युनाइटेड क्लबकाे दृष्टिविहीनलाई सेतो छडी सहयाेग

समाधान संवाददाता २०८० वैशाख ३ गते १३:४५

पोखरा ।
युनाइटेड क्लबले १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरेको छ । १२ जना दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरिएको हो ।

त्यस अवसरमा सेतो छडी वितरण गर्दै पोखरा महानगरपालिकाका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले पोखरामा पोखरा महोत्सवको आयोजना गरी विकृतिरहित समाज र सामाजिक काममा लागेको सबैलाई सर्वविदित रहेको र नेपाली नयाँ वर्षको दिनमा दृष्टि क्षमता कम भएकाहरुलाई सहयोग स्वरुप सेतो छडी वितरण गरी रचनात्मक कामको सुरुआत गरेको बताउँदै युनाइटेड क्लबको हरेक क्रियाकलापमा पोखरा महानगरपालिका र आफ्नो वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै अपांगतामैत्री समाज कास्कीका अध्यक्ष शान्तबहादुर परियारले दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।

Advertisement

क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष वैशाख ७ गते वार्षिकोत्सव मनाउँदा साताव्यापी कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र यो वर्षपनि १३ औं वार्षिकोत्सवको अवसर पारी साताव्यापी कार्यक्रम अन्तर्गत अन्तक्र्रिया, अपांगता भएकाहरुलाई सहायता सामग्री वितरण, विभिन्न संघ संस्थालाई खाद्यान्न वितरण, रक्तदान, विद्यालयमा पुस्तकालय निर्माण लगायत कार्यक्रम गरिने बताए ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले युनाइटेड क्लबले वार्षिकोत्सव विशेषमा समेत सामाजिक कामलाई निरन्तरता दिँदै आइरहेको बताए । क्लबका महासचिव दिनेश सुनारका अनुसार १३ औं वर्षिकोत्सव अन्तर्गत वैशाख ६ गते सम्म दैनिक कार्यक्रमहरु हुने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया