मुस्ताङमा जम्न थाले ताल

सुन्दरकुमार थकाली २०७९ पुष १८ गते ११:२०

जोमसोम ।
मुस्ताङमा हिमपात नभए पनि चिसो भने अत्यधिक बढेको छ । अत्यधिक चिसोले मुस्ताङका तालतलैया, शाखा नदी, सिंचाइ कुलो, घरका धारा र सेफ्टी ट्यांकी जम्न थालेका छन् । चिसोले मुस्ताङको दैनिक जीवनमा समेत प्रतिकूल असर पुर्‍याएको छ ।

हिउँद याममा चिसोका कारण मुस्ताङको घरपझोङ –५ कैसाङ क्याम्प स्थित क्षमा ताल पूरै बरफ बनेको प्रचण्ड डंगोलले जानकारी दिए । घरपझोङको पश्चिमतर्फ पर्ने नीलगिरी हिमालको फेंदमै अवस्थित यो तालको माथि पूरै जमेको छ । समुन्द्री सतहदेखि करिब ३२ सय मिटरको उचाइमा ताल छ ।

कैशाङकै सैनिक उच्च शिखर शिक्षालय नजिकैको नीलगिरी ताल पनि चिसोले जमेको छ । सो क्षेत्र चीनको तिब्बतमा खम्पा विद्रोह हुँदा खम्पाहरुको सैन्य हेडक्वाटर थियो । नेपाली सेनाले त्यहाँ अड्डा जमाएर बसेका खम्पा विस्थापित गरेपछि नेपाली सेनाको सैन्य तालिम केन्द्रमा रुपान्तरण गरिएको थियो ।

Advertisement

अत्यधिक चिसोका कारण शाखा नदी जमेका हुन् । उपल्लो मुस्ताङको नरसिंह खोला, समरखोला, घिलिङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला र छोेसेर खोला चिसोले जमेको लोमान्थाङका सबईन्जिनियर उदय घिमिरेले जानकारी दिए । उपल्लो मुस्ताङका सिंचाइ कुलासमेत जमेका छन् ।

हिमपात नभए पनि चिसोले जनजीवन कष्टकर बनेको सबईन्जिनियर घिमिरेको भनाइ छ । ‘घरका धारा र सेफ्टी ट्याङ्की चिसोले जम्दा नागरिकलाई सास्ती छ,’ उनले भने, ‘चिसो सिरेटोले बाहिर निसक्न मुस्किल पर्छ, स्थानीय गुइठा बालेर घरभित्र बस्छन् ।’ उनले खानेपानीको धारा जम्दा स्थानीयले कुलोको हिउँ तताएर दैनिक प्रयोजनमा लागि उपयोग गर्ने गरेको जानकारी दिए ।

Advertisement

चालु वर्षको पुस महिनाको आधार बितिसक्दासमेत हिउँ परेको छैन । हिमपात नभए पनि उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङका स्थानीय टसी आङ्ग्या गुरुङले जानकारी दिए ।

चिसोकै कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक मंसिर अगावै जाडो छल्न बेसी झरिसकेका छन् । उपल्लो मुस्ताङका सामुदायिक तथा गुम्बा बिद्यालय पनि घुम्तीका लागि बेसी झरेका छन् । तल्लो मुस्ताङमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्री सम्म पुग्छ ।

चिसोले स्थानीय नागरिक घरबाहिर निस्कन सक्दैनन् । मुस्ताङका शैक्षिक संस्थालाई जाडो बिदा दिइएको छ । विकास, निर्माणका काम प्रभावित बनेका छन् । जिल्लामा कर्मचारी पनि सीमितमात्रै छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया