‘महानगरलाई बालमैत्री बनाउन योजनाबद्ध काम’

समाधान संवाददाता २०७९ पुष २१ गते ११:००

पोखरा ।
बाल अधिकार तथा संरक्षण, शिक्षा र जीविकोपार्जनको क्षेत्रमा काम गर्ने राइट फर चिल्ड्रेनले दशौं स्थापना दिवस मनाएको छ । कार्यक्रममा अहिलेसम्म गरेका कार्यक्रमको समीक्षा, सामाजिक लेखा परीक्षण् समेत गरिएको संस्थाका अध्यक्ष दीपेन्द्र राईले जानकारी दिए ।

पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पोखरा महानगरलाई बालमैत्री बनाउनका लागि योजनाबद्ध ढंगले काम गरेको बताइन् । ‘धेरै सूचक पूरा गर्न नसक्दा बालमैत्री महानगर घोषणा गर्न सकेका छैनाैं,’ उपमेयर गुरुङले भनिन्, ‘बालबालिका वर्तमानका साझेदार हुन् । बालबालिकालाई केन्द्रविन्दुमा राखेर कार्यक्रम तथा योजना सञ्चालन गरिनेछ ।’

उनले सामाजिक संघ, संस्थासँगको समन्वय र सहकार्यमा शिक्षा, स्वास्थ्य र बालबालिकाको क्षेत्रको कार्यक्रम अगाडि बढाएको बताइन् । उनले महानगरको परियोजना सल्लाहकार समिति, सबै विषयगत महाशाखा तथा स्थानीय जनप्रतिनिधिसँगको समन्वय गरी कार्यक्रम लैजान सुझाव दिइन् ।

Advertisement

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बाल संरक्षण तथा युवाको जीविकोपार्जनसम्बन्धी संस्थाको कार्यक्रमलाई महानगरले अपनत्व ग्रहण गर्ने बताए । उनले सबै कार्यक्रमलाई आगामी योजनामा समेट्ने उल्लेख गरे ।

शिक्षा विकास तथा समन्वय इकाई कास्की प्रमुख नारायणप्रसाद सुवेदीले सबै सामाजिक संघ, संस्था सरकारी नीति अन्तर्गत चलेर राज्यका निकायलाई सहयोग गर्ने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेश कमिटी कार्यवहाक अध्यक्ष पदमराज पहारीले सरकारले दिगो रुपमा लगानी गर्नुपर्ने बताए ।

Advertisement

सरकारको बजेट र कार्यक्रम नपुग्ने ठाउँमा सामाजिक संघ, संस्थाले कार्यक्रम गर्ने जानकारी दिँदै उनले संघ, संस्थाका नमुना योग्य कार्यक्रमलाई सरकारले स्वामित्व ग्रहण गर्नुपर्ने उल्लेख गरे । संस्थाका कार्यकारी निर्देशक अनिल पौडेलले संस्था एक्लैले केही गर्न नसक्ने तथा परियोजना पनि दिगो हुन नसक्ने चर्चा गरे ।

उनले संघ संस्थाका नमुना योग्य कार्यक्रमलाई सबैले अनुशरण गर्नुपर्ने बताए । स्थानीय आवश्यकता र माग अनुसारका परियोजना सञ्चालन गरेको दाबी गर्दै उनले प्रति वर्ष ३ हजार ३ सय जनाले प्रत्यक्ष सेवा पाएको जानकारी दिए । सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक भएको उल्लेख गर्दै उनले सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधार आवश्यकताभन्दा बढी अपेक्षा गरिएको दाबी गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा संस्थाका वित्त तथा प्रशासनिक व्यवस्थापक कृति श्रेष्ठले जोखिमबाट सुरक्षा तथा किशोरी र युवा महिलालाई सामाजिक सेवामा पहुँच पुर्‍याउने प्रयास परियोजनाको बारेमा प्रकाश पारिन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७, १५, १७ र २२ का वडा अध्यक्षहरु क्रमशः राममोहन आचार्य, तोरणबहादुर बानियाँ, राधिका शाही योगी, हिमलाल बराल, व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटीइभिटी) गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्य, क्षेत्रीय होटल संघका अध्यक्ष लक्ष्मण बराल लगायतले सामाजिक संघ संस्थाका कार्यक्रमका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया