पृथ्वीनारायण क्याम्पसमा ताला नखुल्दा भएन उम्मेदवारी दर्ता

समाधान संवाददाता २०७९ फागुन २८ गते १०:५७

पोखरा ।
आउँदो चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि पोखराको पृथ्वीनारायण क्याम्पसमा फागुन २७ गते उम्मेदवार दर्ताको कार्यसूची थियो । तर, स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखुलेपछि उम्मेदवारी दर्ता प्रक्रिया हुन सकेन ।

कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा स्ववियु कार्यालयमा बिहीबार तालाबन्दी गरेका थिए । तर, विद्यार्थी संगठन र क्याम्पस निर्वाचन समितिबीच सहमति हुन नसक्दा ताला खुलेन । जसले गर्दा उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित भएको हो ।

तालाबन्दी गर्ने माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले तालाबन्दी फिर्ता लिए पनि विप्लवनिकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले तालाबन्दी कायमै राखेपछि उम्मेदवारी दर्ता प्रक्रिया सुरु नै हुन सकेन ।

Advertisement

विप्लवनिकट अखिल क्रान्तिकारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गर्ने कर्मचारीलाई कारबाहीको माग राखेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दिन सक्ने कार्यसूची थियो ।

अन्य विद्यार्थी संगठनले भने क्याम्पस प्रशासन नै चुनाव नगराउने पक्षमा भएको आरोप लगाएका छन् । ‘हामीले बारम्बार छलफल गर्न आग्रह गर्‍यो, तर, उहाँहरु(क्याम्पस प्रशासन) वास्ता नै गर्नुभएन, कतै क्याम्पस प्रशासननै निर्वाचन नगर्ने पक्षमा हाकी भन्ने हामीले महसुस गर्‍यो,’ एक विद्यार्थी नेताले भने ।

Advertisement

दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले उच्च अदालत पोखरामा रिट दायर गरेको छ । फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रशासन गरेको थियो । उक्त समूहले विरोध जनाउदै उच्च अदालत पोखरामा रिट दायर गरेको हो । जसको आइतबार पेशी तोकिएको छ ।

तपाईको प्रतिक्रिया