विमानस्थल अन्तर्राष्ट्रिय, उडान आन्तरिक

रिखिराम जिसी २०७९ पुष १७ गते १२:३४

पोखरा ।
देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार उद्घाटन हुँदै छ । ५० वर्षभन्दा लामो पर्खाइपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट विमानस्थलको सुरुआत हुँदै छ ।

तर आइतबार उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो छैन । उद्घाटनकै दिन बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरे पनि भारतीय पक्षबाट उडान अनुमति नपाउँदा हाललाई अन्तर्राष्ट्रिय उडान हुन सकेन ।

सोही अवसरमा महानगरले सार्वजनिक बिदा दिएको छ । महानगरले शनिबार पत्रकार सम्मेलन गर्दै अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकाल्ने तयारी गरेको जनाएको छ ।

Advertisement

महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका शंकरराज पाठकलाई अभिनन्दन गर्ने मेयर धनराज आचार्यले जानकारी दिए ।

२२ अर्ब लगानीमा बनेको विमानस्थलमा आइतबार बिहान केही मिनेटको फरकमा बुद्ध र यतिका नवनिर्मित जहाज यात्रुसहित अवतरण हुँदै छन्

Advertisement

प्राधिकरणका पोखरा कार्यालय प्रमुख विक्रम गौतमले अनुमतिका लागि प्रक्रियामा रहेकाले आइतबार अन्तर्राष्ट्रिय उडान नहुने स्वीकारे । ‘सरकार र स्वयं विमान कम्पनीहरुबाट नै प्रयास भइरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि चासो पनि देखाइरहेका छन् । हामी अनुमतिकै प्रतीक्षामा छौं,’ गौतमले भने ।

विमानस्थल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको कार्यालय प्रमुख गौतम बताए । ‘विमानस्थल सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको छ । उडानका लागि सबै तयारी अवस्थामा छौं,’ उनले भने । आइतबार हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज काठमाडौंबाट पोखरा आउने कार्यालय प्रमुख गौतमले बताए ।

बिहान ७ बजे केही मिनेटको फरकमा बुद्ध र यति एयरलाइन्सका जहाज नवनिर्मित विमानस्थलमा ओर्लने छन्,’ उनले भने, ‘प्राधिकरण र पोखराका पर्यटनसँग सम्बन्धित संघ, संस्थाले ती जहाजबाट आउने यात्रु र चालक दललाई स्वागत गर्ने छन् ।’ फेब्रुअरी २३ देखि विमानस्थल दैनिक १८ घण्टा सञ्चानलमा आउने कार्यालय प्रमुख गौतमले जनाए ।

आइतबारदेखि पोखराबाट हुने आन्तरिक उडान पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट भने पुरानै विमानस्थलबाटै सञ्चालन हुने गौतमले सुनाए । ‘तत्कालका लागि पोखराबाट जोमसोम उडान गर्ने साना जहाज, हेलिकप्टर तथा अल्ट्रालाइट पुरानै एयरपोर्टबाट सञ्चालन हुनेछन् । अरु बाँकी सबै विमानको उडान नयाँ विमानस्थलबाट हुनेछन्,’ गौतमले भने ।

यो विमानस्थल चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकी ७५ प्रतिशतको वार्षिक २ प्रतिशतले ब्याज भुक्तानी गनुपर्ने कार्यालय प्रमुख गौतमले बताए ।

पोखरा १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सिएएमसीईलाई ठेक्का दिएको थियो ।

लामेआहालमा अस्थायी ल्यान्डफिल साइट
पोखरा महानगरपालिकाले अस्थायी रुपमा फोहोर व्यवस्थापनको टुंगो लगाएको छ । मेयर धनराज आचार्यले फोहोर प्रशोधन केन्द्र नबन्दासम्म अस्थायी रुपमा पोखरा महागनरपालिका ३२ लामेआहालमा फोहोर व्यवस्थापन गरिने बताए ।

‘त्यसको नजिकैको हाइड्रो पावरको सुरूङबाट निक्लिएको माटोले पुरिने र यसो हुँदा पहिरोको समस्या समाधान हुनेछ,’ उनले भने । दीर्घकालीन रुपमा भने वडा नं. ३३ पुँडिटारमा प्रशोधन केन्द्र बनाउन लागेको मेयर आचार्यले सुनाए ।

‘धेरै समयको मिहेनतले हामीले तत्कालीन र दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको टुंगो लगाएका छौं,’ मेयर आचार्यले भने, ‘पुँडीटारको झाँक्री खोलामा प्रशोधन केन्द्र बनाएर दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने र त्यो नबन्दासम्म लामेआहालको खोला छेउमा व्यवस्थापन गरिनेछ ।’

प्रशोधन केन्द्र ७० रोपनी जमिनमा बन्ने मेयर आचार्यले बताए । मेयर आचार्यका अनुसार दीर्घकालीन रुपमा प्रशोधन केन्द्र बनाउन कम्तीमा ६ महिना लाग्नेछ । त्यसका लागि केही कम्पनीको प्रस्ताव आएको र त्योमध्ये सबैभन्दा राम्रो प्रस्तावलाई कार्यान्वयनमा लैजाने मेयर आचार्यले उल्लेख गरे ।

फोहोरबाट सिएनजी ग्यास, पाइप, ब्लक, बिजुली उत्पादन गर्नेसम्मका प्रस्ताव आएको आचार्यले बताए । ‘प्रशोधन केन्द्र बनाउन सोमबारभित्र टेन्डर आह्वान गर्छाैं । प्रक्रियाअगाडि बढाउँछौं,’ उनले भने ।

उद्घाटनमा सार्वजनिक बिदा पोखरा महानगरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन आइतबार सार्वजनिक बिदा दिएको छ । महानगरले शनिबार सूचना जारी गर्दै समारोहमा व्यापक सहभागिता रहोस् भन्ने उद्देश्यले महानगर कार्यालय, महाशाखा, शाखा, वडा कार्यालय, विद्यालय एवं शैक्षिक संघ, संस्था समेतमा लागू हुनेगरी स्थानीय बिदा दिइएको जनाएको छ ।

महानगर र अन्तर्गतका कर्मचारी र शिक्षकलाई अनिवार्य रुपमा उ्घाटन समारोहमा उपस्थितिका लागि निर्देशन दिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती बताए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया