३५ प्रहरीलाई कारबाही, ८७ लाई पुरस्कार

समाधान संवाददाता २०८० वैशाख ४ गते ११:२३

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले १ वर्षमा ३५ प्रहरीलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३५ जना प्रहरीलाई कारबाही गरिउको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

कारबाहीमा पर्ने २ जना प्रहरी निरीक्षक छन् । उनीहरुलाई सचेत गराइएको छ । एक प्रहरी नायब निरीक्षकलाई पनि सचेत गराइएको छ । ४ जना प्रहरी सहायक निरीक्षक कारबाहीमा परेका छन् । तीमध्य ३ जनालाई सेचेत र १ लाई पदोन्नति रोक्का गरिएको डिएसपी विकले सुनाए ।

कास्कीमा ४ प्रहरी वरिष्ठ हल्दारलाई कारबाही गरिएको छ । ७ प्रहरी हल्दारलाई पनि कारबाहीमा परेका छन् । ३ जनालाई नसिहत, २ लाई सेचत, १ लाई पदोन्नति रोक्का गरिएको छ भने १ जनालाई ग्रेस घटुवा गरिएको डिएसपी विकले सुनाए ।

Advertisement

‘प्रहरी सहायक हल्दार ६ जनालाई कारबाही गरिएको छ । तीमध्ये २ जनालाई नसिहत, ३ जनालाई सचेत गराइएको हो । एक जनालाई घटुवा गरिएको छ,’ उनले भने, ‘११ प्रहरी जवानलाई कारबाही गरेका गरिएको छ । ५ जनालाई नसिहत, २ लाई सेचत, १ जनालाई नोकरीबाट हटाइएको, १ जनालाई ग्रेड घटुवा र २ जनालाई निलम्बन गरिएको हो,’ डिएसपी विकले भने ।

जिल्लामा उत्कृष्ट काम गर्ने ८७ प्रहरीलाई पुरस्कृत गरिएको उनले सुनाए । जिल्ला प्रहरी कार्यालयमा १ हजार १ सय २ जना प्रहरी कार्यरत छन् । यसमध्ये १ सय २९ जना महिला प्रहरी छन् ।

Advertisement

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाशन गरेका तथ्यांक अनुसार आगलागीबाट ५८ वटा, बाढी पहिराबाट २१, अविरल वर्षका कारण ४ र चट्याङका ४ वटा दुर्घटना भएका छन् । यी विपतबाट ७२ जनाको मृत्यु र २ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।

‘यो वर्ष ९० सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट ३४ जनाको मृत्यु, २ जना गम्भीर घाइते र ३२साधारण घाइते भएका छन्,’ उनले भने, ‘यो वर्ष ५७ हजार २४ जना ट्राफिक कारबाही परेका छन् । कारबाहीबाट ४ करोड ८४ लाख ४० हजार ५ सय राजस्व उठेको छ ।’

तपाईको प्रतिक्रिया