घरपझोङमा भव्य प्रशासकीय भवन

सुन्दरकुमार थकाली २०७९ चैत ७ गते १०:२२

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको निर्माणाधीन भवनको काम सोमबारसम्म ९५ प्रतिशत सकिएको छ ।

बेनी–जोमसोम मुख्य सडक मार्गको पश्चिमतर्फ गाउँपालिकाको ३ तले प्रशासकीय भवन बन्दै छ । २०७७/०७८ मा गाउँपालिकाले भवन बनाउन सुरु गरेको थियो । चालु वर्षको भदौमा सम्झौता अवधि सकिएकाले फिनिसिङका केही काम गर्ने गरी म्याद थपको प्रक्रिया जारी छ ।

संघीय तथा प्रदेश सरकारको ६० प्रतिशत अनुदान र स्थानीय तहको ४० प्रतिशत बजेट साझेदारीमा प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकाले काम सुरु गरेको गापाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए ।

Advertisement

गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजार लागतमा डाँफे हरि सन्त जेभी मुस्ताङसँग ठेक्का सम्झौता गरी भवन निर्माणको कामअघि बढाएको हो । भवनको केही रंगरोगनसहित फिनिसिङको काम बाँकी रहेकाले केही महिनाभित्रै भवन निर्माणका सबै काम सकिने इन्जिनियर शर्माले उल्लेख गरे ।

यो प्रशासकीय भवनमा ३२ कोठा छन् । जसमा अध्यक्ष, उपाध्यक्षका कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समिति कार्यकक्ष, सभाहल, कार्यालय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गत सबै बिषयगत शाखाका अलग अलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय छन् ।

Advertisement

गाउँपालिकाको यो भवन मुस्ताङकै नमुना प्रशासकीय भवन भएको दाबी गरिएको छ । आर्कषण डिजाइ रहेको यो भवनले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई समेत आकर्षित गर्ने बताइन्छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया