अन्तर्राष्ट्रिय विमानस्थल भव्य उद्घाटन

तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अएको छ । अब छिट्टै निजगढ विमानस्थल निर्माण सुरु गर्ने छौं ।’-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

सञ्जय रानाभाट २०७९ पुष १८ गते १०:४७

सञ्जय रानाभाट, पोखरा ।
योजना बनेको ५० वर्षपछि आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा यो विमानस्थल बनेको हो । यसको २५ प्रतिशत लगानी अनुदान हो ।

आइतबार उद्घाटन समारोहमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा बदल्न चीन सरकारलाई आग्रह गरे । ‘म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु’, उनले भने ।

देशकै प्रमुख पर्यटकीय गन्तव्यमा निर्माण भएको यो विमानस्थलबारे अन्तर्राष्ट्रिय बजारमा समेत सन्देश दिन अंग्रेजी महिनाको पहिलो दिन जनवरी १ मा उद्घाटन गरिएको हो । उद्घाटन समारोहलाई भव्य बनाउन आइतबार पोखरा महानगरपालिकाले स्कुल र सरकारी कार्यालय बिदा दिएको थियो । समारोहमा व्यापक जनसहभागिता देखियो । समारोहमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो ।

Advertisement

अब पोखरालाई पर्यटनको राजधानी घोषणा गरौंः धनराज आचार्य, मेयर

प्रधानमन्त्री प्रचण्डसँगै अर्थ मन्त्री विष्णु पौडेल काठमाडौंबाट बुद्ध एयरमार्फत् नयाँ विमानस्थलमा ओर्लिएका थिए । परियोजना सफल भएको भन्दै नागरिक उड्डान प्राधिकरणले विमानस्थल बन्न सहयोग गर्ने मन्त्री, कर्मचारी र चीन सरकारलाई धन्यवाद दिएको छ ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले विमानस्थलका परिकल्पनाकार तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई सम्मान गरे । पाठकको नेतृत्वमा अधिकरण सुरु गरे पनि विमानस्थललाई चाहिने जग्गा विभिन्न चरणमा स्थानीयबाट किनिएको हो ।

२०३२ देखि सुरु गरी ०७३ सालसम्म जग्गा अधिकरण गरिएको थियो । यो बीचमा यो जग्गा बाँझै रह्यो । हाल विमानस्थल ३ हजार ८ सय ९९ रोपनी जग्गामा फैलिएको छ । महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न मेयर आचार्यले आग्रह गरेका थिए ।

आचार्यले समारोहमा प्रधानमन्त्रीसँग अब पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गरेका छन् । पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव महानगरको तर्फबाट भइसकेको भन्दै उनले सरकारले औपचारिक रुपमा घोषणा गर्नुपर्ने उनले माग गरे ।

‘अब अन्तर्राष्ट्रिय उडानमा पहल गरौं, हाम्रो तर्फबाट व्यवस्थापनको काम सम्पन्न गरेका छौं । ल्यान्डफिल साइट व्यवस्थापन भइसक्यो,’ मेयर आचार्यले भने । प्रधानमन्त्री प्रचण्डले नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रम बढ्दो रहेको सुनाए ।

नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाई मार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु आवश्यक रहेको बताए । उनले भने, ‘पोखरामा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अएको छ । अब छिट्टै निजगढ विमानस्थलको निर्माण सुरु गर्ने छौं ।’

प्रधानमन्त्री प्रचण्डले तेस्रो विमानस्थल सञ्चालनमा आएसगै पोखरा सिधै अन्य मुलुकको पहुँचमा जोडिएको बताए । आफ्नो जन्मभूमिसमेत कास्की भएकाले यस क्षेत्रको विकासका लागि प्रधानमन्त्रीको रुपमा थप पहल गर्ने उनको आश्वासन छ ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक आफ्नो गुरू भएको भन्दै प्रशंसा गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको उनले स्मरण गरे ।

२०१७ नोभेम्बर १ मा काम सुरु भएको विमानस्थल निर्माण कम्पनीले २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप ग¥यो । २०२२ को जुलाई १० अगावै आयोजना सक्नुपर्ने थियो । यस अनुसार गत चैत १२ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनबाट नेपाल सरकारलाई हस्तान्तरण भइसकेको छ ।

चीन सरकारका विदेश मन्त्री वाङ यीले बालुवाटारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर विमानस्थल हस्तान्तरण गरेका थिए । भर्चुअल माध्यमबाटै चीनका विदेश मन्त्री यीले चाबी हस्तान्तरण गरे पनि पोखरामा त्यति बेला पनि तामझामका साथ कार्यक्रम भयो । विमानस्थल हस्तान्तरणकै दिन तत्कालीन पर्यटन मन्त्री प्रेम आले पोखरा विमानस्थल आएका थिए ।

विमानस्थलको रनवे २ हजार ५ सय मिटर लामो छ । ४५ मिटर चौडाइ भएको रनवेमा बोइङ ७५७ र एयरबस ३२० जहाज उडान तथा अवरण गर्न सक्छन् । विमानस्थल फोर डी श्रेणीको भएकाले रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अन्तर्राष्ट्रिय जहाजले पूर्वपट्टिबाट मात्रै उडान र अवतरण गर्ने छन् ।

यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय उडान हुने भने पनि अन्तर्राष्ट्रिय रुट नपाउँदा अहिले आन्तरिक उडान थालिएको हो । यहाँबाट दैनिक ४८ वटासम्म आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया