हिउँ नपर्दा मुस्ताङका कृषक चिन्तित

समाधान संवाददाता २०७९ पुष १८ गते १५:४२

जोमसोम ।
हिउँदयामको अनुकुल मौसममा हिउँ नपर्दा मुस्ताङका कृषक चिन्तित देखिएका छन् । कुनै बेला कार्तिक महिनामै पर्ने हिउँ पुसको आधा महिना बितिसक्दा समेत हिउँ पर्न नसक्दा यहाँका कृषक चिन्तित देखिएका हुन् ।

यो समय हिमाली जिल्लामा हिउँ पर्ने उपयुक्त र अनुकुल समय हो । विगतका वर्षहरुमा मुस्ताङका खेतीयोग्य जमिन र डाँडाकाँडा हिउँले सेताम्मे हुन्थे । यद्यपी यो वर्ष हिउँ पर्न भने सकिरहेको छैन । हिउँ नपर्दा यहाँका खर्क र डाँडाकाँढा फुस्रा र नांगा देखिएका छन् ।

हिउँदयामको हिउँ कृषकका लागि बरदान मानिन्छ । हिउँ पर्दा खेतीयोग्य जमिन मलिलो हुने र खनजोत गर्न सहज हुन्छ । खेतबारीमा राखेको मल हिउँको चिस्यानले भिजेर जमिनको सहतलाई रिचार्ज गर्ने र त्यसले बिरुवा र फलबोटलाई आवश्यक तत्व प्रदान गर्ने गर्छ ।

Advertisement

कृषि ज्ञानकेन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार हिउँदयाममा परेको हिउँ पग्लिएर खेतबारीको सिचाई र जमिनलाई चिस्यान प्रदान गर्ने भएकाले खेतबारीमा राखिएको मलजल जमिनको भित्री तहसम्म पुग्छ ।

स्याउको फुल फुल्नका लागि चिसोपनाको आवश्यक पर्ने र चिलिङ रिक्वायरमेन्टका लागि शून्य डिग्री तापक्रम आवश्यकता पर्ने हुँदा हिउदँयामको हिउँ कृषकका लागि बरदान सावित हुने केन्द्रका कार्यालय प्रमुख बस्ताकोटीको भनाई छ । हिउँदयामको हिउँले स्याउ,जौं,उवा,गहु,मकै,उवा र फापरबाली राम्ररी सप्रिने उनले बताए ।

Advertisement

यतिबेला मुस्ताङका कृषकहरु स्याउ बगैँचा व्यवस्थापन र स्याउमा अनाधिकृत फैलिएका हाँगाबिगा काँटछाँटमा व्यस्त छन् । स्याउ बगैँचाको उपयुक्त व्यवस्थापन गर्ने र स्याउ लगायतका अन्य अन्नबालीमा मलजल र प्रकोप नियन्त्रणका लागि विषादी छर्किने काममा लागिपरेका छन् ।

स्याउ बगैँचाको उपयुक्त व्यवस्थापनले मात्र स्याउको उत्पादन र गुणस्तर राम्रो हुन्छ । मुस्ताङमा पुसको पहिलो सातादेखि माघको अन्तिमसम्म स्याउ लगायतका अन्नबाली व्यवस्थापनको चटारो चल्छ ।

असोजदेखि मंसिरसम्म बर्खेबाली थन्क्याएपछि हिउँदेबालीको चटारो हुन्छ । जोमसोमका स्याउ कृषक अजित थकालीले हिउँ पर्ने समयमा हिउँ नपर्दा किसान चिन्तित देखिएका बताए । ‘हिउँदयामको मौसममा कृषकका लागि हिउँ पर्नै पर्ने हुन्छ, हिउँ परेन भने, स्याउ लगायतका अन्नबालीमा विभिन्न रोग संक्रमण देखा पर्ने गर्छ,’कृषक थकालीले भने,‘ हिउँ भएन भने खेतबारी बाँझो हुने, उत्पादन क्षमता र गुणस्तरमा समेत नकारात्मक प्रभाव पार्दछ ।’ उनले नदी र खोलाको पानीले खेतबारीमा सिचाई गर्नु भन्दा हिउँको सिचाईले जमिनको उर्वराशक्ति वृद्धि गर्ने बताए ।

गतवर्ष पुस महिनाको १४ र माघको २० गते मुस्ताङमा भारी हिमपात भएको थियो । त्यसबेला आशिंक हिउँ पर्न भने छोडेको थिएन । हिउँले डाँढाकाँडा ,खर्क, खेतबारी,सडक र बस्ती समेत हिउँले सेताम्मे भएको थियो । तर,यो वर्ष भने हिउँ पर्ने कुनै छेकछन्द देखिएको छैन ।

मुस्ताङमा हिमपात हुन नसकेपनि चिसो भने अत्याधिक बढेको छ । मुस्ताङका कुल खेतीयोग्य जमिन मध्ये आधाजसो खेतीयोग्य जमिनमा खेती गर्न हिउँदयामकै हिउँको भर पर्नुपर्ने सौरुका कृषक सोजन हिराचनले उल्लेख गरे ।

‘चिसाई भन्दा हिउँनै अर्गानिक सिचाई हो, हिउँले अन्नबालीमा लाग्ने रोग र किटाणुलाई निर्मूल गर्न मद्यत गर्छ,’ कृषक हिराचनले भने,‘ मुस्ताङको तापक्रम बढ्दै छ ,हिउँ परेन भने त कृषकले लगाएको बालीनाली सप्रिदैन ।’
पुस र माघ महिना हिमाली जिल्लामा हिउँ पर्ने अधिक सम्भावना रहन्छ ।

तर,अपेक्षा गरिएको समयमा पनि हिउँ नपर्दा कृषक चिन्तित हुनु स्वाभाविक रहेको मार्फाका कृषक दिपक लालचनले उल्लेख गरे । उनले बगैचा व्यवस्थापन र कृषि कर्मको समय हिउँ पर्दा बालीनाली राम्रो हुने जनाए । तर, हिउँ पर्ने समयमा हिउँ नपर्ने र बेमौसममा परेको हिउँले कृषकलाई कुनै फाईदा नपुग्ने उनले बताए ।

जलवायु परिवर्तनको असरले हिमाली जिल्लाको तापक्रममा वृद्धि हुन थालेको छ । हिउँ पर्ने समयमा हिउँ नपरी वर्षा हुन थालेको छ । विश्वका विकशित मुलुकले गरेको कार्वन उत्र्सजनका कारण जलवायु परिवर्तनको प्रभाव हिमालमा प्रत्यक्ष देखिन थालेको हो । तापक्रम बढेसंगै स्याउ लगायतका अन्नबालीमा विभिन्न रोग संक्रमण समेत देखिन थालेको छ । जसले उत्पादन क्षमतामा ह्रास आउन थालेको छ ।

कुनै वर्ष भारी हिमपात हुने ,कुनै वर्ष आशिंक हिमपात हुने र कुनै वर्ष हिउँ नपर्ने उदाहरण छन् । केही वर्षअघि उपल्लो मुस्ताङमा ५ फिटसम्म हिउँ पथ्र्यो भने तल्लो मुस्ताङमा २/३ फिटसम्म हिउँ पर्ने गथ्र्यो । हिउँले मुस्ताङका बस्ती समेत सेताम्मे हुन्थे । तर,पछिल्लो समयमा विगतको जस्तो हिउँ पर्न छोडेको टुकुचेका कृषक सपुत थकालीले सुनाए ।

पछिल्लो समय जलवायु परिवर्तनको असरले मुस्ताङमा तापक्रम बढ्न थालेको छ । तापक्रम वृद्धिसंगै खानेपानीको श्रोत समेत सुक्दै जान थालेका छन् भने कतिपय गाउँ सिचाई अभाव हुँदा बस्तीनै विस्थापित हुन थालेका छन् । जलवायुको असरले हिमाली जिल्ला मुस्ताङमा स्याउले बसाई सर्न थालेको छ ।पछिल्लो समय उपल्लो मुस्ताङमा समेत स्याउ खेती हुन थालेको छ ।

तपाईको प्रतिक्रिया