उपल्लो मुस्ताङमा भेटियो पाहान बिरालो

सुन्दरकुमार थकाली २०७९ चैत २६ गते ११:१६

जोमसोम ।
उपल्लो मुस्ताङमा बिहीबार दुर्लभ संरक्षित वन्यजन्तु पाहान बिरालो अर्थात (लिङ्क्स) भेटिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना अन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड ३ को जोमसोम–कोरला राजमार्गको झो खोला नजिक पाहान बिरालो भेटिएको हो ।

Advertisement

झन्डै दशकअघि यो प्रजातिको संरक्षित वन्यजन्तु उपल्लो मुस्ताङमा देखिएको दावी गरिएको थियो । यसपटक भने लोमान्थाङ ५ छोदे गुम्बाका लामा झ्यम्ब ग्यचो गुरुङले संरक्षित पाहान बिरालोका केही तस्विर र १५ सेकेन्डको भिडियो खिचेका छन् ।

उनले भेटिएको संरक्षित वन्यजन्तु पाहान बिरालोको भिडियो सामाजिक सञ्जालमा समेत राखेका छन् । बिहीबार पोखराबाट बेनी जोमसोम कोरला सडक हुँदै सवारी साधनमार्फत लोमान्थाङ जाँदै गरेका लामा ग्यचोले कोरला सडकभन्दा माथि भिरालो स्थानमा दिउँसो ४ बजे बिरालो देखेका हुन् ।

उनले दुर्लभ संरक्षित पाहान बिरालोको भिडियो र तस्बिर मोबाइलबाट खिचेका हुन् । उनले यात्रा गर्ने क्रममा संरक्षित पाहान बिरालो अर्थात लिङ्क्स देखेर गाडी रोकेर भिडियो खिचेको जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यो प्रजातिको संरक्षित पाहान बिरालोलाई संरक्षित वन्यजन्तुमा सूचीकृत गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए । धेरै वर्ष पहिला यो प्रजाति उपल्लो मुस्ताङमा भेटिएको भए पनि त्यसपछि देखा परेको थिएन । उनले यो प्रजातिका बिराला मुस्ताङमा कति छन् भन्ने यकीन तथ्यांक नरहेको सुनाए ।

Advertisement

समुद्री सतहदेखि ५ हजार मिटरमा पाहान बिरालोको मुख्य बासस्थान हुन्छ । घाँस र बुट्यान क्षेत्रहरुमा पाइने यो प्रजाति गुफा र चट्टानका दुलामा बस्छ । नेपालमा यो प्रजाति उपल्लो मुस्ताङ र ढोरपाटन शिकार आरक्षणमा पाइन्छ । यो फेलिडी परिवारको प्रजाति हो । यसले खरायो, फ्याउरो, साना स्तनधारी प्राणी, चरा आदि खान्छ । कहिलेकाँही आहारा नपाउँदा भेडा/च्यांग्रासमेत मारेर खाईदिन्छ ।

उच्च हिमाली भेगमा पाइने बिरालाका प्रजातिमध्ये यो दोस्रो ठूलो मानिन्छ । नेपाल बाहिर उत्तर अमेरिका, युरोप र एसियाका केही देशमा यो पाइन्छ । पाहान बिरालोको औसत आयु २० सम्म हुन्छ । वयस्क पाहान बिरालाको शरीरको लम्बाई ८५ सेमीदेखि ९० सेमीसम्म र उचाइ १० सेमीसम्म हुन्छ । यसको तौल बढीमा २७ केजीसम्म हुन्छ ।

कानको टुप्पामा ठाडा ठाडा रौं हुन्छन् भने ती रौंका टुप्पा काला काला रंङका हुन्छ । रौंले गर्दा नै अन्य प्रजातीबाट यसको पहिचान गर्न सजिलो हुन्छ । छोटो पुच्छर र लामा खुट्टा भएकाले यो प्रजाति बलियो हुन्छ । यसको शरीरका रौं खैरोमा फिक्का पहेला हुन्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया