विजयपुरमा पुल बन्यो, सडक बनेन

सडक निर्माणका लागि ५०/६० लाख रुपैयाँ लाग्ने अनुमान

भीमपाणि बराल २०८० वैशाख ८ गते १०:१५
पोखरा २६ र १४ जोड्ने विजयपुल खोलामाथि डहरेसाँघुमा निर्मित पुल । पश्चिमपट्टि सडक नबन्दा पुल प्रयोगमा आएको छैन ।

लेखनाथ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२३ को जनवरी १ तारिख अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दाका दिन पृथ्वी राजमार्गमा निकै ठूलो जाम भयो । उद्घाटन् सत्रमा भाग लिन पोखरेली ओइरिँदा राजमार्गमा सवारी साधन जाममा परे । लेखनाथबाट पोखरा जानेहरु विजयपुर पुलमै रोकिनुपर्‍यो ।

यो एक दिनको सम्झनामात्र हो । त्यस्तै प्रकृतिको सडक जाम पृथ्वी राजमार्गको विजयपुर खण्डमा दैनिकजसो हुन्छ । पुरानो पोखरा प्रवेशको एकमात्रै घाँटी विजयपुर पुल हुँदा असंख्य गाडीको जाम भइरहन्छ । त्यस्तो जाम घटाउन र वैकल्पिक व्यवस्था गर्ने भनेरै विजयपुर खोलामाथि अर्काे पुल पनि बनेको भने छ ।

अहिलेको पुलभन्दा १ किलोमिटर दक्षिण देउराली भन्ने ठाउँमा अर्काे पुल तयार छ । डहरेसाँघु भनिने ठाउँमा प्रदेश सरकारले पक्की पुल बनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ र १४ जोड्ने गरी विजयपुर खोलामाथि गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको करिब १ करोड ८७ लाखको लागतमा पुल निर्माण गरेको हो ।

Advertisement

विजयपुल खोलामाथि वैकल्पिक पुल तयार छ, तर पश्चिमपट्टिको भागमा सडक नबन्दा पुल उपयोगमा आउनै सकेन

लेखनाथतिरबाट पोखरा जाँदा बुढीबजारदेखि भित्र पसेपछि उक्त पुल आउँछ । बुढीबजारतिरबाट पुलसम्म पक्की कालोपत्रे सडक पनि छ । तर पुललगत्तै भने सडक भन्नु भीर छ । उकालो पैदल बाटोलाई बेलाबखत डोजर लगाएर मोटरसाइकल जसोतसो उकाल्न सकिने बनाइएको छ तर अरु गाडी भने गुड्न सक्दैनन् ।

Advertisement

२०७७ चैतमा तत्कालीन मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले तामझामका साथ शिलन्यास गरेको पुल एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखे पनि बारम्बारमा आएका विभिन्न बाधा व्यवधानका कारण ढिलो गरी निर्माण भएको थियो । तर पुल प्रयोगमा आउन नपाउँदै जीर्ण हुने त होइन भन्ने चिन्ता छाएको स्थानीय रङनाथ तिमिल्सेना बताउँछन् । सरकारी निकायबाट चासो नदेखाउँदा निर्माण भइसकेको पुल हस्तान्तरण गर्न नपाएको निर्माण कम्पनीका इन्जिनियर दीपेन्द्र गिरीले जानकारी दिए ।

गिरीका अनुसार पुलको अन्तिम मापन गर्ने भौतिक तथा पूर्वाधार मन्त्रालयले लोड टेष्टको अनुमति दिएको छैन । ‘मन्त्रालयबाट वैशाख महिनाभित्र लोड टेस्ट गराई दायाँबायाँ बाँकी काम सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी छ,’ उनले भने ।

विजयपुर खोलामाथि बनेको २५ मिटर लम्बाई र आठ मिटर चौडाइको पक्की पुलको प्रयोग जति सक्यो उति चाँडै ल्याउन पहल गरिरहेको पोखरा वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीले बताए ।

प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताका कारण दायाँबायाँको बाटो निर्माणका लागि बजेट विनियोजनमा अप्ठेरो परेको उनले सुनाए । सडक निर्माणका लागि ५०/६० लाख रुपैयाँ आवश्यक देखिएको उनको भनाइ छ । ‘सडक निर्माण गरी पुल सञ्चालनमा ल्याउन हाम्रो वडाले पनि पहल गरिरहेको छ,’ उनले भने ।

पोखरा वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले पुल बनेर पनि प्रयोगमा नआउनु भनेको राज्य जनताप्रति उत्तरदायी नभएको देखिएको बताए । चाँडो प्रदेश वा महानगरपालिकाबाट भए पनि बजेट विनियोजन गरेर दायाँबायाँको बाटोलाई लेभलिङ गरी प्रयोगमा ल्याउनुपर्ने खाँचो उनले औंल्याए । ‘हामी पनि हाम्रो वडाका तर्फबाट पहल गरिरहेका छौं,’ उनले भने, ‘सडक निर्माण पूरा गर्न प्रतिबद्धता ।’

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया