राहुघाट हाइड्रोकाे निर्माण धमाधम

राकेश शर्मा २०७९ पुष १४ गते ११:००

म्याग्दी ।
म्याग्दीमा नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत आयोजनाको निर्माणले गति लिन थालेको छ । जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजनाको हालसम्म भौतिकतर्फ ४० प्रतिशत र वित्तीयतर्फ ५० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।

आसोजयता आयोजना निर्माणले गति लिएको हो । आयोजनाको अहिले सुरुङतर्फ र बाँधस्थलसँगै विद्युतगृहको काम एकसाथ भइरहेको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक रहेको आयोजनाले आधाभन्दा बढी सुरुङ निर्माण सकिएको जनाएको छ । ३ वटा अडिटबाट सुरुङको काम भइरहेको र प्रतिमहिना १ सय ८० देखि २ सय मिटरसम्म सुरुङ खनिएको छ ।

आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर बिष्टका अनुसार आयोजनाको ६ हजार २ सय ७० मिटर लामो सुरुङमध्ये ३ हजार ७ सय मिटर सुरुङ निर्माण भइसकेको छ । बाँधस्थलमा, आँधीखोला र पिप्लेमा रहेको अडिटबाट सुरुङ खन्ने कामलाई तिव्रता दिइएको छ ।

Advertisement

‘अहिले हामीले बाँधस्थल, आधिखोलसँगै पिप्लेमा रहेको अडिटबाट सुरुङको कामलाई तीव्रता दिएका छौं,’ बिस्टले भने,‘ आयोजनाको बाँधस्थल रघुगंगा ४ दग्नाम र वडा नं ५ झिँको सिमाना बुग्लमा अर्धजलाशययुक्त बाँधको संरचनाका लागि यतिखेर फाउन्डेसन जग खन्ने काम अन्तिम चरणमा पुगेको छ ।’

आयोजनाको बाँध स्थलतिर बर्खाको समयमा पनि काम नरोकियोस भनी त्यसका लागि संरचना र आवश्यक तयारी थालिएको छ । अहिले आयोजनाको सुरुङतर्फ सर्च साफ्ट ट्याङक निर्माण गरी लाइनिङको काम भइरहेको उनको भनाइ छ । अडिट ३ बाट सर्च साफ्ट जोड्ने २५ मिटर सुरुङ निर्माण भइसकेको छ ।

Advertisement

अडिट ३ बाट २ तर्फ १ हजार २ सय ६१ मिटर सुरुङ खनिएको छ । सर्च साफ्टबाट विद्युतगृहतर्फ १ हजार ५० मिटर सुरुङमध्ये ६ सय ८८ मिटर खनिसकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर बिष्टले जानकारी दिए ।

३ ठाउँबाट प्रेसर साफ्टमा काम भइरहेको र पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ गरेको आयोजनाले जनाएको छ ।

दैनिक रुपमा प्रयाप्त उपकरणका साथै करिब ४ सयको मजदुर परिचालन भएको आयोजनाले जनाएको छ । तिल्केनीचौरमा विद्युतगृहको भवन निर्माणसँगै उपकरण जडानको तयारी थालिएको छ । विद्युत गृहको सर्भिस वेयको काम झन्डै सकिएको र युनिट वेयको काम धमाधम भएको बिष्टको भनाइ छ ।

भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मंसिरमा ठेक्का सम्झौता भएको थियो ।

४५ महिनाको ठेक्का अवधीको म्याद सकिएपछि साढे २ वर्ष थप भएको छ । २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले आफ्नो कामलाई तीव्रता दिएको आयोजनाले जनाएको छ ।

सुरुमा ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता ८ मेगावाट बढाएर अहिले ४० मेगावाट बनाइएको छ । २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँच मार्ग निर्माण गरी २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

बुग्लस्थित अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

जिल्लाकै ठूलो आयोजनाको रुपमा हेरिएको यो आयोजनाको निर्माण कार्य समयमा नै सम्पन्न गर्न जिल्लाका सरकारवालाले पनि चासो देखाएका छन् ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया