ज्ञानुबाबा माविको ३९ औं वार्षिकोत्सव

समाधान संवाददाता २०७९ फागुन १ गते ११:३४

पोखरा ।
मिरुवामा अवस्थित ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ३९ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं विविध सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदीले विद्यालयको ३९ वर्षसम्मको यात्रा एवं समग्र विकासको श्रेय विद्यालय सञ्चालक, शिक्षक, कर्मचारीको लगाव भएको बताए ।

कार्यक्रममा वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, राष्ट्रिय महिला भलिबल टिम कप्तान अरुणा शाही, समाजसेवी मिस युके नेपालकी डाइरेक्टर शान्ति गुरुङ, विद्यालयका शिक्षकहरु दीपा दाहाल, शान्त घले, पूर्णकुमारी घलेलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

Advertisement

कार्यक्रममा शैक्षिक सत्र २०७६, २०७७ र २०७८ को विद्यार्थीहरूको पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालयको अक्षयकोषबाट २५ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विशेष अतिथि प्याब्सन कास्की अध्यक्ष मथुरा पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष दिवसमान प्रधानांग, समाजसेवी खगेन्द्र पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गण्डकी खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले विद्यालयले शिक्षा र खेलकुदको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङले विद्यालयको प्रगति विवरण एवं भावी योजनाका बारेमा जानकारी दिइन् ।

Advertisement

कार्यक्रममा स्वागत शिक्षक शरण सापकोटा र विद्यार्थी प्रिया श्रेष्ठले गरे । कार्यक्रम सञ्चालन बाबुराम सुवेदीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया