९९ महिलाले चलाएको रेष्टुराँ

राष्ट्रिय समाचार समिति (रासस) २०७९ माघ १७ गते १२:२७

पोखरा ।
संख्या विज्ञानमा अंक ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको सुरुवात हो । गणना विधिमा २ अंकको चक्र ९९ सकिन्छ र ३ अंकको चक्र सुरु हुन्छ । धार्मिक हिसाबले अंक९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको संकेत यो अंले दिन्छ ।

९९ जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो । जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ ।

फरक कार्यशैलीबाट व्यवसायिक क्षेत्रमा लाग्ने र प्रतिस्पर्धाको दौडमा होमिने आँट गर्ने सबै महिला छन् । गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गरिरहेका छन् ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर १० को बुद्ध चोकमा महिलाहरुको सामूहिक प्रयासमा साढे २ करोड लगानीमा रेस्टुराँ सुरु भएको हो । उनीहरु सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत एकआपसमा जोडिए । कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैंकेट चलाए ।

गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर फरक, चुनौतीपूर्ण र नमूना काम गरिरहेका छन्

Advertisement

महिला सशक्तीकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरुले रेस्टुराँ सुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन् । पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिला एकजुट भई दिदीबहिनी किचन स्थापना गरेका हुन् ।

‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ । विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महसुस भएपछि रेस्टुराँ सुरु गरेका हौं,’ गुरुङले भनिन् ।

महिला एकताबद्ध भएर भइ सञ्चालन गरेको यो व्यवसाय आफैँमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्य अध्ययन तथा अवलोकनका लागि आउने गरेका छन् । रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्य जोडिएका भए पनि छुट्टै कम्पनी हो । यो प्राइभेट लिमिटेडका रुपमा दर्ता छ ।

हरेक सदस्यले समान साढे २ लाख लगानी गरेका छन् । रेष्टुराँमा सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने १ सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ । एउटा रेन्टुराँ चलाउनका लागि उनान्सय जनाको लगानी किन ? ‘यसको सांकेतिक अर्थ त छ नै । व्यवहारिक रुपमा पनि यस्तो हुन गयो ।

प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ । नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौं’, सञ्चालक गुरुङले भनिन् । कोभिड १९ महामारीभन्दा केही समयअघि मात्र सुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो ।

व्यवसाय पूर्णरुपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो । तर दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन । ३ वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० कर्मचारी छन् । व्यवसाय सुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८/७९ मा भने लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिन सफल भएको छ ।

दिदीबहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरु सामाजिक काममा पनि खटिन्छन् । यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौं । कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमूलक काममा पनि खटाउने गरेको उनको भनाइ छ ।

सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ । यहाँ सदस्य आफै) सेवामा खटिन्छन् । लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एक पटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन; खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकुन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया