माझीकुनाको पर्यटनका पायोनियर सूर्यप्रसाद

स्मीता अधिकारी २०७९ चैत २७ गते १४:३४

पोखरा ।
बेगनासताल बसपार्कदेखि झण्डै एक किलोमिटर उकालो कटेपछि दुइटा छुट्टाछुट्टै तालको बिच भागमा अवस्थित छ सुन्दर सुन्दरीडाँडा । यो ठाउँको नाउँ यसै सुन्दरीडाँडा भएको होइन । बेगनासताल र रुपाताल दुबै तालको मनमोहक दृश्य एकसाथ देखिने । ऐतिहासिक, पौराणिक महत्वका धार्मिक संरचना, रैथाने चराचुरुंगी र औषधीजन्य वनस्पतिसहितको हरियाली जंगल, त्यही जंगलभित्र बेगनासताल किनारसम्म फैलिएको विपश्यना ध्यान केन्द्र ।

लेखनाथमै सबैभन्दा पुरानो तारे होटल बेगनास रिसोर्ट र पर्यटकीय आवागमन बढ्न थालेपछि बनेका पर्यटकीय भौतिक संरचना । यही सुन्दरी डाँडाले पोखरामा हिजोआजको चर्चित पर्यटकीय गन्तव्य माझीकुना जन्मायो । यतिमात्र होइन विश्व पर्यटकीय गन्तव्य भ्रमण पुस्तक लोन्ली प्लानेटमा पनि नाम लेखाइ बेगनाताललाई पर्यटक माझ पनि परिचित गरायो ।

विश्व परिचित सुन्दरीडाँडाको छेवैमा बेनासतालको पूर्वी किनारको नाम हो–माझीकुना । माझीकुना हिजोआज पर्यटकले खचाखच छ । देशभर विभिन्न कुनाकाप्चाबाट माझीकुना नै मुखय गन्तव्य बनाएर पोखरा आउने पर्यटकको संख्या विगत ३/४ वर्षयता ह्वात्तै बढेको छ । यहाँ आउने प्राय पर्यटकले भन्ने गरेका छन् –माझीकुनाको माछा चाख्न मन लागेर आयौं । वर्षै पिच्चछे बढ्दै गएको पर्यटकको संख्या धान्न ताल किनारमा बग्रेल्ती बनेका होटल तथा कफी सपलाइ दिनभरको कामधन्दाले भ्याइ नभ्याइ हुन्छ । एउटा होटलमा दैनिक १०० जनाको हाराहारीमा ग्राहक आउने उनीहरु बताउँछन् ।

Advertisement

माझीकुनामा यसरी सक्रिय होटल व्यवसायका जन्मदाता भने स्थानीय सूर्यप्रसाद लामिछाने हुन् । उतिबेलाको सुनसान खरबारी, स्याल र वनबिरालोको बासस्थान, आजभन्दा झण्डै डेढ दशकअघिको माझीकुना उनको स्मरणमा ताजै छ । यस्तैमा, करिब आधा रोपनी जग्गामा झाडी फाँडेर खरको कटेरो बनाएका थिए उनले ।

दाउरा घाँस गर्न जाँदा, थकाइ मार्ने पानि पिउने उद्देश्यले उनले त्यो कटेरो बनाएका थिए । बेगनासताल हुँदै बेगनास, माझठाना लगायत आसपासका अन्य गाउँबेसी गर्ने बटुवाहरुका लागि थकाइमार्ने र पानी पिउने बिसौनी नै बनेको थियो उनको टहरो ।

Advertisement

उतिबेला बेगनासताल हुँदै माथि गाउँतिर पदयात्रा गर्न जाने विदेशी तथा स्वदेशी पर्यटकहरु पनि फाट्टफुट्ट देखिन्थे । सन् १९८० मा बेलायतका तत्कालीन राजकुमार चाल्र्सले कालिका, माझठाना, हंसपुर, रुपाकोट हुँदै बेगनास तालसम्म पैदल यात्रा गरेका थिए । त्यति बेलादेखि नै यसलाई रोयल ट्रेक भनिन्छ ।

यो ट्रेकमा पैदलयात्रा गर्न आउने क्रम पनि बढ्दो थियो । विशेष गरी तिनै पदैलयात्रीलाई लक्ष्य गर्दै उनीहरुको बिसौनीका रुपमा टहरो बनाएका थिए लामिछानेले । उनीहरुले पानी सँगसँगै कफी, चिया पनि माग गर्न थालेपछि उनले त्यस टहरोलाई चियापसल, माछापसल हुँदै होटलकै रुपमा सञ्चालन गर्न थाले । २०६० सालमा विधिवत दर्ता गरेर उनले सञ्चालन गरेको लामिछाने रेस्टुरेस्ट नै माझीकुनाको पहिलो होटल हो ।

‘विदेशीहरु तालको किनारमा बसेर चिया, कफी, चिसो पिउन रुचाउँथे, तर आन्तरिक पर्यटकले यो ठाउँ यति व्यस्त होला भन्ने चाहिँ मैले सोचेको थिइनँ,’ लामिछानेले भने । व्यवसायले बृहत रुप लिँदै गएपछि उनका छोराहरु अरु पेसा व्यवसाय सोच्न पनि फुर्सद पाउन छाडे । माझीकुनामा रहेको आफ्नो जग्गा जमिन होटल व्यवसाय गर्न छोराहरुलाई जिम्मा लगाएर उनी केही पर सुन्दरीडाँडा सरे ।

अहिले माझीकुना प्राय, उनकै भाइ छोराहरुको होटलले भरिभराउ छ । उनी भने नजिकै रहेको सुन्दरी डाँडामा सरे ।

बेगनासताल र रुपातालसँगै यस क्षेत्रको जैविक विविधता र पर्यावरण एकै ठाउँबाट अवलोकन गर्न जैविक विविधता भ्युटावर निर्माण भएसँगै त्यहाँ पर्यटकको आवागमन सुरु भइसकेको थियो । सुन्दरीडाँडाको पर्यटनलाई थप बल पुर्‍याएको छ, लामिछानेको व्यापारकलाले ।

सुन्दरीडाँडामा बेगनासतालदेखि लमजुङको भोर्लेटार जाने मुख्य सडक छेवैमा उनले बनाएको तीन तलाको पक्की घर यहीं सुन्दरीडाँडामा गरेको होटल व्यवसायले हो भन्छन् उनी । लामिछाने दाइको खाजा घर नामले चिनिएका लामिछाने भन्छन् – होटल चलाउने पैसाले होइन पोलिसिले हो ।

हुन पनि, रैथाने सामान्य खानेकुरा पस्किएरै उनले ग्राहक रिझाएका छन् । परम्परागत भात भान्साकै मेलो छ उनका होटलमा ।

उनी भन्छन्, मेरो परिवारले खाने र ग्राहकले खानेकुरा कहिल्यै फरक भको छैन हाम्रोमा । स्थानीय होटलहरुले मात्र रैथाने खाना पस्कन सक्ने हो भने स्थानीय ग्रामीण कृषिले छिट्टै मार्केट लिने उनको विश्वास छ ।

स्मीता अधिकारी

 अधिकारी  दी राइजिङ नेपाल डेलीकी पोखरा संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया