विपन्न महिलालाई युएनडिपीको साथ

राकेश शर्मा २०७९ माघ ११ गते १३:३१

बेनी ।
म्याग्दीको बेनी नगरपालिकाका सय विपन्न महिलाको जीविकोपार्जनमा सघाउन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले ४० लाखभन्दा बढी अनुदान वितरण गरेको छ ।

युएनडिपीबाट पाएको सहयोग रकमलाई परिचालन गरेर महिला आयआर्जनमा अग्रसर भएका छन् । पोखरा विश्वविद्यालयका विद्यार्थी परिचालन गरेर युएनडिपीले बेनी नगरपालिकामा १ सय ८६ जना विपन्न महिला पहिचान गरेको थियो ।

पहिचान भएकामध्ये १ सय जनालाई पछिल्लो १ वर्षको अवधिमा युएनडिपीले राष्ट्रिय वाणिज्य बैंकमार्फत ४० हजार ५ सयका दरले ४० लाख ५० हजार उपलब्ध गराएको छ । १३ हजार ५ सय का दरले ३ किस्तामा रकम उपलब्ध गराइएको हो ।

Advertisement

बेनी नगरपालिका ४ टिमिलाखर्ककी सुन्तली दर्जीले सहयोग रकमबाट बाख्रापालन सुरु गरेकी छन् । ‘पहिलो र दोस्रो किस्ता अनुदानबाट ४ बाख्रा किनेको छु । अहिले ९ वटा बाख्रा छन्,’ उनले भनिन्, ‘तेस्रो किस्ताको रकमबाट नयाँ खोर बनाएर बाख्रापालनलाई निरन्तरता दिन लागेकी छु ।’

ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका सुन्तलीका २ सन्तान छन् । छोरालाई क्याम्पस र छोरीलाई स्कुल पढाउन तथा घरखर्च चलाउने स्रोत बाख्रापालनलाई बनाउने सुन्तलीले सुनाइन् ।

Advertisement

बेनी नगरपालिका ४ राक्सेकी रुपा सुनारले पनि युएनडिपीले उपलब्ध गराएको अनुदानबाट बाख्रापालन थालेकी छन् । रुपाका श्रीमान डम्मरले आरन व्यवसाय गर्दै आएकी छन् । श्रीमतीले बाख्रापालन गरेपछि आयस्रोत बढ्ने र घरव्यवहार चलाउन सजिलो हुने डम्मरको भनाइ छ ।

राक्सेकी बिजुली विकले सहयोग रकमबाट बाख्रा र कुखुरा पालेकी छन् । बाख्रा, कुखुराबाट भएको आम्दानीबाट औषधी उपचार र घरखर्च जुटाउन सजिलो भएको बिजुलीको अनुभव छ ।

बिजुलीको घरमा ३ सदस्य बोल्न सक्दैनन् । कोरोना (भाइरस) को महामारी फैलिएपछि रोजगारी गुमाएर समस्यामा परेका विपन्न महिलाको आधारभूत आवश्यकता परिपूर्तिका लागि सम्बोधन परियोजना अन्तरगत अनुदान उपलब्ध गराइएको थियो ।

गण्डकी प्रदेशको वालिङ र पुतलीबजार नगरपालिकामा ४ सय विपन्न महिलालाई अनुदान दिएको थियो । अनुदान रकम खर्च गर्न कुनै शर्त थिएन ।

बेनी नगरपालिकासँग समन्वय गरेर पहिचान भएका महिलाको बैंक खाता खोल्न सहजीकण गरेको गैरसरकारी संस्था संगम म्याग्दीका कार्यकारी निर्देशक दीपक पौडेलले अधिकांश महिलाले अनुदानलाई आयआर्जनमूलक क्षेत्रमा परिचालन गरेको पाइएको बताए ।

‘केहीले खाद्यान्न र घरखर्चमा परिचालन गरेपनि धेरैले बाख्रा, कुखुरापालन, साना व्यवसाय जस्ता आय आर्जनमूलक क्षेत्रमा लगानी गरेका पाइयो,’ उनले भने, ‘स्थानीय तहले आयआर्जनमा अग्रसर महिलाको प्रयासलाई सघाउने र निरन्तरता दिने हो भने उनीहरुको आर्थिक अवस्था सुधार र गरिबी निवारणमा सहयोग पुग्ने देखिन्छ ।’

अपाङ र अशक्त महिलाले अरुलाई अधियामा बाख्रा र कुखुरा पाल्न दिएका छन् । युएनडिपीको अनुदान पाउनबाट छुटेका ८६ विपन्न महिलालाई समेट्न नगरपालिकाले पहल गर्नुपर्ने पौडेलको भनाइ छ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया