तालिमले बढायो आत्मविश्वास

स्मीता अधिकारी २०८० वैशाख ३ गते १४:०४

पोखरा ।
पोखरा २९ पट्नेरीकी राधिका भुजेललाई शिक्षण पेसा औधी मनपर्छ । विद्यालय तहको पढाइ सकिने बित्तिकै उनी शिक्षिका बन्न लागि परिन् । विद्यालयको शिक्षापछि काम गर्दै स्नातक तहको पढाइ पूरा गर्ने योजना थियो उनको ।

बालबच्चासँग छिट्टै घुलमिल हुने बानी भएकाले मन्टेसरी शिक्षिकाको दर्खास्त खोज्दै निवेदन दिँदै गर्न थालिन् । धेरै महिनासम्मको प्रयासपछि पनि आफूले इच्छाएको काम पाइनन् उनले अनि शिक्षणका लागि आस मारिन् । त्यस्तैमा एउटा सिलिन्डर ग्यास कम्पनीमा जागिर खाने अवसर आयो ।

त्यहाँ उनले ३ वर्ष बजार प्रतिनिधिको जागिर खाइन् । सँगसँगै स्नातकसम्मको पढाइ पनि पूरा गरिन् । तर अचानक, अब भने, इच्छाएको जागिर खानका लागि मरिसकेको उनको आस फेरि ब्युँतिएको छ । साथीहरुसँग गफ गरिरहेको बेला उनले स्थानीय सरकारबाट, तीन महिने मन्टेसरी तालिम निशुल्क पाइने खबर थाहा पाइन् । त्यसपछि उनले वडा कार्यालयमा सम्पर्क गरिन् ।

Advertisement

संयोगबस, त्यही बेला पोखरा महानरपालिका अन्तर्गतको गण्डकी बहुप्राविधिक शिक्षालयले मन्टेसरी तालिमका लागि दर्खास्त आह्वान गरेको थियो । उनले निवेदन दिइन् र छनोट पनि भइन् । ‘अब मैले जागिर नपाउने भन्ने हुँदै हुँदैन, पाइन भने पनि ढिलोचाँडो आफै मन्टेसरी सञ्चालन गर्न सक्छु,’ उनले आत्मविश्वास प्रकट गरिन् ।

राधिका एक प्रतिनिधि पात्र हुन् । उनको जस्तै आकांक्षा र योजना भएका महिला यतिबेला स्थानीयस्तरमा धेरै भेटिन्छन् । स्थानीय सरकारले प्रदान गर्दै आएको बाल शिक्षण सहजकर्ता तालिमले यतिबेला शिक्षण र बालबालिका सम्बन्धी उनीहरुको बुझाइ, सोचाइ र योजनाहरुमा परिवर्तन ल्याएको उनीहरु बताउँछन् ।

Advertisement

रोजगारीको खोजीमा रहेका महिलाको चासो मन्टेसरी तालिमतिर बढेको छ

पछिल्लोक्रममा सरकारी तथा निजी विद्यालयमा पूर्व प्राथमिक तह तथा इसिजी तहको पढाइ अनिवार्य जस्तै बनेको छ । यससँगै रोजगारीको खोजीमा रहेका महिलाको चासो मन्टेसरी तालिमतिर बढेको छ ।

बालबालिकाका लागि सिकाइ संवेदनशील विषय भएकाले यस्तो शिक्षणका लागि विशेष सिप र तालिम आवश्यक पर्छ । त्यसैले यस्ता तहमा शिक्षक शिक्षिका नियुक्त गर्दा विद्यालयहरुले तालिम प्राप्त व्यक्ति खोज्ने गरेका छन् । यस्तो तालिम स्थानीय सरकारबाटै लिन पाउँदा धेरै आफ्नो इच्छा र लक्ष्यमा धेरै हौसला मिलेको स्थानीय महिलाहरु बताउँछन् ।

पोखरा वडा नम्बर ३२ कि संगीता बास्तोलाले स्थानीय सरकारले प्रदान गरेको मन्टेसरी तालिम आफूले सोचेभन्दा धेरै फरक भएको अनुभव सुनाइन् । रोजगारीका लागि शिक्षक आयोगको तयारी गरिरहेकी बास्तोलालाई शिक्षक सेवा आयोगमा नाम ननिस्के पनि सुुर्ता छैन अब ।

घरको आर्थिक स्थिति बलियो नभए पनि उच्च माध्यमिक तहको शिक्षा सकिनेबित्तिकै जागिरको खोजीमा थिइन् उनी । तर पाइनन् । स्नातक तह पढाइसँगै शिक्षा सेवा आयोग पनि तयारी गर्ने योजना उनले बनाएकी थिइन् । साथीले फर्म भर्नु छ साथी जाम भनेपछि साथीसँगै वडा कार्यालय जाँदा उनी पनि मन्टेसरी तालिमको फर्म भर्न उक्सिएकी हुन् ।

अहिले उनले भर्खरैमात्र बाल शिक्षण सहजकर्ता तीन महिने कोर्स पूरा गरिन् । उनी भन्छिन्, ‘अब मलाई गरिखान केहीले रोक्दैन ।’ मन्टेसरी तालिममा सिकाइ विधि मात्रै सिक्न सकिने सोचेकी थिइन् बास्तोलाले । ‘तर हामीले क्षमता र नेतृत्व विकास र उद्यमशीलता सम्बन्धी पनि धेरै कुरा सिक्यौं, यसमा मलाई औधी खुसी लागेको छ,’ उनले भनिन् ।

पोखरा वडा नम्बर ३० शिसुवाकी सविता त्रिपाठीलाई पनि मन्टेसरी तालिमले छुट्टै आत्मविश्वास जगाइदिएको छ । स्नातक तहको पढाइ तीन वर्षअघि नै पूरा गरेकी उनलाई यस्तो तालिम लिने इच्छा पहिले नै थियो ।

तर निजी संस्थाहरुले महँगो शुल्क लिने भन्ने सुनेकी उनले तत्काल कुनै चासो देखाएकी थिइनन् । स्थानीय सरकारबाट निशुल्क लामो अवधिको तालिम पाएपछि अहिले उनी जागिरका लागि निकै ढुक्क देखिन्छिन् । ‘टोलटोलमा विद्यालय छन्, गतिलो तालिम लिएका मान्छेले कसो जागिर नपाइएला,’ उनले भनिन् ।

स्थानीय महिलाहरुको सोचाइ र विचारमा यस्तो परिवर्तन ल्याएको हो पोखरा महानगरपालिका अन्तर्गत गण्डकी बहुप्राविधिक शिक्षालयले । स्थानीय महिलाको क्षमता अभिवृद्धिसहित बाल शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले शिक्षालयले गत आर्थिक वर्षयता विभिन्न समयमा बाल शिक्षण सहजकर्ता तालिमका लागि दर्खास्त आह्वान गर्दै आइरहेको छ ।

सन् २०१८ मा परिवर्तन भएको नयाँ शिक्षा पद्धति अनुरुपको शिक्षण सिकाइ प्रयोग गरी यस शिक्षालयले स्थानीय महिलालाई तालिम दिँदै आइरहेको छ । शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाका अनुसार शिक्षालयले दुई वर्षयता करिब डेढ सयजना बाल शिक्षा सहजकर्ता उत्पादन गरिसकेको छ ।

स्मीता अधिकारी

 अधिकारी  दी राइजिङ नेपाल डेलीकी पोखरा संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया