मुस्ताङमा वर्षा, कृषकलाई असिनाको डर

सुन्दरकुमार थकाली २०८० वैशाख ७ गते १६:३७

जोमसोम ।
जोमसोमः कुनै बेला कम पानी पर्ने जिल्लाको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय वर्षा हुन थालेको छ । बसन्तऋतुको आगमनसँगै यहाँको मौसममा अनुकुल हुनुपर्ने बेला निरन्तर पानी पर्न थालेको हो ।

जलवायु परिवर्तनका कारण हिमाली जिल्लाको तापमान बर्सेनि वृद्धि हुँदै जान थालेको छ । चालु वर्षको ९ महिना अवधिमा मुस्ताङमा पटक पटक वर्षा भएको छ । वर्षाले यहाँको ढुंगा र माटोले बनेका परम्परागत घरहरु उच्च जोखिममा पर्न थालेका छन् । यस्ता घरहरुको छतमा जस्ता र ढलान गरिएको हुँदैन । सख्खर माटो बिच्छ्याईएका यसप्रकारका घरहरु चुहिने र भत्किन थालेको मार्फाका स्थानीय दिपक लालचनले बताए ।

जलवायु परिवर्तनका कारण हिमाली जिल्ला मुस्ताङको वातावरण,पर्यावरणीय र जैविक विविधता समेत असर पर्न थालेको हो ।

Advertisement

यो वर्ष अनुकुल समयमा हिउँ पर्न सकेन। यद्यपी बेमौसमको बेला मुस्ताङमा आशिंक हिमपात भयो । जसका कारण यहाँको स्याउ लगायतका अन्नबालीहरुमा समेत दीर्घकालीन असर पर्ने देखिएको हो ।

हिउँ पर्ने समयमा हिउँ नपर्ने, भारी हिमपात हुँने, कुनै वर्ष आशिंक हिमपात हुने र हिउँ नपरी वर्षा हुँने क्रम बढेको लालचनले उल्लेख गरे । मुस्ताङको बैशाख महिना लागेसंगै हलुका वर्षा हुन थालेको हो । जिल्लाको मध्य मुस्ताङ र तल्लो मुस्ताङमा केहीदिन देखि आशिंक वर्षा हुन थालेको हो ।

Advertisement

मुस्ताङमा निरन्तर वर्षा हुन थालेपछि पर्यटन व्यवसायीलाई समेत आशिंक परेको बताईन्छ । वर्षा जारी रहेमा सडक समेत अवरुद्ध हुनसक्ने र पर्यटक कम आउने भएकाले पर्यटन व्यवसायीहरु चिन्तित छन् ।

यसैगरी निरन्तरको वर्षासंगै असिना पानी पर्नसक्ने अवस्था रहेकाले जिल्लाका स्थानीय किसानमा सशंकित छन् । यतिबेला स्याउ बोटमा पालुवासंगै फुल फक्रिदै गरेकाले वर्षासंगै आएको असिनाले स्याउ बोटमा क्षति पुग्नसक्ने थासाङ—२ सौरुका किसान सोजना हिराचनले उल्लेख गरे ।

‘स्याउ बोटमा फुल फुल्न थालेको छ, यस्तो बेला असिना परेमा फुल सबै झारिदिन्छ,”उनले भने,‘ यस्तो बेला भारी वर्षा र असिना पर्नु अभिसाप हुन्छ । ” मुस्ताङमा कागती, बदाम, ओखर र स्याउका रुखमा पालुवा पलाउने समय भएकाले असिनाले क्षति पुर्‍याउँछ ।

मुस्ताङमा परेको वर्षाले यहाँका विद्यालय र विद्यार्थीको शैक्षिक पठन—पाठनमा समेत आशिंक असर गरेको छ । विद्यालय जान र घर फर्किन विद्यार्थीलाई सास्ती पर्ने गरेको छ । यसैगरी वर्षाले विकास निर्माणका काम समेत बाधा पुर्‍याएको स्थानीय अजित थकालीले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया