लेकसाइडमा चार्जिङ स्टेसन राख्न दिइएन !

सञ्जय रानाभाट २०७९ पुष १७ गते १२:२६

सञ्जय रानाभाट, पोखरा ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने घोषणा गरेको छ । विद्युतीय गाडी प्रवद्र्धन गर्न भन्सार छुटदेखि कर छुटसम्मको व्यवस्था छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालमा विद्युतीय सवारीको माग पनि बढ्दो छ ।

अहिले सडकमा छिटफुट रुपमा मात्र विद्युतीय गाडी देखिन्छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले पछिल्लो समय मानिस विद्युतीय सवारीमा आकर्षित भएका छन् । यसका लागि नभई नहुने पूर्वाधार हो, चार्जिङ स्टेसन । तर, पोखरामा नेपाल विद्युत प्रधिकारणले बनाउन लागेको चार्जिङ स्टेसनको विरोध भइरहेको छ ।

प्रधिकरणले चार्जिङ स्टेसन बनाउन ठाउँ नै नपाएको जनाएको छ । प्राधिकरणका टंक पौडेलका अनुसार पोखरामा ५ वटा मेसिन राख्न चाहे पनि अझैे काम सम्पन्न हुन नसकेको हो । उनले पोखरा महानगरपालिकाको सहकार्यमा मेसिन जडान हुन लागे पनि ठाउँको अभाव भएको सुनाए ।

Advertisement

पर्यटकको सबैभन्दा बढी चहलपहल हुने लेकसाइडमा स्टेसन राख्न विद्युत प्राधिकरणले जग्गा नै पाएको छैन

प्रधिकरणले विद्युतीय गाडीको चहलपलह हुने बेगनासताल, कालिका पेट्रोल पम्प, लेकसाइड र टुरिस्ट बस पार्कमा मेसिन राख्न चाहे पनि केही ठाउँमा अझै जडान सम्भव भएको छैन । कालिका पेट्रोल पम्पमा २ चार्जिङ मेसिन जडान हुँदै छन् भने लेकसाइडमा १ मेसिन जडान गर्ने प्रधिकरणले जनाएको छ । अन्य ठाउँमा १/१ वटा मेसिन जडान भइरहेका छन् ।

Advertisement

‘बेगनास तालमा विरोध भए पनि बल्ल मेसिन जडान सुरु भएको छ । यहाँ पनि सुरुमा धेरै झन्झट भयो । टुरिस्ट बस पार्कमा पनि जडान गरिसक्यौं । कालिका पेट्रोल पम्पमा पनि १ मेसिन जडान हुने क्रममा छन्,’ उनले भने, ‘सवारीको चहलपहल हुने मुख्य चोक लेकसाइडमा राख्न चाहे पनि जग्गाको अभावले जडान हुन सकेको छैन ।’

स्रोतका अनुसार प्रधिकरणले लेकसाइडको स्कुलको जग्गा डिहिकोपाटन वा पर्यटन मन्त्रालयको जग्गामा राख्न स्टेसन चाहे पनि विरोध भएको हो । ३ वर्ष अघिदेखि नेपाल सरकारले ठाउँ ठाउँमा चार्जिङ स्टेसन बनाउने भने पनि पोखरामा एउटा पनि चार्जिङ स्टेसन बन्न सकेको छैन ।

पोखरामा २ पांग्रे विद्युतीय सवारीमा ह्वात्तै आकर्षण बढे पनि चार पांग्रे सवारी कम छन् । तर, पछिल्लो समय पोखरा आउने पर्यटक विद्युतीय गाडीमा आउन थालेपछि चार्जिङ स्टेसनको माग बढेको हो । लेकसाइडमा स्थानीयले चार्जिङ स्टेसन राख्न अवरोध गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखरा घुम्न आएका अधिकांश पर्यटक लेकसाइडकै होटलमा बस्ने भएकाले विद्युतीय चार्जिङ मेसिन त्यहाँ जरुरी छ । पोखरा महानगरपालिकाका इन्जिनियर ध्रुव भट्टराईका अनुसार प्रधिकरणको सहयोगमा चार्जिङ स्टेसन जडान गर्न लागे पनि जग्गाको अभाव भएको छ । महानगरले चार्जिङ स्टेसन राख्न पहल गरे पनि स्थानीयले पर्यटन बोर्ड र डिहिकोपाटनमास्टेसन बनाउन अवरोध गरेको उनले सुनाए ।

मुख्य चहलपहल हुने लेकसाइडमास्टेसन जडान हुन नसक्दा प्रधिकरणले अन्यन्त्रै लैजाने तयारी थालेको छ । यहाँका पर्यटन व्यवसायी, पोखरा महानगरपालिका र वडा कार्यालयले समेत चार्जिङ स्टेसन राख्न सहयोग नगरेको प्रधिकारणको आरोप छ ।

प्राधिकरण स्रोतका अनुसार पोखरा महानगरले स्टेसन राख्ने ठाउँ नखोजे, त्यो मेसिन अन्य जिल्लामा पुग्नेछ । ‘अन्य जिल्लामा चार्जिङ स्टेसनको डिमान्ड धेरै छ । हाम्रो जिल्लामा ल्याइदिनुप¥यो भन्नुभएको छ,’ प्राधिकरण एक कर्मचारीले भने ।

ती कर्मचारीका अनुसार महानगर जग्गा खोज्ने र चार्जिङ स्टेसन राख्ने विषयमा गम्भीर छैन । महानगरका इन्जिनियर भट्टराईले पनि यो विषयमा स्थानीय गम्भीर नभएको सुनाए । लेकसाइड रहेको पोखरा ६ का वडाध्यक्ष विष्णु भट्टराईले पनि केही समस्याले गर्दा जग्गा नपाएको उल्लेख गरे ।

‘डिहिकोपाटनमा स्कुलको एउटा जग्गा छ । पर्यटनको जग्गा केही व्यक्तिले लिएका रैछन्,’ उनले भने, ‘सबैभन्दा राम्रो डिहिकोपाटन हुन्छ । त्यो स्कुलको जग्गा हो । त्यहाँ अब समन्वय गर्छु । मैले अरु ठाउँ पनि हेर्नुहोला भनेको छु । यसलाई स्वागत गर्नुपर्छ । धेरै जग्गा चाहिन्थेन, कुनै खाली चोकमा राखे हुन्थ्यो,’ उनले आफ्नो वडा कार्यालयअघि पनि खाली जग्गा भएको जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउन चाहेको छ । यो चार्जिङ स्टेसनको क्षमता ६० किलोवाटका दुई वटा डिसी र २२ किलोवाटका एसी गन हुन्छन् । १ सय २० किलोवाट डिसीसम्म पनि सिंगल डिसी गनले गाडी चार्ज गर्न सक्छ । गाडीको ब्याट्रीको क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टामा फुल चार्ज हुन्छ ।

विद्युतमा कारहरुका औसत ७० पैसा, एसयुभीमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसमा १ रुपैयाँ २० पैसा प्रतिकिलोमटर खर्च लाग्नेछ । समय अनुसार इनर्जी शुल्क फरक फरक हुन्छ । पेट्रोलभन्दा विद्युत चार्ज धेरै सस्तो हुन्छ ।

प्राधिकरणले देशका ३२ स्थानमा ५१ विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणको काम धमाधम भइरहेको जनाएको छ । एउटा चार्जिङ मेसिनलाई करिब १ करोड २५ लाख रुपैयाँ पर्छ । प्रधिकरणले चार्जिङ स्टेसन काठमाडौंदेखि पोखरा आउन सहज हुने उद्देश्यका साथ बनाएको हो । यसअघि धार्के, मुग्निलनमा स्टेसन बनिसकेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया