कतारी राजकुमारी अन्नपूर्ण चुलीमा

समाधान संवाददाता २०८० वैशाख ४ गते ११:३५

काठमाडौं ।
कतारको राजपरिवारकी सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेकी छन् । इलाइट एक्सपिडिसनमार्फत उनी शनिबार अपराह्न ४ बजे ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुगेकी हुन् ।

टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङ पनि अन्नपूर्ण चुलीमा पुगेका छन् । राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमाल आरोहण गरिसकेकी छन् । पेसाले चिकित्सक थानी कतारको ओलम्पिक कमिटीको नेतृत्वमा छिन् । अन्नपूर्ण हिमाल आरोहणका लागि फागुन २२ गते थानी म्याग्दी पुगेकी थिइन् ।

अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा पर्छ । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए ।

Advertisement

‘विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ’, उनले भने, ‘आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ ।’

कतारको राजपरिवारका सदस्यबाट भएको अन्नपूर्ण हिमाल आरोहणले यस क्षेत्रको पर्यटन प्रर्वद्धन र थप पर्यटक भित्र्याउन सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले सुनाए ।

Advertisement

अन्नपूर्ण प्रथम हिमालमा शनिबार बिहानदेखि चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको हो । सेभेट समिट ट्रेकका पासाङनुर्वु शेर्पाको नेतृत्वमा तीन नेपाली, एक पाकिस्तानी र एक जना अष्ट्रेलियन पर्वतारोहीले पनि शनिबार अन्नपूर्ण आरोहण गरेका छन् ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट ५ समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए ।

मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

तपाईको प्रतिक्रिया