बिबिसीको दिल्ली र मुम्बई कार्यालयमा छापा

समाधान संवाददाता २०७९ फागुन ३ गते १२:३६

काठमाडौं ।
बिबिसीको दिल्ली र मुम्बई कार्यालयमा भारतस्थित आयकर विभाग (आइटी) को टोलीले छापा मारेको छ । आईटीका ६० देखि ७० जना सदस्यले बिबिसीको कार्यालयमा छापा मारेका हुन् ।

समाचारअनुसार यो छापाका क्रममा सबै पत्रकार र कर्मचारीको फोन खोसेर बन्द गरिएको छ । कार्यालय परिसरमा कसैलाई आउन जान पनि निषेध गरिएको थियो । बिबिसी इन्डिया व्यस्थापनले छापा मारिएको सूचना लन्डनस्थित केन्द्रीय कार्यालयमा दिएको छ ।

आयकर विभाग सूत्रका अनुसार, बिबिसीमाथि अन्तर्राष्ट्रिय कारोबारका क्रममा करमा गडबडी गरेको आरोप छ । यसलाई लिएर त्यहाँ छापा मारिएको हो । तर पनि आयकर विभाग र बिबिसीको तर्फबाट यस छापामारीबारे आधिकारिक कु्नै जानकारी दिइएको छैन ।

Advertisement

यता, प्रमुख प्रतिपक्षी कांग्रेसले ट्वीट गर्दै सरकारको यो कदमलाई आपत्तिजनक भनेको छ । बिबिसीको कार्यालयमा छापा मारिएपछि कांग्रेस महासचिव जयराम रमेश अडानी मामिला छाडेर नरेन्द्र मोदी नेतृत्वको सरकार बिबिसीको पछि लागेको आरोप लगाएका छन् ।

‘यहाँ हामी अडानी मामिलामा जाँचको माग गरिरहेका छौँ, उता सरकार बिबिसीको पछि लागेको छ । विनाशकाले विपरीत बुद्धि’, उनले भनेका छन् । रमेशले मंगलवार केन्द्र सरकार अडाणी–हिन्डनबर्ग मामिलामा जाँच गर्नबाट भागिरहेको बताएका हुन् ।

Advertisement

कार्यालयमा आयकर विभागको छापालाई लिएर त्रिणमूल कांग्रेसका सांसद महुआ मोइत्राले चकित पार्ने खबर भनेका छन् । यसअघि बिबिसीले मोदी सरकारमाथि गम्भीर आरोप लगाउँदै एउटा डकुमेन्ट्री बनाएको थियो ।

सन् २००२ को गुजराँत दंगाका क्रममा प्रधानमन्त्री मोदीको नेतृत्वलाई लिएर प्रश्न उठाउँदै केही महिनाअघि बिबिसीले डकुमेन्ट्री ल्याएको थियो । यो डकुमेन्ट्रीका कारण आक्रोशित मोदी सरकारले त्यसको प्रसारणमा पनि रोक लगाइसकेको छ । मोदी सरकारले डकुमेन्ट्रीको कुनै क्लिप पनि सामाजिक सञ्जालमा सेयर गर्न दिएको थिएन ।

उक्त डकुमेन्ट्रीले गुजरात दंगामा मोदीको भूमिकाको चर्को आलोचना गरेको थियो । सूचना तथा प्रसारण मन्त्रालयले बिबिसी डकुमेन्ट्री ‘इन्डिया: द मोदी क्वेसन’को पहिलो भागका युट्युब भिडियो र उक्त भिडिओ लिंक गरिएका ५० भन्दा बढी ट्वीट हटाउन निर्देशन दिएको थियो ।

ती साम्रगीलाई सन् २०२१ को आईटी नियम अन्तर्गत आपतकालीन शक्तिको प्रयोग गरेर ब्लक गर्न भनिएको थियो । गत जनवरी १७ मा प्रसारित दुई भागको शृंखलाको वृत्तचित्रको पहिलो भागले राजनीतिज्ञका रूपमा मोदीको प्रारम्भिक वर्ष र सत्ताधारी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)मार्फत उनको उदयबारे व्याख्या गरेको थियो ।

तपाईको प्रतिक्रिया