‘कसैका आदर्श राम, कसैका रामण’

समाधान संवाददाता २०८० वैशाख ७ गते १०:४५

पोखरा ।
व्यक्ति, परिवेश र चिन्तन अनुसार आदर्श, लक्ष्य र कार्ययोजना फरक हुन्छन् । पोखरामा हालै पुष्पलाल ज्ञानशालाले आयोजना गरेको कार्यशालाका सहभागीले उपयुक्त संस्कृति निर्माण र परिवर्तनका लागि आदर्श, लक्ष्य र कार्ययोजना पहिल्याउनुपर्नेमा जोड दिइयो ।

संस्कृति चिन्तक निनु चापागाईंले फरक खालका आवश्यकताले फरक खालका संस्कृति निर्माणका प्रयत्न हुने उल्लेख गरे ।

उनले भने, ‘फेरि पनि बलियोले कमजोरलाई दबाउँछ र निषेध गर्छ । कसैको आदर्श राम छन् तर कसैको आदर्श रावण पनि छन् । नायक र खलनायक पनि फरक हुन्छन् ।’

Advertisement

जीवनका आवश्यकता पूरा गर्न र समाज बदल्नका लागि संस्कृतिको ठूलो महत्व हुने उनले औंल्याए । ज्ञानमालाले पोखरामा आयोजना गरेको २ दिने सांस्कृतिक रुपान्तरण तथा नीति–निर्माणको प्रश्न विषयक कार्यशालामा उनले संस्कृति व्यापक विषय भएको र यसको निर्माण समाजबाहिर हुन नसक्ने जनाए ।

चापागाईले भने, ‘संस्कृति निर्माणमा मानव श्रमको महत्वपूर्ण भूमिका रहन्छ, लक्ष्यबद्ध सक्रियताले मात्र यो निर्माण हुन्छ, त्यही भएर पशुजगतबाट संस्कृति निर्माण सम्भव हुँदैन ।’

Advertisement

सांस्कृतिक क्रान्ति विचारधारात्मक क्रान्ति हो । यो क्रान्तिबिना समाजवाद लागू गर्न सकिँदैन ।
निनु चापागाईं

संस्कृति वर्गीय हुने र त्यो केबल आर्थिक स्वार्थले मात्र जोडिने नभएर विपरीत स्वार्थहरुले पनि जोडिएको हुने उनको भनाइ छ ।

संस्कृति मूर्त र अमूर्त दुबै हुने जनाउँदै उनले फरक खालका आवश्यकताले फरक खालका संस्कृति निर्माणका प्रयत्न हुने विचार राखे । ‘जीवनका आवश्यकता पूरा गर्न र समाज बदल्नका लागि संस्कृतिको ठूलो महत्व रहन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ संस्कृतिलाई केबल चाडबाड, नाचगान र रीतिरिवाजमा मात्र सीमित गर्ने समस्या छ ।’

चापागाईंले सांस्कृतिक क्रान्ति मूलतः विचारधारात्मक क्रान्ति भएको जनाउँदै यो क्रान्तिबिना पूर्ण समाजवाद लागू गर्न नसकिने दाबी गरे । उनी भन्छन्, ‘पुँजिवादी उपभोक्तावादी संस्कृतिको डरलाग्दो पक्ष व्यक्तिवाद हो । वामपन्थीहरुले जितेका कुनै पनि स्थानीय तहमा जनताको बीचमा लिएर जानका लागि नयाँ सांस्कृतिक नीति बनाएको देखिन्न ।’

कार्यक्रमका सहभागीहरुले सांस्कृतिक आन्दोलनको क्षेत्रमा दक्षिणपन्थी संशोधनवाद, अवसरवाद र उपाभोक्तावादी संस्कृतिको आक्रमण बढिरहेको औंल्याएका थिए । उनीहरुले यस्ता कार्यक्रमले संस्कृति र सांस्कृतिक आन्दोलनबारे सही धारणा निर्माण र आफूसँगै समाजलाई बदल्ने प्रक्रियामा महत्वपूर्ण योगदान पुग्ने विचार राखे ।

कार्यशालाको अन्तिम सत्रमा सहभागीबाट सुझाव लिँदै सांस्कृतिक रुपान्तरणका क्षेत्रमा सक्रिय आन्दोलनकर्मीकै बीचबाट सांस्कृतिक नीति निर्माण गर्ने गरी लेखक तथा अभियन्ता प्रमोद धितालको संयोजकत्वमा सांस्कृतिक नीति निर्माण कार्यदल गठन गरिएको छ । कार्यदलले सांस्कृतिक अभियन्ता, राजनीतिक कार्यकर्ता तथा समर्थकका लागि सही सांस्कृतिक नीति तथा आचारसंहिता निर्माणका गर्ने र त्यसलाई प्रकाशनसमेत गर्ने निर्णय भएको छ ।

कार्यदलले तयार गरेको सांस्कृतिक नीतिको मस्यौदालाई कार्यशालाका सहभागी र विषयसँग सरोकार राख्ने पंक्तिबीच बहसमा लगेर अन्तिम रुप दिने तय गरिएको छ । कार्यक्रममा पुष्पलाल ज्ञानशाला काठमाडौंका संयोजक ललितजन रावल, प्रतिरोधः जनअधिकार आन्दोलनका अभियन्ता प्रमोद धिताल, कवि कल्पना चिलुवाल, ज्ञानशाला काठमाडौंका सदस्य शैलज पौडेल, सुसेला संगीत समूहका अञ्जानबाबु, विष्णु अधिकारी, कपिल अधिकारी, रिता सुवेदी, सिर्जना ढकाल, विष्णु अधिकारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया