सिसाका बोत्तल हटाउँदै चिमाङबासी

सुन्दरकुमार थकाली २०७९ चैत १५ गते १०:५६

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका १ चिमाङका महिला पेय पदार्थ आउने सिसाका बोतल नष्ट गर्न जुटेका छन् । गाउँलाई प्रदूषण र फोहोर मुक्त बनाउन उनीहरुले डोकामै सिसाका बोतल संकलन गरेका छन् ।

त्यसरी संकलन गरिएका बोत्तल ट्र्याक्टरमा लोड गरी गाउँभन्दा तल निश्चित स्थानमा लगेर खाल्डो खनी पुरिएको छ । समुद्री सतहदेखि करिब ३ हजार मिटरमा रहेको चिमाङ गाउँलाई स्वच्छ र सफा राख्न वडाको समन्वयमा बोत्तल व्यवस्थापन गरिएको हो । चिमाङका महिलाले आइतबार श्रमदान गरी बोत्तल व्यवस्थापन गरेको वडा सदस्य चक्रसिंह थकालीले बताए ।

चिमाङ र छैरो गाउँलाई सिसा मुक्त बनाउन गाउँपालिकाले चालु वर्ष ५० हजार विनियोजन गरेको छ । सोही बजेटबाट चिमाङले सिसाका बोतल नष्ट गर्ने अभियान सुरु गरेको वडा सदस्य थकालीले उल्लेख गरे ।

Advertisement

‘यो सिसाको बोत्तल नष्ट गर्ने अभियान पालिका स्तरको भए पनि चिमाङबाट सुरु भएको हो, यसपछि छैरो गाउँले पनि गर्छ,’ वडा सदस्य थकालीले भने, ‘गाउँपालिकाले सिसाका बोत्तल नष्ट गर्न सबै वडालाई ५०/५० हजार रुपैयाँ पठाएको छ । अब बिस्तारै अरु वडामा पनि सिसा नष्ट गर्ने कार्यक्रम सुरु होला ।’

चिमाङ गाउँ राष्ट्रिय राजमार्गदेखि कालिगण्डकी पारी पूर्वको भिरालो सतहमा छ । त्यहाँ ३५ घरधुरी बस्छन् । गाउँमा ग्रामीण होमस्टे र केही होटल छन् । चिमाङ गाउँ पर्यटकका लागि वैकल्पिक पदमार्गमा पर्छ । पदमार्ग गर्न चाहने विदेशी पर्यटक चिमाङ हुँदै तल झर्छन् ।

Advertisement

मुस्ताङको घरपझोङले ५ वटै वडामा बियरका बोतल नष्ट गर्ने अभियान सुरु गरेको हो । गाउँपालिकाले वैशाखदेखि पालिकाभित्र सिसाका बोतल प्रयोग गरिएको सामग्री बिक्री बितरण गर्न नपाईने नीति लिएको अध्यक्ष मोहनसिंह लालचन बताउँछन् ।

‘धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको मुख्य पालिका घरपझोङ हो,’ अध्यक्ष लालचनले भने, ‘अब सदरमुकामसहित पालिकालाई फोहोर र प्रदूषणमुक्त बनाउने अभियानमा छौं । यो अभियानमा पर्यटन व्यवसायीको साथ र सहयोग मिल्ने अपेक्षा हाम्रो छ ।’

उनले बैशाखदेखि सिसाको बोत्तल राख्न र बिक्री गर्न प्रतिबन्ध लगाउने निर्णय केही महिना अघि नै गरिसकेको सुनाए ।

मुस्ताङमा केही वर्षअघि सिसाका खाली बोतल सहजै बिक्री हुन्थे । स्थानीय स्तरका फलफूल डिस्टिलरीहरुले व्यवसायीको घरबाटै बियरका खाली बोतल किनेर लैजान्थे ।

तर, अहिले यहाँका डिस्टिलरीले बियरका खाली बोतल किन्न छाडेका छन् भने पोखराबाट आउने कवाडीवालाले पनि सिसाका खाली बोतल लैजान मानेका छैनन् । अनधिकृत फालिएका सिसाका बोत्तलले दुर्घटना निम्त्याउन सक्ने जोखिम हटाउन पालिकाले यो कदम चालेको जनाएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया