लोमान्थाङबासीलाई सरकारी ज्याकेट

समाधान संवाददाता २०७९ पुष २६ गते १२:४५

जोमसोम ।
तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ५ वटै वडाका प्रत्येक घरधुरीलाई ज्याकेट वितरण गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन कोषको १० लाख बजेटमार्फत ५ सय ५० थान न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छिमी बिष्ट, वडाध्यक्ष र कर्मचारीले प्रत्येक वडामा पुगेर ज्याकेट वितरण गरेका हुन् । गाउँपालिकाले प्रत्येक घरमा कुरुवा बसेका स्थानीयलाई ज्याकेट वितरण गरेको अध्यक्ष टसीनर्बुले जानकारी दिए ।

पालिकाले कोटेसनमार्फत न्यानो कपडा खरिद गरी प्रत्येक वडाहा पुगेर वितरण गरेको प्रशासन प्रमुख विकास केसीले बताए । हिउँद यामको चिसो मौसममा जाडो छल्न बेसी नझरी गाउँमा बसेका स्थानीय ज्याकेट पाउँदा खुसी छन् । अत्यधिक चिसो मौसममा जनप्रतिनिधि र कर्मचारी घरदैलोमा ज्याकेट वितरण गर्न आउँदा स्थानीय हर्षित बनेका हुन् ।

Advertisement

उपल्लो मुस्ताङका अधिकांश मानिस जाडो छल्न बेसी झर्ने परम्परा छ । अहिले उपल्लो मुस्ताङका ८० प्रतिशत बासिन्दा जाडो छल्न बेसी झरिसकेका छन् । बेसी झरेकाहरु कतिपय हिउँदे घुमन्ते व्यापारमा छन् । उनीहरु गर्मीयाम लागेपछि उक्लिने चलन छ । उपल्लो मुस्ताङमा अहिले गावै रित्तो जस्तै छ । गाउँमा घर कुरुवा, पशुचौपाया हेर्ने गोठालामात्र छन् ।

उपल्लो मुस्ताङमा अहिले अत्यधिक चिसो छ । त्यहाँ दिउँसो केही घाम लागे पनि बिहान र बेलकीको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । अत्यधिक चिसोले उपल्लो मुस्ताङको जनजीवनसमेत कष्टकर बनेको छ । चिसोले धारा, कुलो, नदी र घरका सेफ्टी ट्याङ्की जम्ने गर्छ । उपल्लो मुस्ताङमा पर्यटन गतिविधिसमेत ठप्प छन् ।

Advertisement

तपाईको प्रतिक्रिया