पाेखरा २४ का वडाध्यक्ष अधिकारीविरुद्ध जाहेरी

समाधान संवाददाता २०७९ पुष २५ गते १०:२६

पोखरा ।
दलित महिला सदस्यलाई जातीय दुव्र्यवहार तथा छुवाछुत गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार किटानी जाहेरी दर्ता भएको छ ।

सोही वडाका सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभावसम्बन्धी कसुरमा वडा अध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाज पोखरा महानगर कमिटी अध्यक्ष हरि सुनारले जानकारी दिए । शुक्रबार प्राविधिक कारणले जाहेरी दर्ता भएको थिएन ।

जाहेरीमा सार्वजनिक पद धारण गरेका वडाध्यक्ष अधिकारीले नेपालको संविधान तथा जातीय तथा सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय)ऐन विपरीत काम गरेको दाबी गरिएको छ । त्यसैले सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत बढी सजायको माग गरिएको अधिवक्ता शिव सुनारले जानकारी दिए ।

Advertisement

पीडित जनप्रतिनिधि नेपालीलाई न्याय दिलाउनका लागि गठित उत्पीडित समुदाय संघर्ष समिति कास्कीले जाहेरी दर्ता गरेपछि गैह्रापाटनमा कोण सभा गरेको छ । कोण सभामा वडा सदस्य मैया नेपालीले आफू महिला र दलित भएकै कारणले अपहेलना र विभेद खेप्नुपरेको बताइन् ।

मुक्ति समाज पोखरा महानगर कमिटी अध्यक्ष सुनारले सबै राजनीतिक दलसँग निकट उत्पीडित समुदायका संघ, संगठन तथा दलितसँग सम्बन्धित संस्थाले जातीय दुव्र्यवहारजन्य घटनाको विरुद्ध संघर्षअघि बढाउने निर्णय गरेको जानकारी दिए ।

Advertisement

उनले घटनाका दोषीलाई कानुनी कारवाहीको दायरामा नल्याउँदासम्म संघर्षका कार्यक्रमलाई निरन्तरता दिइने बताए । संघर्ष समितिले जातीय रुपमा भेदभाव गर्नेलाई कानुनी कारवाही गर्नको लागि सहयोग गर्न प्रहरी प्रशासन, राजनीतिक दल तथा न्यायिक निकायसमक्ष अपिलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया