सेती वरपर तारबार लगाउन सांसद विद्या भट्टराईको माग

समाधान संवाददाता २०८० वैशाख ३ गते १७:५७

नेकपा एमाले सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शनिबार सेती नदीको खोजमा परी स्थानीय १२ वर्षीया बालिका स्मृति पराजुलीको ज्यान गएको घटनाबारे संसद्‌मा जानकारी गराइन् । सेती नदीको जोखिम क्षेत्रमा तारबारसहितको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी हुन्। त्यसका लागि सरकारले विज्ञहरुले दिएको सुझाव अनुसार त्यहाँको सुख्खा पहिरो नियन्त्रणका लागि पनि तत्काल योजना बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउने विषयमा पटकपटक संसदमा आवाज उठेपनि सरकारले ध्यान नदिएको उनले बताइन्।

Advertisement

उनले विज्ञका सुझावअनुसार तारबार लगाउन र सुक्खा पहिरो नियन्त्रणका लागि विज्ञहरुले भनेझैँ चेकड्याम निर्माणका लागि योजना सञ्चालन गर्न माग गरिन्।

सांसद भट्टराईले भूगर्भविद्हरुले सेती नदीको कारण ठूलै क्षति हुन सक्ने औंल्याएको उल्लेख गर्दै सरकारले उनीहरुले दिएको सुझाव अनुसार त्यसको संरक्षणमा लाग्नुपर्ने पनि बताइन् । उनले संसदमा भनिन्:

Advertisement

‘हिजो पोखरामा दु:खद् घटना घटेको छ । सेती नदी पोखराको सुन्दरता हो । यसको खोंचमा धेरै नागरिकहरुको जीवनको क्षति भएको छ । हिजो ३ बजेतिर खेलीरहेका बेला १५ नम्बर वडा अवस्थित सिताराम हाउजिङ नजिकै स्मृति पराजुलीको सेती खोंचमा परेर उहाँले आफ्नो जीवन गुमाउनु परेको छ । म १२ वर्षीया स्मृति पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँको आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । धेरै पटक सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउनु पर्छ भनेर संसदमा पटकपटक आवाज उठाइएको छ । खासगरी पोखराका भूगर्भविद्हरुले अध्ययन गर्दा सेती नदीले भोलि जुनसुकै खालका दुर्घटना पुर्‍याउन सक्ने खतरा छ भन्ने ध्यानाकर्षण समेत सरकारलाई गराइएको छ । नागरिकहरुको जीवनलाई कहिलेसम्म क्षति पुर्‍याउने हो ? त्यो क्षतिलाई न्यूनीकरण गर्नका लागि सरकारले योजना बनाएर भोलिका दिनमा यस्ता क्षतिहरु हुन नदिनका लागि त्यो जोखिम क्षेत्र वरपर तारबार लगाउने, विज्ञहरुले भने अनुसार सुख्खा पहिरो जान नदिनका लागि विशेष व्यवस्था गर्न सुझाव दिनु भएको छ । त्यो सुझावलाई ग्रहण गर्दै योजना बनाउने काममा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया