गाउँकै स्कुलबाट इलेक्ट्रिकल इन्जिनियर

राकेश शर्मा २०७९ फागुन २ गते ११:१६

राकेश शर्मा, म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ गाउँमा अहिले १० जलविद्युत आयोजना बनिरहेका छन् । केही आयोजनाको काम सकिएर विद्युत उत्पादन सुरु भएको छ ।

यही गाउँमा रहेको प्राभा माविमा सञ्चालनमा रहेको प्राविधिक धारतर्फको ‘इलेक्ट्रिकल इन्जिनियरिङ’मा विद्यार्थीको आकर्षण बढेको छ ।

ओमराज बरुवाल केही वष अघि राम्रो शिक्षा अध्ययनका लागि पोखरा पुगे । पोखरामा पढाइ राम्रो नै चलिरहेको थियो । तर उनलाई पोखराको पढाइले जागिर पाउन मुस्किल हुने महसुस भयो ।

Advertisement

परिवार र आफूले रोजेको बिषय बढ्न उनी नारच्याङ फर्किए । उनले भने, ‘यहाँ अध्ययन गरेपछि रोजगारीको अवसर पनि बढी हुने र नेपालमा नै बस्न पाइने भएकाले प्राविधिक तर्फको इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न आएको छु ।’

उनीमात्र होइन, नारच्याङकी रितु पुर्जा पनि आफूले आधारभूत शिक्षा लिएको विद्यालयमा नै प्राविधिक शिक्षा पढ्ने सोचमा छिन् । उनी भन्छिन्, ‘मलाई इलेक्ट्रिकल इन्जिनियरिङ बन्न मन थियो, गाउँमा नै दर्जनौं हाइड्रो छन् ।

Advertisement

यहाँ इन्जिनियर बाहिरबाट ल्याउनुपर्छ, त्यसमा पनि पाउन निकै मुस्किल हुन्छ, त्यसैले मैले पनि यही बिषय पढ्ने सोचेकी हुँ ।’
कक्षा ९ देखि प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न पाइन्छ । रोजगारीको ग्यारेन्टीका लागि प्राविधिक धारतर्फ अध्ययनअघि बढाएको कक्षा १० का विद्यार्थी सोनिया थजालीले सुनाइन् ।

‘गाउँमै कक्षा १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्न पाउने अवसर बनेपछि हामी हर्षित छौं,’ उनले थपिन्, ‘साधारणतर्फको शिक्षाबाट भविश्यमा बाटो पहिल्याउन कठिन भएकाले इलेक्ट्रिकल इन्जिनियरिङ रोजेकी हुँ ।’

इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ९ देखि १२ सम्म अध्ययन गरेपछि सबइन्जिनियर बनिन्छ । प्राविधिक धारतर्फको यो अध्ययनपश्चात घरको वाइरिङ, फ्यान, जेनेटर, ब्याट्री, ट्रान्सफर्मर लगायतका विद्युतीय उपकरण मर्मत गर्न विद्यार्थी सक्षम हुने विद्यालयका इलेक्ट्रिकल इन्जिनियर शिक्षक सुरज आचार्यले बताए ।

‘हामीले प्रयोगात्मक रुपमा विद्यार्थीलाई शिक्षा दिँदै आएका छौँ, यसले विद्यार्थीमा सिक्ने ऊर्जा बढेको छ । किताबको ज्ञानभन्दा प्रयोगात्मक ज्ञान सिक्न सजिलो हुन्छ ।’

जलविद्युत आयोजनालाई चाहिने जनशक्ति उत्पादनसँगै भविष्यमा रोजगारका लागि अवसर सिर्जना गराउन लागि प्राविधिक धारतर्फको पठनपाठन सुरु गरिएको हो । यो विद्यालयबाट आगामी वैशाखमा २१ ओभरसियर तयार हुँदै छन् ।

२०७६ साउनदेखि प्रभा माविले प्राविधिक धारतर्फ कक्षा ८ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङको पठनपाठन सुरु गरेको हो । सुरुवातमा २१ विद्यार्थी रहेकोमा अहिले ६० जना छन् ।

इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका साथै रघुगंगा गाउँपालिका र पर्वत, बागलुङ, कास्की लगायतका जिल्लाबाट समेत विद्यार्थी आएको प्रधानाध्यापक अनमोल भण्डारीले बताए ।

‘गाउँका विद्यार्थीमा प्राविधिक धारतर्फ आकर्षण भए पनि जिल्लाका अन्य क्षेत्रका विद्यार्थी खोज्न जानुपर्ने अवस्था छ,’ उनले भने । विद्यालयमा भौतिक संरचना भए पनि सोचे अनुरुप विद्यार्थी अझै नआएको उनले सुनाए ।

पछिल्लो समय विद्यार्थीले रोजगारीका लागि प्राविधिक शिक्षा रोज्न थालेका हुन् । गण्डकी प्रदेश सरकारले आवास सुविधासहितको निःशुल्क प्राविधिक शिक्षा यहाँ सुरु गरेको हो । एक पालिका एक प्राविधिक शिक्षा अवधारणमा प्रदेशले सहयोग गरेको हो ।

१० वटा जलविद्युत आयोजना निर्माणाधीन रहेको नारच्याङमा प्रयोगात्मक अभ्यास सहितको शिक्षण हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज गुरुङले बताए ।

एक जलविद्युत आयोजनामा कम्तीमा २० भन्दा बढी इन्जिनियर चाहिन्छ । विद्यालयमा निशुल्क छात्रावास, चमेनागृह लगायतका सुविधा छन् । न्यून खर्चमा आवासीय सुविधासहित अध्ययन गर्न पाउने अवसरले विद्यार्थी उत्साहित छन् ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया