भारतीय सहरमा पोखरा प्रवद्र्धन

समाधान संवाददाता २०८० वैशाख ७ गते ११:१६

पोखरा ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख सहरमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ पोखराबाट हिडेको पर्यटन व्यवसायीको टोलीले सोमबारदेखि पटनाबाट प्रवद्र्धनात्मक कार्यक्रम थालेको छ ।

कोभिड १९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भइरहेका बेला नेपालका लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिएको हो । यसका लागि २३ सदस्यीय टोली पटना आइपुगेको नाट्टा गण्डकी प्रदेश अध्यक्ष हरिराम अधिकारीले बताए ।

ʿपोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३ʾ नामक कार्यक्रममा पोखराका पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मी छन् । टोलीले पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारसँग पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिबिधि समेटिएको श्रव्यदृश्य र त्यसका बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामग्री वितरण गर्नेछ ।

Advertisement

पटना, बाराणासी, अयोध्या, गोरखपुर लगायतका सहरमा पोखरा प्रवद्र्धन गर्न २३ सदस्यीय टोली भारतमा

भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गर्ने योजना रहेको अध्यक्ष अधिकारीले सुनाए । कार्यक्रममा पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौषममा भ्रमण गर्न उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गरिने नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले सुनाइन् ।

Advertisement

पोखरा धार्मिक, साहसिक, सांस्कृतिक र मनोरञ्जनका लागि महत्वपूर्ण सहर हो भन्ने सन्देश प्रवाह गरिने उनले जनाइन् ।

‘कार्यक्रमकै क्रममा पोखरा नेपालको पर्यटकीय राजधानी भन्ने सन्देश दिनेछौं’, उनले भनिन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै अन्तर्राष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यवसायीलाई प्रोत्साहित गर्नेछौं ।’

विश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाइने क्षेत्रका रुपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिने कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दाहालले सुनाए । भारतबाट आउने पर्यटकलाई सिमा क्षेत्रमा हुने बाधा, व्यवधानका बारेमा जानकारी लिइने र सडक मार्गबाट सहज रुपमा भ्रमण गर्न सकिने सन्देश प्रवाह गर्ने उनको भनाइ छ ।

पोखरादेखि नेपालका भारतीय सीमावर्ती सहरहरूमा हवाई सेवा सुरुवात भएको जानकारीसँगै छोटो दूरीमा नै विश्वकै आठ हजार मिटर्भन्दा अग्ला हिम श्रृखलाहरू अवलोकन गर्न सकिनेसमेत जानकारी गराउने कार्यक्रमको लक्ष्य छ ।

कार्यक्रमले पोखरा, गण्डकी प्रदेश लगायत नेपालकै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएका कारण यहाँको पर्यटकीय विकासलाई महानगरपालिकाले प्राथमिकतामा राखेको पोखरा महानगरपालिका पर्यटन विकास समिति उपाध्यक्ष रवीन्द्रराज पौडेलले जनाए । पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई महानगरपालिकाले सक्दो सहयोग गर्ने उनको भनाइ छ ।

भारतका विशेषतः सीमावर्ती क्षेत्रबाट बर्सेनि ठूलो संख्यामा भारतीय पर्यटक पोखरा आउने गर्दछन् । गण्डकी प्रदेशमा रहेका पोखराको विन्ध्यवासिनी, तालबाराही, गुप्तेश्वर महादेव मन्दिरका साथै हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर, बागलुङको बागलुङ कालिका, म्याग्दीको गलेश्वरधाम भारतीय पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।

पछिल्लो समय पोखरा आसपासका मर्दी हिमाल पदयात्रादेखि अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रामा पनि भारतीय पर्यटकको आकर्षण बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेसँगै मुक्तिनाथ जाने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको छ । बीचको समयमा कोरोनाले पर्यटन प्रभावित भए पनि आगामी दिनमा भारतीय पर्यटकको आगमन पुनः बढ्ने बताइन्छ ।

भारतमा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधाम कालीगण्डकीबाट हालै ल्याइएका २ देवशिलाले पनि गण्डकी क्षेत्रप्रति भारतीयको श्रद्धा, भक्ति बढाएको छ । देवशिला ल्याउने क्रममा स्थानीयले बाटो बाटोमा श्रद्धाभक्तिपूर्व पूजाआजा गरेका थिए । देवशिला दर्शनका लागि भारतका विभिन्न स्थानबाट सर्वसाधारण अयोध्यामा पुगेका थिए ।

तपाईको प्रतिक्रिया