहिले समय जु¥यो,’ मुख्यमन्त्री पोखरेलले आफ्नो राजनीतिक यात्रा सम्झदै भने, ‘जेलको अवस्था थाहा पाउँदा पाउँदैसुधार गर्नुपथ्र्यो ।

गर्न खोज्दाखोज्दै पनि धेरै गर्न सकिएन । कारागार बनाउने कुरा बजेट, केन्द्र सरकार र संविधान कानुनमा यी सबै कुरा केन्द्र सरकारसँग सम्बन्धित रहेछ ।’ मुख्यमन्त्री पोखरेलले बजेट अभावले जीर्ण भवन मर्मत गर्ने इच्छा हुँदाहुँदै पनि नसकेको दुखेसो पोखे ।

Advertisement

पोखरेलले प्रदेश सरकारले भवन निर्माण गर्न आवश्यक बजेट छुट्याउन नसकेपछि २० लाख छुट्याएको सुनाए । ‘गण्डकीका कारागार बनाउन ७० लाख छुट्याएको हो । यो सबै पैसा यहाँ हाल्न पाएको भए भवन निर्माण सुरु गर्न सकिन्थ्यो,’ पोखरेलले भने ।

कास्की जिल्ला कारागारमा अनेक थरी समस्या छन् । कारागारमा खानेपानी, बिजुली, बस्ने ठाउँ, स्वास्थ्य उपचार र सुरक्षाको समस्या छ । कारागारका सबैजसो भवन जीर्ण भएको कारागार प्रशासनले जनाएको छ । आधारभूत आवश्यकता खानेपानीकै हाहाकार छ ।

कारागारनजिकै नेपाल खानेपानी संस्थानको पोखरा कार्यालय छ । कारागारमा कैदी, बन्दीको सुरक्षा र खाने, बस्ने व्यवस्थापन गर्नकै लागि अप्ठ्यारो भएको कारागार प्रशासक महेन्द्रबहादुर कुँवरले बताए ।

एक थुनुवाका अनुसार कारागारमा खानेपानीको सधै समस्या छ । कारागारमा पानी त आउँछ तर अपुग हुन्छ । खानेपानीमात्रै होइन, उनीहरु सुत्नसमेत राम्रोसँग पाउँदैनन्। प्लास्टिक म्याट बिछ्याएर भूइँमै सुत्नुपर्ने बाध्यता छ । हिउँद लागिसक्यो तर ओढ्ने गतिलो कम्मल छैन ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा यस्तो अवस्था आएको कारागार प्रशासन बताउँछ । कैदी र थुनुवाको राम्रोसँग रेखदेख नहुँदा बिरामी पर्ने गरेको स्रोत बताउँछ ।

प्राथमिक उपचार कारागारभित्रै हुनुपर्ने कानुनमा व्यवस्था छ । तर, स्रोत र साधनको कमीले सामान्य समस्याको उपचार गर्न पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजानुपर्ने अवस्था रहेको कर्मचारी बताउँछन् ।

कारागारमा समस्या थपिँदै छन् तर समाधानका उपाय भने खोजिएको छैन । रिहाइ हुने र थुनामा पर्ने क्रम घट्ने बढ्ने हुन्छ । तर, पछिल्लो समय कैदीबन्दी घट्नेभन्दा बढ्दै गएका छन् । कास्कीमा एउटामात्र कारागार छ ।

स्रोत भन्छ, ‘कारागारमा कैदी र पुर्पक्षका लागि पठाइएका थुनुवा एकै ठाउँमा बस्नुपर्ने भएकाले समस्या आएको हो । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा शौचालयसमेत अव्यवस्थित हुन पुगेको छ ।’

कैदीबन्दी बीच झगडा हुँदा, औषधी उपचारमा लैजादा, अदालत लाँदा–ल्याउँदा देखि खानेकुरा वितरण गर्न पनि कठिनाइ हुने एक सुरक्षाकर्मी बताउँछन् । सुरक्षामा पर्याप्त ध्यान दिन नसके कैदीबन्दी भाग्ने सम्भावना छ ।

कारागारमा रहेका कैदीबन्दीको गुनासो सुनेपछि मुख्यमन्त्री पोखरेल र आन्तरिक मामिला मामिला मन्त्री दोबाटे विश्वकर्माले व्यवस्थापन के कस्तो छ भन्नेमा केन्द्रित भएर अनुगमन गरिएकोले सरकारले समस्याहरुको समाधान गर्ने वाचा गरे ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया