देउसतमा पुल, चुहारमा खानेपानी

समाधान संवाददाता २०८० वैशाख ७ गते १०:५२

नवलपुर ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहा थापामगरले नवलपुरको देवचुली नगरपालिका ६ कीर्तिपुरस्थित देउसत खेलामा निर्मित झोलुंगे पुल र चुहार गाउँमा निर्मित खानेपानी उद्घाटन गरेका छन् ।

गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा निर्मित कीर्तिपुर–चुहार गाउँ जोड्ने झोलुंगे पुलसँगै चुहारगाउँमा सहमति संस्थाद्वारा निर्मित स्वामिघाट खानेपानी मंगलबार मन्त्री गाहामगरले सुरुआत गरेका हुन् । उनले पुल र खानेपानीको व्यवस्थापछि चुहारबासीका केही समस्या हल भएको जनाए ।

मन्त्री गाहाले चुहार गाउँमा कम बस्ती भए पनि स्थानीयका समस्यालाई प्राथमिकतामा राखेर पुल निर्माण गरिएको सुनाए । उनले पुल निर्माण भएपछि वर्षा यामको समयमा चुहरबासी र विद्यार्थीले सास्ती भोग्न नपर्ने विश्वास व्यक्त गरे । ‘यो देउसत खोलामा पुल नहुँदा चुहारका विद्यार्थी भाईबहिनीले वर्षायाममा पढ्न नपाइने अवस्था थियो,’ मन्त्री गाहामगरले भन्, ‘त्यही समस्यालाई मध्यनजर गरेर पुल सम्पन्न भइसकेको छ । अब विद्यार्थीले सास्ती खेप्न नपर्ने विश्वास लिएको छु ।’

Advertisement

उनले सहमती संस्था र डब्लुडब्लुएफले निर्माण गरेको खानेपानीले अब चुहारबासीको दैनिकी बदलिने विश्वास व्यक्त गरे । मन्त्री गाहामगरले मगर समुदायको बस्ती रहेको सो गाउँमा सडक, खानेपानी तथा पुलको व्यवस्था भइसकेको र यही वर्षभित्र विद्युतको पहुँच पुग्ने दाबी गरे ।

देवचुली नगरपालिका ६ का वडाध्यक्ष मीनबहादुर सोतीमगरले प्रदेश सरकारमा रहेर पिच सडक, झोलुंगे पुलका लागि भूमिका खेलेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रीप्रति आभार प्रकट गरे । वडाध्यक्ष सोतीमगरका अनुसार सो पुल प्रदेश सरकारको करिब ६५ लाख बजेटमा निर्माण गरिएको हो भने स्वामिघाट खानेपानी योजनामा सहमति संस्थाले करिब १२ लाख र स्थानीयले ४ लाखसहित श्रमदान गरेका छन् ।

Advertisement

पुल तथा स्वामिघाट खानेपानी उद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी, सहमति संस्थाका इन्जिनियर तेजप्रसाद ओझा, सहमति संस्थाका कार्यक्रम संयोजक दिनेश बास्ताकोटी, देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, जिल्ला खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषाल लगायतले बोलेका थिए ।

स्वामीघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष मञ्जरी सिंजालीमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तिलक सोतीमगरले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया