१२ गतेभित्र स्ववियु चुनाव गर्न निर्देशन

समाधान संवाददाता २०७९ चैत ७ गते १०:२८

पोखरा ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन् ।

त्रिविको निर्देशन बाबजुद पोखराको पृथ्वीनारायण (पिएन)क्याम्पसमा भने स्ववियु निर्वाचन अनिश्चित नै छ । पिएन क्याम्पसका प्रमुख सरोज कोइरालाले मनोनयन दर्ता प्रक्रिया नै अगाडि नबढेकाले चैत १२ गतेभित्र स्ववियु निर्वाचन गर्न सम्भव नहुने प्रतिक्रिया दिए ।

‘अन्य क्याम्पसमा त मनोनयनपछि रोकिएका छन्, त्यसमा त चैत १२ गतेभित्र सम्भव होला,’ उनले भने, ‘हाम्रोमा त अहिलेसम्म मनोनयन दर्ता पनि भएको छैन, त्यसैले चैत १२ भित्र सम्भव देखिदैन, हामी कहिले गर्ने छलफल गर्दैछौं ।’

Advertisement

पृथ्वीनारायण क्याम्पसमा चाहिँ अनिश्चित

नेपालकै सबैभन्दा बढी विद्यार्थी रहेको पिएन क्याम्पसमा उच्च अदालत पोखराले स्ववियु निर्वाचनको काम कारबाही अगाडि नबढाउन आदेश दिएको छ । क्याम्पसको एक समूहले आफूले दर्ता गरेको नाम नपाएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

Advertisement

सोही रिटमा टेकेर अदालतले अन्तिम आदेश नआउँदासम्म क्याम्पसमा निर्वाचन गतिविधि अगाडि नबढाउन आदेश दिएको थियो । सोही कारण पिएनमा स्ववियु निर्वाचन हुन सकेन । क्याम्पसका ४ संगठनले विद्यार्थीको व्यक्तिगत डाटा बाहिर ल्याएको भन्दै स्ववियुु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।

जसले गर्दा फागुन २७ गते रहेको उम्मेदवारी दर्ता प्रक्रियासमेत प्रारम्भ हुन सकेन । त्रिवि उपकुलपति बास्कोटाले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

‘स्थगन भएका क्याम्पस/कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित नसम्झी विद्यार्थी युनियनको जितलाई केन्द्रबिन्दुमा राखी स्थगन भएका निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न सबै क्याम्पस, राजनीतिक दल, विद्यार्थी संगठन, स्थानीय प्रशासनलाई अनुरोध गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ ।

उनले केही क्याम्पसमा विद्यार्थी संगठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि अधिकांश क्याम्पसमा शान्तिपूर्णरुपमा सम्पन्न भएको बताए । चैत ५ गतेदेशभरि नै त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि भएको स्ववियु निर्वाचन भएको थियो ।

६२ आंगिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा त्रिचन्द्र आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कर्मश क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ ।

सबभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।

तपाईको प्रतिक्रिया