पोखरा १८ का मतपेटीका सुरक्षित छन्, आदेश अनुसार गर्छौं —प्रदेश निर्वाचन अधिकारी पराजुली


मतगणना गर्ने जनशक्तिको व्यवस्थापन उच्च अदालतका रजिस्टारले गर्ने, मतगणना नतिजा आएपछि उच्च अदालत पोखराले सार्वजनिक गर्ने आदेश आएको छ । विष्णुप्रसाद आचार्य—उपरजिस्टार उच्च अदालत पोखरा
पोखरा ।
चुनावी परिणाम घोषणा भएको १० महिनापछि पोखरा १८ को मत गणना बदर भएको छ । गत वैशाख ३१ मा भएको स्थानीय निर्वाचन अन्तर्गत पोखरा १८ को मत गणना र मत परिणाम उच्च अदालत पोखरले बदर गरेको हो ।
मत परिणामका विषयमा शंका गर्दै परेको निवेदनमा सुनुवाई गर्दै अदालतले पुनः मतगणना गर्न भनेको छ । उच्च अदालत पोखराले मंगलबार यस्तो फैसला गरेको हो । अदालतले मतगणना गर्नमात्र फैसला गरेको छैन, गणना गर्ने दिन नै तोकिदिएको छ ।
मतगणनामा गडबडी गरिएको दाबी गर्दै पोखरा १८ मा वडाध्यक्ष पदका उम्मेदवार पुष्कल थापाले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । एमालेका उम्मेदवार थापाले पुनः मतगणना गर्न माग गरेका थिए । सोही निवेदनउपर मंगलबार उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले फेरि मतगणना गर्न आदेश दिएको हो ।
उच्चका उपरजिस्टार विष्णुप्रसाद आचार्यले मतगणना गर्ने जनशक्तिको व्यवस्थापन उच्च अदालतका रजिस्टारले गर्ने, मतगणना नतिजा आएपछि उच्चले सार्वजनिक गर्ने आदेश भएको जानकारी दिए । यसअघि विजयी घोषित वडाध्यक्षले काम गर्न पाउने÷नपाउने यकिन गर्न पूर्ण पाठ आउनुपर्ने उनले बताए । उपरजिस्टार आचार्यले भने, ‘अहिलेका वडाध्यक्षले काम गर्न÷पाउने नपाउने भन्ने कुरा पूर्ण पाठ आएपछि मात्र थाहा हुन्छ ।’
सो निर्वाचनमा पोखरा १८ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शिवप्रसाद तिमिल्सिना ३ मतको अन्तरले विजयी भएका थिए । तिमिल्सिनाले १ हजार ६ सय ४३ मत पाउदा एमालेका पुष्कल थापाले १ हजार ६ सय ४० मत पाएका थिए ।
मतगणनाका क्रममा ९ मत गायब पारिएको दाबीसहित ३ मतले पराजित भएका थापाले पुनः मतगणना गर्न माग गरे पनि निर्वाचन समितिको कार्यालयले अस्वीकार गरेको थियो । त्यसपछि थापाले निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्वाचन अधिकृतको कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर उच्चमा निवेदन दिएका थिए ।
अदालतले यस्ता प्रकृतिका मुद्दामा यति छिट्टै फैसला गरेको सम्भवतः यो नेपालकै पहिलो घटना हो । सामान्यतया यस्ता मुद्दा पाँचै वर्ष पूरा हुँदा पनि फैसला नभएका उदाहरण पनि छन् । यो निवेदनमा वादीको तर्फबाट कानुन व्यवसायीहरु हरि सुवेदी, सुरेन्द्र थापामगर र मदन तिवारीले बहस गरेका थिए ।
३ मतले पराजित भएका थापाले ५ भोट हराएको भएको भन्दै पुन मतगणना मागेर रिट हालेका थिए । त्यति बेला मुचल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदनसमेत दिएको थियो । पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिए पनि पछि मुख्य निर्वाचन कार्यालयले नतिजा घोषणा गरेको थियो । त्यस बेला मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई थिए ।
वडा १८ मा ४ हजार ३ सय ४८ मत खसेकोमा मतगणनाका क्रममा ९ मत कम अर्थात ४ हजार ३ सय ३९ मतपत्रमात्र भेटिएका थिए । मुचुल्का भएको भन्दा कम मत भएकैले पुनः मतगणनाका लागि निवेदन दिएको र अदालतमा पुगेको एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपाने बताउँछन् ।
मतपेटीका सुरक्षित छन्, आदेश अनुसार गर्छौं —प्रदेश निर्वाचन अधिकारी पराजुली
फेरि मतगणना गर्नुपर्ने आदेश भएको भन्ने समाचारहरु पढें । आधिकारिक रुपमा निर्वाचन कार्यालयलाई पत्र आएको छैन । आदेशमा के छ हेरेपछि सोही अनुसार अघि बढ्छौं ।
पुनः मतगणना भन्ने भए सोही अनुसार मतगणना हुन्छ । हामीले मतपेटिका सुरक्षित राखेका छौं । उहाँहरुसँग समन्वय गरेर काम गर्छौं । मतगणना अघिसम्म हालका वडाध्यक्षले काम गर्न पाउने÷नपाउने आदेशमा के छ, त्यो हेर्नुपर्छ । अहिलेसम्मको आधिकारिक वडाध्यक्ष उहाँ नै हो । आधिकारिक रुपमा आएपछि निर्वाचन आयोगसँग छलफल गरेर अघि बढ्छौं ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया