संकटा आहा रारा च्याम्पियन

रिखिराम जिसी २०७९ पुष २४ गते १०:४०

पोखरा ।
२२ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अमेरिकी क्लब भुटनिज युथ क्लबलाई ३–२ ले पराजित गर्दै संकटाले दोस्रो पटक उपाधि उचालेको हो ।

निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । रोमाञ्चक बनेको खेलमा अतिरिक्त समयको २७ औं मिनेटमा संकटाले गोल गर्दै ३–२ को जित निकालेको हो । संकटाले खेलका पहिलो हाफको सुरुआतमै लिएको २–० को अग्रता लिएको थियो ।

संकटाका सुरजज्यू ठकुरीले ८ औं मिनेटमा गोल गर्दै संकटालाई पहिलो अग्रता दिलाएका थिए । निशान खड्काको क्रसलाई भुटनिजका गोलकिपर पुजन थापामगरले रोकेका थिए । तर, सोही बल रिबाउन्ड हुँदा सुरजले गोल गरे ।

Advertisement

विदेशी मेसुके ओलामोउले ३५ औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए । कप्तान सुनील बलको कर्नरमा मेसुकेले गोल गरेका थिए । तर, त्यसको २ मिनेटमै भुटनिजले गोल फर्कायो ।

भुटनिजका रेने सान्टिलोनले ३७ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा भुटनिजले गोल गर्दै खेललाई बराबरीमा पु¥यायो । विल्स ग्रिफितले हेडमार्फत् गोल गरेसँगै खेल रोमाञ्चक बन्यो ।

Advertisement

अमेरिकी क्लब भुटनिज युथलाई रोमाञ्चक खेलमा पराजित गर्दै संकटले दोस्रो पटक आहा राराको उपाधि उचालेको छ

त्यसपछि भने निर्धारित समयमा दुवैतर्फबाट गोल हुन सकेन । त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको २७ औं मिनेटमा २ विदेशी खेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनीलले गोल गर्दै संकटालाई जित दिलाएका हुन् । मेसुके ओलामाऊले अघि बढाएको बललाई स्टेफन बिनोङले निकालेको पासमा सुनीलले गोल गरेका हुन् ।

जितसँगै संकटाको दोस्रो पटक उपाधि जितेको हो । यसअघि १९ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि संकटाले जितेको थियो । फाइनलमा अफ्रिकन रुट्सलाई हराउँदै संकटाले उपाधि जितेको थियो । विजेता संकटाले १२ लाख रुपैयाँ पाएको छ । फाइनलमा पराजित भएको भुटनिज युथ क्लबले ६ लाख रुपैयाँ पाएको छ ।

संकटाका सुनील सर्वोकृष्ट खेलाडी
संकटा क्लबका कप्तान सुनील बल २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । केही दिनअघि संकटामा आबद्ध भएका बल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

सर्वाेत्कृष्ट खेलाडी चुनिएका उनले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर प्राप्त गरे । उनलाई टेल्जी नेपालका निर्देशक सञ्जीव शिल्पकारले स्कुटरको साँचो हस्तान्तरण गरे ।

संकटालाई फाइनल जिताउन सुनील बलले १ गोल गरेका थिए । उनले खेल बराबरी रहेको अवस्थामा अन्तिम समयमा गोल गरेका थिए । व्यक्तिगत अवार्डमा पनि संकटाको वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक संकटाका टिकेन्द्र थापा, उत्कृष्ट मिडफिल्डरमा संकटाकै आयुष घलान, उत्कृष्ट फरवार्डमा स्टेफन बिनोङ, उत्कृष्ट प्रशिक्षकमा सल्याण खड्की चुनिए ।

उत्कृष्ट गोलकर्ता संकटाकै मेसुके ओलेमोउ भए । उनले प्रतियोगिताभर ४ गोल गरे । भुटनिज युथका हेक्टर ओर्टेगा उत्कृष्ट रक्षक घोषित हुँदा धरान एफसी फेयर प्ले टोली चुनियो ।

टिकट काटेकालाई सित्तैमा ओपिडी सेवा
२२ औं संस्करणको आहा ! रारा गोल्ड कपको फाइनल खेलको टिकट काटेर हेर्ने दर्शकका लागि चरक मेमोरियल अस्पतालले निशुल्क ओपिडी सेवाको व्यवस्था गरेको छ । दर्शकले फाइनलको टिकट लगेर गएमा अस्पतालबाट निशुल्क ओपिडी सेवा प्रदान हुनेछ । ३ दिनभित्र दर्शकले यो सेवा लिइसक्नुपर्ने अस्पतालले जनाएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया