पाहुनाको रोजाइमा ठिनी होमस्टे

सुन्दरकुमार थकाली २०८० वैशाख ४ गते १२:१४

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी गाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक पुग्ने क्रम बढेको छ । जिल्लाका केही गाउँमा औपचारिक र अनौपचारिक रुपमा होमस्टे चलाइएको छ ।

जोमसोम नजिकै रहेको ठिनी गाउँमा भने थकाली सामुदायिक होम स्टेले धेरैको मन जितेको छ । आजभोलि दैनिक ७०/८० पर्यटक यो होम स्टे आउने गरेका छन् । सदरमुकाम जोमसोम बजारमा पर्यटक लक्षित होटलमा खाना र बस्नका लागि महंगो शुल्क तिर्नुपर्ने भएकाले पनि जोमसोम नजिकै रहेको यो होमस्टेमा पर्यटकको चाप बढेको हो ।

ठिनी गाउँ कृषिका अलावा व्यावसायिक रुपमा ओझेल परेपछि स्थानीय जनमुक्ति युवा क्लबको पहलमा २०७३ मा थकाली सामुदायिक होमस्टे खोलिएको थियो । सुरुआती क्रममा स्थानीय जुमा थकाली, मीना थकाली, स्मीता थकाली, आइतकुमारी थकाली र बत्तीमाया थकाली गरी ५ घरमा होमस्टे थियो ।

Advertisement

२०७४ मा सम्बन्धित निकायमा दर्ता गरिएको यो होमस्टेमा अहिले ठिनी गाउँका १० घर आवद्ध छन् । यो होमस्टे चल्नुअघि ठिनीका थकाली महिला कृषि पेशामा मात्रै आश्रित थिए । मुस्ताङमा पर्यटकको संख्या वृद्धि भए पनि होमस्टे नहँुदा ठिनीका स्थानीयले कुनै लाभ लिन सकेका थिएनन् ।

पछिल्लो समय ठिनीका थकाली महिलाको जीवनशैली होमस्टेले फेरिन थालेको छ । एकापसमा गुजुमुज्ज जोडिएका माटोले बनेका प्राचीन शैलीका घर, त्यहाँको सांस्कृतिक धरोहरले ठिनी गाउँ मुस्ताङकै महत्वपूर्ण गन्तव्य बनेको छ । ठिनीबाट जोमसोम बजार र कालिगण्डकी नदी मनमोहक देखिन्छन् ।

Advertisement

होमस्टेमा आएका पर्यटकले ठिनी गाउँको थकाली संग्रहालय, ढुम्बाताल, कुछ्प तेरङ्गा गुम्बा, स्नो लियोपार्ट, यारुजो भ्यु टावर, कैसाङ क्याम्पमा रहेको छम्मा ताल, तिलिचो ताल, भम्पो गुम्बा, नीलगिरी हिमाल र जोमसोम बजारका दृश्य हेर्छन् ।

होम स्टेमा सडकमार्ग, हवाई मार्ग र पदमार्ग हुँदै आउने पर्यटक बास बस्ने गरेका छन् । पर्यटकलाई स्थानीयले संस्कृति प्रदर्शनसहित त्यहाँको ऐतिहासिकताबारे जानकारी दिने गरिएको छ ।

जिल्लामा यातायात सञ्जालमा जोडिएपछि बर्सेनी हवाई तथा सडक मार्ग हुँदै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटक फर्किदा ठिनी होमस्टे पुग्ने गरेका छन् । उत्तरी कोरला नाका पुगेर फर्किएका पर्यटकसमेत पछिल्लो समय ठिनी थकाली होमस्टे खोजी गर्दै जान थालेका छन् ।

यहाँक थकाली महिलालाई स्थानीय तह तथा अन्य सरोकारवाला निकायको सहयोगमा कुकिङ तालिम सिकाइएको थियो ।

थकाली सामुदायिक होमस्टेको पूर्वाधार निर्माण, तालिम, भ्रमण र विभिन्न आवश्यकतामा संघ, प्रदेश र स्थानीय तहले सहयोग गर्दै आएका छन् । पछिल्लो समय ठिनी होमस्टे स्वागत गेट, संग्रहालय भवन, सभाहल र कोशेली घर निर्माणमा विभिन्न निकायले सघाएका छन् ।

जोमसोमदेखि करिब २ किलोमिटर पूर्वमा पर्ने ठिनी गाउँसम्म मोटर बाटो पुगिसेको छ । यातायात जोडिएपछि जोमसोमबाट ठिनी १५ मिनेटमै पुग्न सकिन्छ । ठिनी गाउँबाट पर्यटकीय स्थल ढुम्बाताल १० मिनेटमै पुग्न सकिन्छ । जोमसोमबाट ढुम्बाताल, छैरोसम्म गण्डकी प्रदेश सरकारले ग्राभेल रिङरोडसमेत विस्तार गरिसकेको छ ।

लमजुङको बेंसीसहर, मनाङ र मुक्तिनाथ क्षेत्र हुँदै वैकल्पिक पदमार्गमा यात्रा गर्ने तेस्रो मुलुकका पर्यटकसमेत ठिनी होमस्टेमा बाँस बस्न आउँछन् । पर्यटकको मनोरञ्जनका लागि साँझपख थकाली संस्कृति र सांस्कृतिक कार्यक्रम देखाउने गरिएको छ ।

ठिनी होमस्टेमा एकै पटक १ सय पर्यटक अटाउने क्षमता छ । यहाँ बसेका पर्यटकलाई प्याकेजमा खान र बस्नको व्यवस्था गरिएको छ । बिहानदेखि बसेकालाई १ हजार २ सय र बेलुकी बसेकालाई ६ सय रुपैयाँमा प्याकेजमै खान र बस्नको व्यवस्था छ ।

होमस्टेमा आउने पर्यटकले फापरको ढिडो, खाना, च्यांग्रा, याक र लोकल कुखुराको मासुका साथै उवा, स्याउ र जौको मदिरा पिउन पाउँछन् । घरपझोङ गाउँपालिका ५ ठिनीमा सयभन्दा बढी घर छन् । अधिकतर स्थानीय किसान छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया