जहाँ पालिकाले तिरिदिन्छ बिजुलीको महसुल

सञ्जय रानाभाट २०७९ फागुन २९ गते १०:१५

सञ्जय रानाभाट, पोखरा ।
कालीगण्डकी गाउँपालिका स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा पर्छ । करिब २५ हजार जनसंख्या रहेको यो गाउँपालिकामा ७ वडाहरू छन् । सुन्दा अचम्म लाग्न सक्छ, यो गाउँपालिकामा बसोबास गर्ने नागरिकहरूले न्यूनतम विद्युत महसुल तिर्नुपर्दैन ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाका अनुसार पालिकामा न्यूनतम विद्युत शुल्क पालिकाले नै तिरिदिन्छ । ०७४ सालमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो पालिकाका नागरिकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै न्यूनतम महसुल तिर्ने नीति २०७८ मा ल्याएका हुन् । देशकै ठूलोमध्येको कालीगण्डकी जलविद्युत परियोजना पालिकाको मिर्मीमा पर्छ ।

‘तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकारले उज्यालो गण्डकी प्रदेश घोषणा ग¥यो । हामीले पनि सबै वडाहरुमा बत्ती पुर्‍यायौं । बत्ती त पुर्‍यायौं । यहाँ न्यूनतम विद्युत शुल्क तिर्न पनि नसक्ने हुन सक्छन् भनेर गाउँपालिकाले निर्णय ग¥योे । कालीगण्डकीवासीले न्यूनतम विद्युतको शुल्क तिर्नुपर्दैन, पालिकाले तिर्दिन्छ,’ अध्यक्ष थापाले भने ।

Advertisement

अध्यक्ष थापा २०७९ मा निर्वाचित भएपछि न्यूनतम विद्युत महसुल तिरिदिने नीतिलाई निरन्तरता दिए । पालिकाले सडक बत्ती सञ्चालन र नागरिकहरुको घरका २० युनिटसम्म विद्युत महसुल छुट गर्न बजेट नै छुट्याएको छ । २०७८ वैशाख महिनादेखि गाउँपालिकाभित्र निशुल्क उपलब्ध गराउने नीति अनुरुप ४ हजार ६ सय १० घरधुरीलाई विद्युत न्यूनतम महसुल गाउँपालिकाबाट भुक्तानी गर्दै आइरहेको पालिका अध्यक्ष थापाले बताए ।

पालिकाले यो आर्थिक वर्षमा न्यूनतम विद्युत महसुल बापत १७ लाख रुपैयाँभन्दा बढी रकम तिरेको छ

Advertisement

‘पालिकाले यो आर्थिक वर्षमा न्यूनतम विद्युत महसुल बापत १७ लाख रुपैयाँभन्दा बढी रकम तिरेको छ । हाललाई न्यूनतम विद्युत महसुलमार्फत एक परिवारलाई मासिक ३० रुपैयाँ रहे पनि यसको दायरा बढाउँदै लैजान्छौं,’ अध्यक्ष थापाले भने ।

कालीगण्डकी गाउँपालिकामा ४८ सयभन्दा बढी घरधुरी छन् । गत वर्ष ३७ वटा घर परिवारलाई पालिकाले अनुदानमा गोबर ग्यास प्लान्ट निर्माण गरिदिएको छ । चालु आर्थिक वर्षमा २५ परिवारमा निर्माण गर्ने लक्ष्य लिएको अध्यक्ष थापाले बताए ।

पालिकाले सडक बत्ती पनि सञ्चालनमा ल्याएर यसबापत रकम पनि भुक्तानी गर्दै आएको उनले सुनाए । कालीगण्डकी जलविद्युत आयोजनाले पनि गाउँपालिकालाई रोयल्टी बुझाउँदै आएको छ । पालिकाका प्रमुख प्रशासकीय प्रमुख देवन्द्र पाण्डेयका अनुसार गत आर्थिक वर्षमा आयोजनाबाट ५ करोड रुपैयाँ रोयल्टी आएको थियो ।

पालिकाले चालु अर्थिक वर्षमा सबै घरधुरीमा ‘एक घर एक धारा’ अभियान समपन्न गर्ने उद्देश्यका साथ अघि बढेकोमा चालु आर्थिक वर्षसमम ३८१५ धरधुरी धारा जडान गरिसकेको छ । अघिल्लो ५ वर्षमा ५० किलोमिटर बाटो पिच गर्ने घोषणा गरिएकोमा २२ किलोमिटर पिच गरिएको प्रशासकीय प्रमुख पाण्डेले सुनाए ।

पालिकाले आउँदो वर्ष ४२ किलोमिटर पिच गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । पालिकाले चालु आर्थिक वर्षमा ५५ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । बितेको ५ वर्षमा पालिकाले विकास खर्च ७ अर्ब बजेट छुटाएकोमा ५ अर्ब विकास खर्च गरिसकिएको अध्यक्ष थापाले बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया