मुस्ताङमा चिसोले रोकिए योजना

सुन्दरकुमार थकाली २०७९ पुष २० गते १६:०५

जोमसोम ।
अत्यधिक चिसोले मुस्ताङमा ३ सयभन्दा बढी पूर्वाधार विकास योजनाको काम ठप्प भएको छ । मुस्ताङमा मंसिरको अन्तिमदेखि विकास निर्माणका काम रोकिएको हो । चिसोले रोकिएका काम फागुन/चैत्र महिनामा मात्र नियमित हुनेछ ।

अत्यधिक चिसो र हिमपात हुने सम्भावना रहेकाले उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला)सडक आयोजनाको मुस्ताङ खण्ड तथा संघ, प्रदेश र स्थानीय तहका दर्जनौं विकास योजना फागुन महिनासम्मका लागि रोकिएका हुन् ।

हिउँद यामको चिसो मौसममा जनशक्तिले फिल्डमा पुगेर काम गर्न सक्ने अवस्था नरहेको, परिचालन गरिएका उपकरण सहजै स्टार्ट नहुने र सडक, पुल, ड्रेन लगायतका काममा प्रयोग गरिने छड र सिमेन्टको ढलान चिसोले सेट नहुने भएकाले मुस्ताङमा विकास पूर्वाधार निर्माणको काम रोकिएको सम्बन्धित कार्यालयहरुले जनाएका छन् ।

Advertisement

मुस्ताङमा संघ, प्रदेश र स्थानीय तहका २ सयभन्दा बढी विकास योजना चिसोले प्रभावित

कोरला सडक अन्तर्गत म्याग्दी खण्डमा आशिंक सडकको काम भए पनि मुस्ताङ खण्डमा सडकको काम चिसोले प्रभावित बनेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । चिसोले बेनी जोमसोम–कोरला खण्डको करिब एक दर्जन बढी सडक पुल प्रभावित बनेका छन् । सडकतर्फ घाँसा कोवाङ र कोवाङ जोमसोम खण्डको काम अहिले ठप्पै छ ।

Advertisement

उपल्लो मुस्ताङको चराङ छोसेर २५ किमी सडक र जोमसोम कागबेनी १३ किमी सडकको काम पनि चलेको छैन । जोमसोम कोरला खण्डको लोमान्थाङदेखि छोसेरसम्मको ४ वटा सडक पुल चिसोले प्रभावित बनेका छन् । तर, निर्माण कम्पनीको ढिलासुस्तीले यसअघि नै चराङ, घमी, छुसाङ र कागबेनीमा निर्माणाधीन पुल अलपत्र छन् ।

घाँसादेखि जोमसोमसम्ममा पनि पुल चिसोले प्रभावित बनेका छन् भने केही निर्माण कम्पनीको वेवास्ताले कामअघि बढ्न सकेका छैनन् । मार्फा, छाक्ताङ खोला र सेतु खोलामा अहिले पुलको काम ठप्पै छ ।

कोवाङ जोमसोम १६ किमी सडकको काम पनि अलपत्र छ । यहाँ ठेकेदार कम्पनी बेपत्ता हुँदा सडक निर्माणको काम अलपत्र परेको हो । कम्पनीले चिसो बढ्नुअघि नै जोमसोम क्षेत्रमा आरसिसी, ड्रेन निर्माण र सडकको ग्रेड मिलाउने काम अधुरो छाडेको छ । सडक अलपत्र पारेपछि जोमसोमका पर्यटन व्यवसायी रुष्ट बनेका छन् । यहाँ सडक स्तरोन्नतिको काम सुरु गर्दा मापदण्डमा परेका घर, टहरा सरोकारवाला हटाएका थिए ।

मुस्ताङमा संघ, प्रदेश र स्थानीय तहका २ सयभन्दा बढी विकास योजना चिसोले प्रभावित बनेका छन् । सडक, पुल, ड्रेन, खानेपानी, सिंचाइ, नदी नियन्त्रण लगायत पालिकाका टुक्रे योजनाको काम चिसोले रोकिएको हो । यद्यपि कार्यालयको आन्तरिक काम, कृषिसम्बन्धी कार्य भने जारी छन् ।

मुस्ताङको घरपझोङमा संघीय आयोजना ३, प्रदेशका २ र पालिकाको ७० विकास योजना चिसोले रोकिएको गापाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए । घरपझोङमा संघीयतर्फ कोल्ड स्टोर निर्माण, ल्यान्डफिल साईड निर्माण र कालिगण्डकी नदी नियन्त्रण योजना चिसोले रोकिएका छन् । प्रदेशतर्फ कैशाङदेखि ठिनी सिंचाइ र मार्फा खोला नियन्त्रणको चिसोले अघि बढ्न नसकेको शर्माको भनाइ छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्डमा संघ, प्रदेश र स्थानीय तहका ३ दर्जन विकास योजना चिसोले ठप्पै छन् । लोघेकरमा संघीयतर्फ ४, प्रदेशतर्फ १ र पालिकाको समानीकरण बजेटका योजना २७ वटाको काम चिसोले प्रभावित बनेको प्रशासकीय अधिकृत प्रकाश घिमिरेले जानकारी दिए । लोघेकरमा संघ र प्रदेशका योजना ५० लाखदेखि १ करोड ३० लाखसम्मका छन् ।

वारागुङ मुक्तिक्षेत्रमा पनि विकासको काम ठप्प छ । वारागुङमा संघीय १ र प्रदेशका २ योजना छन् । पालिकाको योजना ६० भन्दा बढी रहेको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए ।

वारागुङमा सिंचाइ, ढल लगायतका १ करोढ ८० लाखको विभिन्न योजना चिसोले काम हुन सकेको छैन । लोमान्थाङ गापामा पनि झन्डै ५३ वटाभन्दा बढी विकास योजनाको काम चिसोले प्रभावित बनेको गापाका सबइन्जिनीयर उदयराज शर्माले बताए ।

लोमान्थाङमा संघतर्फ २ र प्रदेशतर्फ २ गरी ४ वटा योजना छन् । जसमध्ये सशर्त अनुदानको घुम्ती विद्यालयको अनुदानले पोखरामा पठनपाठन सञ्चालनमा छ । तर, नदी नियन्त्रण, खेलग्राम र मोटर बाटो निर्माणको ठप्प छ ।

उनका अनुसार गापाको ४८ वटा साना योजना पनि चिसोले रोकिएका बताए । थासाङ गापामा पनि संघ, प्रदेश र स्थानीय तहको करिब ४ दर्जन योजनाको काम चिसोले अघि बढ्न नसकेको प्रशासकीय अधिकृत नरेन्द्र सुवेदीले जानकारी दिए ।

मुस्ताङमा प्रदेशतर्फका विकासे कार्यालयहरुको काम पनि चिसोले प्रभावित बनेका छन् । खानेपानी जलस्रोत तथा सिंचाइ विकास सबडिभिजनका ४३ वटाभन्दा बढी विकासका योजना छन् । कार्यालय अन्तर्गत ताक्लुङ–कुञ्जो सिंचाइ पाइप बिच्छ्याउनेबाहेक अरु सबै योजना चिसोले स्थगित भएको कार्यालय सबइन्जिनीयर प्रतापराम सार्कीले जानकारी दिए । बहुवर्षीय योजनाको जिम्मेवारी सरेका खानेपानीतर्फ १३ र सिंचाइतर्फ १६ योजनाको काम हुन सकेको छैन । चाल वर्षका १६ खानेपानी र सिचाइका १० योजना छन् । सबै विकासका काम चिसोले रोकिएका छन् ।

पूर्वाधार विकास कार्यालय मुस्ताङका पनि करिब दर्जन विकास योजनाको काम रोकिएको छ । प्रदेश गौरवका ५ योजनामध्ये १ योजना सकिएको छ भने अरु ४ वटा निर्माणाधीन छन् । यी योजनाको काम अहिले ठप्प रहेको कार्यालयका सूचना अधिकारी रविन चोख्यालले जानकारी दिए ।

कार्यालय अन्तर्गत सम्झौता भई ठेक्का लागेका ४ योजना र वातावरण प्रभाव मूल्यांकन (इआइए) स्वीकृत नभई कामअघि बढ्न नसकेका ३ वटा योजनाको कामअघि बढ्न नसकेको सूचना अधिकारी चोख्यालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यवन इकाइ अन्तर्गत च्यांग्रा र स्याउ सम्बन्धित कार्यक्रम आशिंकमात्र सञ्चालनमा छन् । प्रदेशको कृषि ज्ञान केन्द्र कार्यालयको पनि अनुदानका कार्यक्रम र तालिम आदि संञ्चालनमा छन् । डिभिजन वन कार्यालयले पनि आंशिक रुपमा काम गरिरहेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया