नवदीप स्कुलको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ फागुन २२ गते ११:४०

पोखरा ।
पोखरा–१०, शिवचोकमा सञ्चालित नवदीप इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न गरेको छ । विद्यालयका संस्थापक गीतकार तथा समाजसेवी एकेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन साहित्यकार सरुभक्तले गरेका थिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका उनले शिक्षालयहरूले विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नुपर्नेमा जोड दिए । नवदीपका विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक प्रस्तुति तथा नाटकबाट आफू प्रभावित भएको भन्दै सरुभक्तले कला र संस्कृतिलाई विद्यालयले दिएको उच्च सम्मानप्रति प्रशंसा गरे ।

विद्यालयकी प्रिन्सिपल कौशल्या गुरुङले विगतमा अत्यन्त कठिन परिस्थितिमा पनि नवदीपप्रति अभिभावकले दिएको विश्वासका कारण विद्यालयले प्रगति गरेको बताइन् । कोरोनाको समयमा विद्यालय गरेका असल अभ्यासहरुको चर्चा गर्दै उनले सहकर्मी शिक्षक/कर्मचारीले पैसाभन्दा माथि उठेर विद्यार्थीको हितका लागि गरेका प्रयासप्रति आभार प्रकट गरिन् । उनले विद्यालयले अभिभावकहरूको मागबमोजिमको विद्यार्थीमैत्री सिकाइ गरिरहेको बताइन् ।

Advertisement

प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले नवदीपको विगत सम्झँदै अहिलेको जुझारु टिमले व्यवस्थापनको जिम्मा लिएपछि निकै राम्रो विद्यालयका रूपमा आफूलाई स्थापित गरेको बताए । उनले आजका बालबालिकामा नवदीपले जगाएको सांस्कृतिक मोहको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीहरूलाई संस्थापकहरू मगन श्रेष्ठ, आशिष गुरुङ, चित्रकुमार गुरुङ, हिसानका दिवाकर जैसी, प्याब्सनकी उपाध्यक्ष उमा लामिछाने, नीलगिरी बोर्डिङ स्कुलकी रामु गुरुङ, तुम धीँकी संस्थापक अध्यक्ष कर्मा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । शिक्षक सरोज खनालद्वारा सञ्चालित कार्यक्रममा निर्देशक चित्रकुमार गुरुङले स्वागत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया