जातीय भेषभूषा र मातृभाषामा शपथ

सञ्जय रानाभाट २०७९ पुष १५ गते ११:१५

सञ्जय रानाभाट, पोखरा ।
गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य ६५ वर्षे मित्रलाल बस्यालले ५९ जना प्रदेश सांसदलाई शपथ गराएका हुन् ।

५६ जनाले नेपाली र ३ जनाले मातृभाषामा शपथ लिएका हुन् । कांग्रेसकी सरस्वती गुरुङ, पार्वती तामाङ र राप्रपाका पञ्चराम गुरुङले मातृभाषामा शपथ लिएका हुन् ।

बस्यालले निर्वाचन ऐन २०७४ को दफा ७५ को उपदफा १ बमोजिम शपथ ग्रहण गराउँदै सबैलाई इमान्दार भएर प्रदेश समृद्धिमा लाग्ने वाचा पत्रमा हस्ताक्षर गराएका हुन् । बस्यालले बुधबार मात्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ ग्रहण गरेका थिए । उनी पर्वत (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

Advertisement

शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित भएका थिए । केही सांसदहरुले आफ्नै जातीय भेषभूषा लगाएका थिए भने अधिकांश पुरुषले दौरा, सुरुवाल र महिलाले गुनियो र चोली माथि कोट लगाएका थिए ।

मातृभाषामा शपथ लिएकी कांग्रेसबाट समानुपातिबाट निर्वाचित सरस्वती गुरुङले आफू यसअघि समाजको काम गरे पनि अब राज्यको निकायमा बसेर काम गर्ने अवसर प्राप्त गरेको बताइन् । ‘यसअघि पनि समाज सेवामार्फत काम गरिरहेकै हो । अब राज्यको निकायमा बसेर गर्ने अवसर जुरेको छ । यो भूमिकालाई सहजै निर्वाह गदर्छु,’ उनले भनिन् ।

Advertisement

मुस्ताङ १ (१) बाट निर्वाचित नम्डु गुरुङले पनि उत्तरी मुस्ताङको जातीय पोसाक लगाएका थिए । उनले आफूलाई मुस्ताङको समृद्धि र विकासका लागि निर्वाचित गराएकाले प्रदेश सभामा इमान्दार भएर काम गर्ने बताए ।

शपथ ग्रहण गरेपछि जिम्मेवारी बोध भएको उनको भनाइ थियो । ‘यो विश्वास गरेर प्रदेश सभामा पठाइदिनुभएकोमा मुस्ताङवासीलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु,’ उनले भने, ‘प्रदेश सभाबाट मुस्ताङको समृद्धिका लागि मेरो भूमिका महत्वपूर्ण हुन्छ ।’

प्रदेश सभामा केही रोचक दृश्य पनि देखिए । गोरखा १ (२) बाट कांग्रेसबाट निर्वाचित नन्दप्रसाद न्यौपानेले गीता छोएर शपथ लिए । उनले आफ्नो कार्यकाल सफल बनाउनका लागि सबैले विश्वास प्राप्त गरेकाले जिम्मेवारी सहजै पूरा गर्ने बताए ।

‘मैले जुन विश्वासका साथ मत प्राप्त गरेको छु, कार्यकाल त्यसरी नै पूरा गर्नुछु,’ उनले भने, ‘मैले जुन आस्थामा विश्वास राख्छु, गीतालाई नै साथमा लिएर शपथ खाएँ,’ सांसद न्यौपानेले भने । यसअघि पालिका हाँकिसकेका सांसद वेदबहादुर गुरुङ ‘श्याम’ले आफूले प्रदेशसभामा तीन तहको सरकारलाई जोड्न आफ्नो भूमिका महत्वपूर्ण हुने बताए ।

गुरुङले आफू हिजो पालिका हाँक्दा देखेका समस्याहरुलाई समाधान गर्न र समग्र प्रदेश बासीको समृद्धिका लागि विधेयकहरु बनाउन भूमिका हुने बताएका हुन् । ‘हिजो मैले पालिका हाँक्दा तीन तहको सरकारमा देखिएको समन्वयको अभाव र ती बाधाहरुलाई फुकाउन मेरो भूमिका हुन्छ,’ उनले भने ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले अब आफूहरु गण्डकी प्रदेशलाई नमुना प्रदेश बनाउने केन्द्रित हुने बताए । ‘जनताले हामीलाई दिएको वारिस हो । जनता नै सर्वपरी हुन् भन्ने महसुससँगै शपथ भएको छ । तीन सरकारका संरचना उत्तिकै महत्व भएकाले संघीय संसदमा हुँदा जसरी एउटा भूमिका खेलेँ ।

यसरी नै भूमिका निर्वाह गर्नेछु,’ अधिकारीले भने । प्रदेश प्रमुखले सरकार गठनको प्रक्रिया सुरु गर्ने बित्तिकै आफूहरु सरकार गठनका लागि औपचारिक छलफल सुरु गर्ने उनले बताए । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको समृद्धिका लागि एकजुट भएर लाग्ने बताए ।

‘हामी सरकारमा भएर वा प्रतिपक्षामा जुनसुकै भूमिकामा भएपनि एकजुट भएर प्रदेशलाई समृद्धितर्फ डो¥याउने हाम्रो भूमिका हुन्छ,’ पाण्डेले भने । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ ।

सांसदलाई नलेज सेयररिङ गोष्ठी
गण्डकी प्रदेश सभा सचिवालयले नवनिर्वाचित सांसदलाई २२ र २३ गते नलेज सेयरिङ गोष्ठी आयोजना गरेको छ । प्रदेश सभालाई उच्च राख्न र विधायिकीहरुलाई थप प्रभावकारी बनाउन सचिवालयको आर्थिक मितव्ययितालाई ध्यान राख्न संघसंस्थाहरुको सहकार्यमा अनुशिक्षण ज्ञानको साझेदारी नलेज सेयरिङ, कार्यक्रम राखिएको सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

पोखरेलले २२ गते बिहान ११ बजे लेकसाइडमा गोष्ठी आयोजना गरिएको जानकारी दिए । प्रदेश सभा र पोखरा रिसर्च सेन्टरको आयोजनामा हुन लागेको कार्यक्रममा प्रदेश सभाको विधायिका पक्ष र प्रदेश सभाको अभ्यास तथा संसदीय कार्यलाई दिशा निर्देश गर्ने कार्यक्रम हुने पोखरेलले बताए । उनका अनुसार गोष्ठीमा संघीय संसदमा सेवा गरेका पूर्व सचिव मुकुन्द शर्मा र संविधान सभाका सदस्य वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले अनुशिक्षण गर्नेछन् ।

शपथमा के के पाए ?
शपथ ग्रहणपछि सांसदहरुले प्रदेश सभाको लोगोसँगै झोला पाएका छन् । प्रदेश सभामा सहजताका लागि ऐन नियम, संविधान पाएका हुन् ।

प्रदेश सचिव हरिराज पोखरेलका अनुसार प्रदेश सांसदले गण्डकी प्रदेश सभाले हालसम्म पारित गरिसकेका ऐन नियम, नेपालको सविधान, प्रदेश सभा नियमावली, प्रदेश सभा स्मारिका, गण्डकी प्रदेश सभा सचिवालयको नाम अंकित डायरी, नेपालको राष्ट्रिय झन्डा अंकित र गण्डकी प्रदेश सभा लेखिएको झोला १/१ थान पाएका हुन् । सांसदले स्टिलको नयाँ पिजन होलको चाबी पनि पाएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया