प्रदेश सांसद फ्राेफाइल: दमयन्ती रुचाल

विभेदविरुद्ध संघर्ष गर्दै राजनीतिमा

प्रमिला कुँवर २०७९ पुष २० गते १०:३३

पोखरा ।
स्कुलमा खानेपानीका लागि घैंटो किन्ने कुरा भयो । सबैजसो विद्यार्थीले पैसा उठाए । उनले पनि दिइन् । तर, जब घैंटो किनियो, तब पनि उनले भने अरु विद्यार्थीसरह पानी खान पाइनन् । घैंटो छुन दिइएन । कसैले दिएर अलग्ग पानी खानुपर्ने जातीय विभेदको सिकार भइन् ।

त्यही बेला स्कुल स्कुलमा माओवादीहरु संगठन विस्तार गर्न आएका थिए । उनीहरु जातीय विभेदको विरोध गर्थे । मान्छेमान्छेबीच छुतअछुतको चलन अन्त्य गर्नुपर्छ भन्थे । हो, त्यो र त्यस्तै अरु कुरा सुनेर स्कुल पढ्दै गरेकी दमयन्ती रुचाल माओवादीमा आकर्षित भइन् । स्कुलमा पढ्दै कमिटीमा जोडिइन् । क्याम्पस पढ्दापढ्दै भूमिगत भएरै माओवादी क्रान्तिमा होमिइन् । तिनै रुचाल यसपालिको प्रदेश सभाको निर्वाचनबाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएकी छिन् ।

समानुपातिक प्रणालीबाट निर्वाचित रुचाल नवलपुरकी हुन् । तर उनको जन्म भने भारतमा भएको थियो । २०३९/०८/११ गते भारतको नागाल्यान्डमा उनी जन्मिइन् । उनका बुुबा भारतीय सैनिकमा कार्यरत भएकाले उनको परिवार भारतमा थियो । उनी ९ वर्षकी हुँदा २०४८ सालमा उनको परिवार नेपाल फर्किएको थियो । उनको बाल्यकाल नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ मा बितेको हो ।

Advertisement

जनयुद्धकै क्रममा श्रीमान् गुमाइन्, भूमिगत रुपमा संघर्षअघि बढाइन्, शान्ति प्रक्रियापछि ब्युटिपार्लर पनि चलाइन्, माओवादी आन्दोलन र संघर्षलाई निरन्तरता दिइन् र आज सांसद भइन् दमयन्ती रुचाल

भारतमा रहँदा उनलाई जातीय विभेद हुन्छ भनेर थाहै थिएन, रुचाल नेपाल आउँदा जातीय विभेद चरम रुपमा थियो । सबैसँग समान व्यवहार हुने समाजमा बसेर आएकी उनले सुरुमा त विभेद भएको बुझ्नै सकिनन् । समय बित्दै जाँदा मान्छे—मान्छेबीच पनि विभेद हुँदोरहेछ भन्ने लाग्यो ।

Advertisement

लाहुरे परिवारबाट भएकाले उनले आर्थिक समस्या झेल्नु परेन । समाजमा पनि राम्रै हैसियत भएको परिवारको रुपमा परिचित थियो उनको परिवार । भौतिक सुविधा पाएकी थिइन् । त्यस बेला छोरीलाई पढाउनु हुन्न भन्ने मानसिकता थियो तर उनका बुबा चेतनशील, परिवर्तनवादी सोचका भएकाले उनलाई स्कुल जान रोकतोक भएन ।

उनको परिवार उन्नत खालको थियो, पुरानो संस्कृतिलाई मान्दैन्नथे । ३ छोरा र उनी एक्ली छोरी भएकाले बुबा, दाइको माया र साथ पाइन् । उनका दाइहरु पनि बहिनीलाई पढाउनुपर्छ भन्ने गर्थे । उनको घरमा छोराछारी बीच भेदभाव थिएन । छोराले पाउने सुविधा, मौका उनले पनि पाउँथिन् ।

बाल्यकालमा समान व्यवहार भए पनि बिहेपछि छोरीले बुबाको सम्पत्ति पाउने व्यवस्था नहुँदा उनले सम्पत्ति पाइनन् । ‘बुबाको सम्पत्तिमा दाजुको हक लाग्दा मेरो लागेन,’ उनी भन्छिन्, ‘आफ्नो घरमा सम्मान नपाएको छोरीले बिहेपछि अर्काको घरमा कसरी सम्मान पाउलान्, यो कुरा समाजले बुझ्न आवश्यक छ । ‘छोराले सम्पत्ति पाउँदा छोरीले किन नपाउने ?’ उनको प्रश्न छ ।

उनी सानैदेखि अनुशासित थिइन् । समाजमा हुने कार्यक्रम मेला, समारोहमा सहभागी हुन्थिन् । समाजका युवा क्लबमा आवद्ध थिइन् । उनीहरुले गाउँमा बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्‍याउन स्ट्रेचर बनाएका थिए ।
२०५६ मा माओवादीको सांगठनिक अभियान चलेको थियो ।

गाउँ गाउँमा संगठन, विद्यार्थी संगठन निर्माण गर्न माओवादी उनको टोल र स्कुलमा आएको थियो । माओवादीको तत्कालीन समयमा एउटा मुख्य एजेन्डा जातीय विभेद हटाउनु थियो । जातीय विभेद खेपिरहेको बेला माओवादीको जातीय विभेद हटाउने कुराले प्रभावित भएर उनी माओवादी प्रवेश गरेकी थिइन् ।

विद्यार्थी हकहितका लागि बोल्नुपर्छ । निशुल्क शिक्षाको माग गर्नुपर्छ । शिक्षकबाट अनियमितता, हिंसा भयो भने तपाईंले नेतृत्व गर्नुस्, हामी साथ दिन्छौं भनेर माओवादीले भनेका थिए । स्कुलमा उनले जातीय विभेद सहनुपरेको थियो । उनका साथीहरु उनीसँग बसेर खाँदैनथे, घरमा लैजाँदैनथे, पानी पनि हातमा थापेर खानुपथ्र्याे । स्कुलमा पानी राख्ने घैंटो किन्न उनले पैसा तिरे पनि त्यस घैंटोको पानी उनले कहिल्यै पिउन पाइनन् । विद्यालयमा अन्याय र गलत कुराको प्रतिवाद गर्न माओवादीबाट उनलाई उत्प्रेरणा मिल्यो ।

समाजमा उनले जातीय विभेद, महिला हिंसा, अन्याय भएको देखेकी थिइन् । त्यसका विरुद्ध प्रतिकार गर्न अभिव्यक्ति गर्ने क्षमता थिएन, विवेक चेतना अनुभव थिएन । अन्याय, अत्याचार, विभेदका विरुद्ध लड्न माओवादीले प्रेरित गरेको थियो । उनी जातीय विभेद, अन्याय हटाउन उनी कक्षा ८ मा पढ्ने बेला टोल इकाइ कमिटीको अध्यक्ष र दीपेन्द्र माविको विद्यालय कमिटीको सचिव भइन् ।

१५ वर्षको उमेरमै समाज रुपान्तरणका लागि समाजका विसंगति अन्त्यका लागि प्रतिवाद गर्ने आधारको रुपमा समाजलाई विकासको दिशामा लैजान राम्रो काममा लागेको छु भन्ने उनमा आत्मविश्वास थियो । यसरी समाज रुपान्तरणका लागि उनको राजनीतिक यात्रा सुरु भयो ।

उनकी आमाको नेकपा एमालेमा बढी झुकाव थियो । एमालेका कार्यक्रम नारा, जुलुसमा पनि सहभागी हुन्थिन्, आफूसँग दमयन्तीलाई पनि लैजान्थिन् । २०५८ सालमा आइए पढ्न क्याम्पसमा भर्ना भएलगत्तै संकटकाल घोषणा भयो । त्यसपछि उनी र उनका ३ जना केटी साथीले घर छोडेर हिँडेका थिए । त्यस बेला उनीहरुको उमेर १४ देखि १७ वर्षमात्र थियो । यसलाई उनी पूर्ण जीवनको सुरुवात भएको मान्छिन् । उनी माओवादीमा विद्यार्थी कार्यकर्ताको रुपमा सक्रिय भएर लागिन् । ०५८ मै जिल्ला कमिटी सदस्य भइन् ।

२०५९ मा अखिल नेपाल महिला संगठन नवलपरासीको नेतृत्वको जिम्मा पाइन् । जिल्ला अखिल नेपाल जनसांस्कृतिक संगठनको जिल्ला सदस्य हुँदै अध्यक्षको नेतृत्व पाइन् । त्यहाँ रहेर उनले महिलाका हकहितका लागि आवाज उठाउने, समूह संगठन गर्ने, सांस्कृतिक कार्यक्रम गरेर क्रान्तिकारी गीत गाएर मनोरञ्जन दिने तथा जनचेतनामूलक कार्यक्रम गर्ने, आर्थिक संकलन गर्ने जिम्मा पाइन् ।

२०५८ मै माओवादी आन्दोलन उत्कर्षमा पुग्यो । त्यो समयमा जनमुक्ति सेनाका लागि अर्थ संकलन गर्ने, खाने, बस्ने व्यवस्था गर्ने काममा उनले उल्लेखनीय भूमिका निभाएकी थिइन् । उनलाई समूहको जिम्मा थियो । ३/४ दिनसम्म भोकभोकै हिँडिन् । जंगलमै बास हुन्थ्यो । नवलपुरदेखि तनहुँ, तनहुँदेखि पाल्पासम्म लुक्दै हिँडेर पुगिन् । बिहान सँगै भएको साथी साँझ गिरफ्तार भयो रे, मर्‍यो रे भन्ने खबर आउँथ्यो । उनी दुखी हुन्थिन् तर पछि हट्न तयार भइनन् । अघि बढिरहिन् ।

क्रान्तिमा होमिँदा समाज, घर, बुबा, आमा, दाइको यादले सताउँथ्यो तर समाज परिवर्तन गर्ने भनेर हिँडेको भावनात्मक रुपमा कमजोर भइनन्, उनलाई मरिन्छ भन्ने डर पनि थिएन । एक पटकको कुरा हो, डेढगाउँ बौदीकालीमा खाना खाइरहेको बेला नेपाली सेना उनीहरु भएतिर आउँदैछ रे भन्ने सूचना पाउनासाथ उनीहरु त्यहाँबाट भागे । पाँच मिनेटमात्र सूचना ढिलो आएको भए उनी गिरफ्तार हुने थिइन् । उनको अर्काे समूहलाई नेपाली सेनाले घेराबन्दीमा पारेको थियो तर उनीहरु पनि भाग्न सफल भएका थिए ।

२०६१ मा दमयन्तीको जनवादी विवाह भयो । बिहेपछि उनी र उनका श्रीमान् नवलपुरबाट रुपन्देही सरुवा भए । १ वर्ष रुपन्देहीमा काम गरेपछि उनीहरु चितवन आए । २०६२ सालमा नेपाली सेनाले घेराबन्दीमा पारी चितवनमा उनको श्रीमान्को हत्या गरेको उनी सुनाउँछिन् । त्यस बेला उनका श्रीमान् र २०६४ सालकोे सांसद सीता गौडेलका श्रीमान्को हत्या भएको थियो । त्यो घट्नाले उनलाई असह्य पीडा भयो, उनी विक्षप्त भइन्, मानसिक तनाव भयो । पीडा भए पनि उनले हार खाइनन् भौतिक कष्टसँग प्रतिवाद गर्दै अगाडि बढिन् ।

२०६३ मा शान्ति प्रक्रिया सुरु भयो । युद्धविराम भयो । उनले टेकराज विश्वकर्मासँग पुनःविवाह गरिन् । श्रीमान्को साथ, सहयोगले नै यो स्थानमा आएको उनी बताउँछिन् । एकल महिलाले पुनःविवाह गर्न हुँदैन भन्ने रुढीवाढी परम्परालाई बेवास्ता गर्दै विश्वकर्माले रुचालसँग विवाह गरेका थिए । उनका श्रीमान् म्याग्दीमा कार्यरत छन् । उनी माओवादीको गण्डकी प्रदेशको सहसचिव हुन् ।

२०७० मा उनीहरु समाजमा फर्किएका थिए । पूर्व जनमुक्ति सेनालाई पार्टीले सेल्टरमा राखेको थियो । कसैले दिएको चन्दा, सहयोगले उनीहरुले खाने, बस्ने व्यवस्था गर्थे । त्यसपछि उनी नवलपुर माइतीमा गइन् । सुरुमा समाजका मान्छेसँग प्रत्यक्ष भेटघाट बस्न गाह्रो भयो उनले घर छोडेर हिँडेको १२ वर्ष भएको थियो । समाजसँग र आफूबीचको दूरी हटाउन उनलाई गाह्रो भएको थियो ।

जनयुद्धबाट फर्केका मानिसलाई समाजमा घुलमिल हुन सहज थिएन । अरु महिलासँग उनको कुरा मिल्थेन, अरु महिलाले गर्ने अभिव्यक्ति छलफल र उनले गर्ने कुरा फरक हुन्थ्यो । उनी रुढीबाढी परम्पराको खण्डन गर्थिन्, त्यसैले उनको आलोचना हुन्थ्यो । पार्टीले केही भत्ता दिने गथ्र्यो, त्यसबाट घर, व्यवहार चलाउन उनलाई मुस्किल पर्यो‍ । जनयुद्धबाट फर्केपछि उनको आर्थिक अवस्था निकै कमजोर थियो । सधैं माइतीमै बस्न उनको मनले मानेन ।

बुबा आमालाई कमाएर दिने बेलामा आफू उनीहरुमा भर पर्नुपर्दा उनलाई आत्मग्लानि भयो । उनले ब्युटीपार्लरको तालिम लिइन् । आफन्तसँग ऋण लिएर ब्युटीपार्लर खोलिन् । आर्थिक स्तर उकास्न व्यक्तिगत संघर्ष गरिन् । रातिको १/२ बजेसम्म पनि काम गर्थिन् । उनको व्यवसाय राम्रो हुँदै गयो, २ वर्षमै सानो घर बनाइन् । छोरीको जिम्मेवार पूरा गर्नुपर्छ भन्ने कुराले उनलाई हौसला मिल्थ्यो ।

त्यो समयमा पनि महिला संगठनमा लागिरहिन् र केन्द्रीय सदस्यसम्म भइन् । पार्टीमै निरन्तर क्रियाशील रहिन् । आर्थिक अवस्था कमजोर भएकाले र बच्चा सानो भएकाले आफूलाई पायक पर्ने ठाउँमा रहेर काम गरिन् । सँगैका साथी अपग्रेड हुँदा उनी ब्याक भइन् । २०६५ मा प्रदेश कमिटी सदस्यसमेत भएकी उनी पालिका स्तरमा जोडिएर काम गरिन् ।

आर्थिक अवस्थामा सुधार आएपछि २०७३ मा फेरि पार्टीमा बढी क्रियाशील भइन् । आफूले पार्टीलाई दिएको योगदान र समर्पणको उचित मूल्यांकन गर्न आग्रह गरिन् । तल्लो दर्जामा रहेर काम गर्न शोभा नदेला भनेर आत्मसम्मान गुमेको महसुस होला भनेर उपयुक्त ठाउँमा राख्न उनले पार्टीसँग अनुरोध गरिन् । फेरि वडा कमिटी पालिका कमिटी हुँदै २०७८ को पार्टी आठौं महाअधिवेशनबाट जिल्ला प्रतिनिधि पछि, प्रदेश कमिटी सदस्य भइन् ।

मुलुकमा धेरै उपलब्धि भए पनि अझै धेरै गर्नुपर्ने धेरै काम बाँकी रहेको रुचाल बताउँछिन् । उनी भन्छिन्, ‘पार्टीभित्रै पनि अन्तरसंघर्ष चलिरहेको छ । महिलाका सहभागिता हक, अधिकारका प्रतिनिधित्व गराउने कुरा महिलालाई अवसर दिनुपर्ने कुरा । ब्राह्मण सोच र पुरुषवादी सोचका कारण सहज छैन ।’

संविधान नयाँ आएको छ । यो रुचाललाई सबैभन्दा ठूलो उपलब्धि लाग्छ । भन्छिन्, ‘संघर्षको उपलब्धिको रुपमा अन्याय, दुव्र्यहार गर्नेका लागि कानुन बनेको छ । विभेद गर्नेलाई कारबाही हुन्छ ।’ २०७२ को संविधान बनेपछि सबैभन्दा धेरै खुसी भएकी थिइन् । ‘राजनीतिमा महिला प्रतिनिधित्व हुनुपर्छ भन्ने कुरा माओवादी ल्याएको हो ।

पार्टी योगदान दिएका आफन्त गुमाएका, अपांगता भएका पिठ्युमा बच्चा बोकेर युद्धमा लागेकाहरु पनि अहिले उपयुक्त ठाउँमा छैनन् । पार्टीबाट मूल्यांकन भएको छैन । परिचय दिएको छैन । जसले घर निर्माण गर्‍यो ऊ नै बस्न पाएको छैन । आज आएका व्यक्ति नातावाद र पहुँचले गर्दा अवसर पाएका छन्,’ उनी भन्छिन् ।

उनी राजनीतिमै निरन्तर लागिरहिन् । बच्चा पिठ्युमा बोकेर संघर्ष गरिरहिन् । दुई दशकभन्दा बढी लामो राजनीतिक यात्रा भए पनि पदका लागि उनलाई पार्टीले सार्वजनिक जिम्मेवारीमा अघि सरेको पहिलोपटक हो । र, गण्डकी प्रदेश सभा सदस्य भएकी छन् । ‘म सत्तामा पुग्नका लागि, पैसा कमाउनका लागि राजनीतिमा आएकी होइन, म अरुभन्दा फरक विचार राख्छु,’ उनले भनिन्, हिजो हामीले उठाएका मुद्दा कार्यान्वयन गराउन कति सक्छु, नीति परिवर्तन गर्न कति लड्न सक्छु, मेरो भूमिका कति पूरा गर्छु, हेर्न बाँकी छ ।’

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया